वास्तविक मजदूरको पहिचान नै भएन : गोपाल यादव

महासचिव, राष्ट्रिय श्रमिक संघ, नेपाल

अन्तर्वार्ता

    २०७६ साल पुस २५ गते शुक्रबार   

० तपाइहरूको राष्ट्रिय श्रमिक संघ कस्तो खालको संगठन हो ?

—मजदुरहरूको हकअधिकार दिलाउने उद्देश्यले अथवा राजनीतिक पार्टी, ट्रेड युनियनको विङस्को रूपमा जनसंगठन खडा गर्ने दुइ प्रकारको मजदुर संगठन छन् । राष्ट्रिय श्रमिक संघलाई वास्तविक ट्रेड युनियनको रूपमा लिन सकिन्छ र यो हाम्रो तेस्रो संगठन हो । मजदरको रोजी रोटीको साथसाथ उनीहरूको हकअधिकार, उनीहरूमा राष्ट्रियताको भाव जगाउनु नै हाम्रो उद्देश्य हो । अरू ट्रेड युनियनका साथीहरूले एउटा समुहको मात्र कुरा गर्छन् । मेरो सोच चाँहि देशको सबै व्यक्तिलाई पनि गाँस, वाँस र कपासको साथसाथै संस्कारी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा पाउनुपर्छ । एउटा सामान्य रिक्सा चालकले पनि पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।

० जसरी विभिन्न पार्टीका संगठनहरू छन् खासगरी ट्रेड युनियनहरू छन् तपाइँहरू पनि कुनै पार्टीबाट अबद्ध हुनुहुन्छ की ?

— शुद्धरूपले दलगत राजनीतिभन्दा माथि उठेर राष्ट्रको लागि काम गर्ने संगठन हो । कुनै पार्टीको लागि काम गर्ने उद्देश्य हाम्रो पक्कै पनि छैन र अहिलेसम्म छैन र भोलीका दिनमा हुनेवाला पनि छैन । हामी दलगत राजनीति भन्दा माथि उठेर राष्ट्रको लागि काम गर्ने उद्देश्य लिएर राष्ट्रिय श्रमिक संघको स्थापना गरेका हौं ।

० यो संगठनको मूल उद्देश्य के हो?

— नेपालमा ७० प्रतिशत जनसंख्या मजदुर क्षेत्रमा पर्छन् । यो जनसंख्या सामान्य किसानदेखि लिएर माथिल्लो स्तरका श्रमिकको आँकडा हेर्ने हो भने प्रतिशतको रूपमा ६५ देखि ७० प्रतिशत सम्म हुनजान्छ । ट्रेड युनियनका साथीहरूले भोट बैंक बनाएर जसरी एउटा मान्छेले दुईवटा काम गर्न सक्दैन त्यसैले हामीले शुद्धरूपमा कुनै पार्टीको झन्डा नलिएर एउटा संगठनको लागि राष्ट्रिय मजदुर संघहरूले मजदुरहरूको लागि बनाएको मजदुर संगठन हो ।
हाम्रो राष्ट्रिय श्रमिक संघमा सबै पार्टीहरूको साथीहरू हुनुहुन्छ तर संगठनको काममा, संगठनको गतिविधिमा राजनीतिक कुराकानी हुँदैन । संगठनको कुराकानी मात्रै हुन्छ ।

० भनेपछि पूर्णरूपमा चाहे त्यो निजामती कर्मचारी होस् वा स्वरोजगार गर्ने रिक्सा चालकहरूको लागि पनि यो संगठन हो ?

— सबै मजदुरको लागि यो मजदुर संगठन हो ।

० सर्लाहीका उखु किसानहरू लामो समयसम्म माइतिघर मण्डलामा धर्ना दिएर, विरोध प्रदशन गरे । त्यसमा तपाइँहरूको उपस्थिति देखिएन ।

— त्यस कार्यक्रममा हाम्रा साथीहरू पनि थिए । विराटनगर, राजविराज, नवलपरासी, जनकपुर जहाँजहाँ हाम्रो संगठन छ त्यहाँको जिल्लाहरूमा साथीहरूलाई भनेर सिडिओ कार्यालयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन दिनेदेखि लिएर हामी यस आन्दोलनमा सहभागी भएका छौं र आफ्ना कार्यकर्ताहरूलाई सबै ठाउँका जिल्लामा भनेर हामीले ऐक्यवद्धता जनाउने काम ग¥यौं । यो आन्दोलनमा हाम्रो पूर्णरूपमो सर्मथन थियो र आगामी दिनमा हुने पनि रहने छ ।

० तराई मधेशका ठाउँमा जहाँ उखु खेती गरिन्छ त्यहाँका मिल मालिकहरूले बक्यौता बाँकी राखेका हुन्छन् । नवलपरासी, कपिलवस्तुमा यस्ता धेरै समस्याहरू छन् । यी समस्याहरूलाई समाधान गर्न कस्तो पहल छ ?

