राजपा र नेकपाबीचको सहकार्य समयानुकूल : शेखर कुमार सिंह

वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्यका उम्मेदवार, राष्ट्रिय जनता पार्टी नेपाल

अन्तर्वार्ता

    २०७६ साल पुस २५ गते शुक्रबार   

० राष्ट्रियसभा सदस्यका लागि तपाइँलाई राजपाले सिफारिस गरेको छ, तपाइँको भिजन के छ ?

— राष्ट्रिय जनता पार्टी नेपालको हामी एउटा सिपाही हौं । पार्टीको मूल्य र मान्यता मानेर हिंडेको व्यक्ति म भएकोले उच्चतम् मूल्यांकन गरेर राष्ट्रियसभा सदस्यको सम्मानित ठाउँमा पठाउनका लागि पार्टीबाट सिफारिस भएर निर्वाचनमा भाग लिँदैछु । पार्टीले कुन अवधारणाअनुसार हामीलाई खटाउँछ, त्यसैअनुरूप म खट्छु । जनताको सेवा गर्न उच्चतम् मनोबल राखेर अगाडि बढ्छु ।

० तपाइँ राष्ट्रियसभामा निर्वाचित भइसकेपछि के–के मुद्दालाई प्राथमिकताका साथ उठाउनुहुन्छ ?

— राष्ट्रियसभामा हामीले उठाउने मुद्दाहरू पार्टीले तय गर्छ । पार्टीले तय गरिसकेपछि मात्रै हामीले त्यो मुद्दालाई उठाएर अगाडि बढ्