— उखु किसान संघ समितिले आन्दोलन यहाँसम्म पु¥यायो र अहिले सरकारले वार्ता गरेर माघको ७ गतेसम्म भुक्तानी गर्ने सम्झौता गरेको छ । त्यो सम्झौताको हिसावले हामी हेर्दैछौं कि उद्योगपतीहरूले भुक्तानी गर्छन् कि गर्दैनन् । यदि गरेनन् भने आगामी रणनीतिहरू बसेर बनाउँछौं ।

० अहिले जल्दोबल्दो मुद्दा उखु किसानको भखर्रै सरकारले सहमति गरेको छ । पाँच बुंँदे यो सहमति सरकारले पुरा गर्छ भन्ने विश्वस्त हुनुहुन्छ ?

— सरकारले पुरा गर्छ भन्ने विश्वास छ र यदि गरेन भने हाम्रो बाटो खुल्ला छ । हामी आफ्नो कार्यक्रम जारी राख्छौं ।

० नेपालमा श्रमिकहरूको अवस्था कस्तो देख्नुहुन्छ ? किनभने नेपालले युवा शक्तिहरूलाई विदेश मात्र पठाउँछ र यहाँ रोजगारीको सम्भावना देखिएको छैन ?

— प्रतिदिन युवा शक्तिहरू खाडी मुलुकमा पलायन भइरहेका छन् र अहिलेको परिस्थितिमा बाहिरबाट आएको पैसाबाट यो देशको आर्थिक व्यवस्था चलिरहेको छ । युवा शक्ति जसले राष्ट्रको भार बोकेको हुन्छ, जसको काँधमा राष्ट्रको विकासको एउटा जिम्मेवारी हुन्छ उ नै बाहिर विदेशमा छ भने राष्ट्रको बारेमा कसले सोच्ने, विकासको बारेमा कसले सोच्ने ? व्यक्तिहरू नै यहाँ हुदैनन् भने राष्ट्रको विकास हुन असम्भव छ । राष्ट्रिय श्रमिक संघको भिजन जम्मा तीनवटा धारणा छ –१. देशमा औद्योगिकीरण २. उद्योगको श्रमीकीकरण र ३. श्रमिकको राष्ट्रियकरण । देशमा बढीभन्दा बढी उद्योगहरू हुनुपर्छ र त्यो उद्योगमा जसरी उद्योगपतीको लगानी लाग्छ र श्रमिकहरूको पसीना । यो दुवैको भाग्यदारीले राम्रोसँग उद्योग सञ्चालन हुन्छ र जुन देशमा राम्रोसँग उद्योग सञ्चालन हुन्छ भने त्यो देशको विकास हुन्छ । अर्थात श्रमिकहरू देशमा औद्योगिकीरण, उद्योगमा श्रमीकीकरण र श्रमिकहरूको राष्ट्रियकरण अर्थात् श्रमिकहरूको मनमा उसको देश, राष्ट्रियता, परम्परा, इतिहासप्रति पनि स्वाभिमान हुनुपर्छ कि म यो देशको लागि काम गरिरहेको छु । यो देशको पुनर्निर्माणमा मेरो पनि योगदान छ  । यो भाव मजदुरहरूमा हुनुपर्छ । यही हो मजदुरहरूको राष्ट्रियकरण । यही काम हामी गरिरहेका छौं ।

० श्रमिक संगठनले श्रमिकहरूको परिभाषा कसरी गर्छ ?

— सामान्यरूपमा हेर्ने हो भने जसले काम गर्छ र देशको उत्पादनको लागि जे आवश्यकता छ त्यसको उत्पादकतामा त्यसको भूमिका छ र उसले केही न केही आफ्नो परिवार, जिविका चलाउनको लागि त्यसबापत उसले केही अर्थ लिन्छ त्यो श्रमिक हो । कसैको सरूवा, बढुवा, नियुक्ति, पदोन्नती जसको अधिकार हुदैन यी बाहेक सबै श्रमिक हुन् ।


० नेपालमा श्रमिकहरूले आफ्नो श्रमको वास्तविक प्रतिफल पाउने गरेका छन् त ?

— काठमाडौंमा बस्ने श्रमिकलाई परिभाषित गर्ने हो भने आमा, बुवा, लोग्ने, स्वास्नी र दुईवटा बच्चा गरेर जम्मा ६ जना हुन्छन् र छ जनालाई सरकारले १३४८५ रूपैयाँ न्युनतम बेतन तय गरेको छ । काठमाडौंमा बस्ने मजदुरले रू दस हजार घर भाडा नै तिर्नु पर्छ । सरकारले भन्छ कि यो मजदुरहरूको पार्टी हो र मजदुरहरूको पार्टीको सरकारले मजदुरहरूको हितमा केहि गरेकै छैन । सामाजिक सुरक्षादेखि लिएर तमामप्रकारका मजदुरहरूको समस्याहरू छन् । यो कृषिप्रधान देश हो भन्ने तर किसानको लागि सरकारले खाद्य, बिउ, प्रािवधिक औजारको सुविधा दिदैन । अझ सिचाइँको पनि सुविधा छैन ।
हाम्रो उद्देश्य चार÷पाँचवटा विषयमा छ । त्यो हो सामाजिक सुरक्षा लागू हुनुपर्छ, पर्यावरणमैत्री हुनुपर्छ, पर्यावरण ठिक हुनुपर्छ र जति पनि मजदुरहरूको सामाजिक सुरक्षादेखि लिएर पर्यावरणदेखि लिएर आर्थिक विसमताको फरक छ । यो समस्यालाई समाधान गर्नका लागि देशमा जति पनि श्रमिकहरू एक सामाजिक आन्दोलनको रूपमा ल्याउनुपर्छ श्रमिक आन्दोलनलाई ।

० तपाइँको राष्ट्रिय श्रमिक संघ गठन भएको ७ वर्ष पुरा भइसक्यो र यस अवधिभरी श्रमिकहरूको हकमा के—कस्ता कामहरू गर्नुभयो ?

— हामीले वृद्धाभत्ताको विषयमा काम थालेका छौं । हाम्रो देशको सरकारले आफ्नै देशका जनतालाई दुई प्रकारको आँखाले हेरिरहेको छ । मैले यसको विरोध गरेको होइन तर जसरी दलित र जनजातीहरू ६० वर्षमा पाउँछन् भने गैरदलित गैर जनजाति ७० वर्षमा पाउँछन् । यसरी आफ्नै देशको नागरिकसँग विभेद भएको देखिन्छ र गैरदलित र गैरजनजाति पनि ६० वर्षका हुन्छन् उनीहरूले पनि पाउनु पर्छ । त्यसैले सरकारले कसैलाई भेदभाव नगरेर सबैलाई समान रूपमा एकरूपताको हिसावले हेर्नुपर्छ । यो विषयमा हाम्रो शक्ति, क्षमता अनुसार हामीले सरकारमा ज्ञापन दिएका छौं ।


० खासगरी श्रमिकका समस्याहरू के—के देख्नुहुन्छ अहिलेसम्म ?

— श्रमिक समस्या भनेकै आर्थिक विसमता, सामाजिक सुरक्षा, बेरोजगारी हुन् । हाम्रो देशमा किसानको पहिचान, श्रमिकको पहिचान नै छैन र मुख्य समस्या भनेकै श्रमिकले न्यूनतम बेतन पाउनुपर्ने हो, सामाजिक सुरक्षा पाउनुपर्ने हो ।

० निजामती कर्मचारी र पहिचान नभएका श्रमिकहरू जो आफ्नो जनजीवन चलाइरहेका छन् उनीहरूके लागि सरकारले के गर्नुपर्ने हो ?

— कमसेकम सरकारले यो देशको नागरिक हो र यो देशको नागरिक देशभक्त भयो भन्ने बुझनुपर्छ र जनतालाई यहि आफ्नो देशमा काम दियोस् । ३६५ दिन काम दिन नसक्ने, १०० दिन काम दियोस् र युवा शक्तिलाई विदेश होइन आफ्नै देशमा रोजगारको वातावरण बनाइदियोस् ।

० यो विषयवस्तुमा सरकारको ध्यानाकर्षण गराउने र सरकारलाई दबाब दिने कार्यक्रमहरू छ कि छैन ?

— माघको पहिलो हप्तामा राष्ट्रिय कार्य समितिको बैठक हुँदैछ । हामी त्यही बैठकमा आगामी योजनाहरू बनाउछौं र केही विषयहरू विचार गरेका छौं । हाम्रो शक्ति, क्षमता अनुसार सरकारमा आफ्नो कुरा राख्छौं ।

० श्रमिकहरूको लागि के भन्न चाहनुहुन्छ ?

— खास गरेर बेतन भन्दा वतन ठूलो हुन्छ । मान्छे जन्मे पछि एकदिन मर्नु नै पर्छ तर उसले आफ्नो रोजीरोटीमा मात्र सिमित भएर बस्नुहुदैन । आफू जुन देशमा जन्मेको छ त्यो राष्ट्रको संस्कृति, परम्परा अर्थात् राष्ट्रको लागि काम गर्ने भाव हुनुपर्दछ । हामीसँग जुडेका श्रमिकहरूलाई हामी त्यो भाव दिन्छौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया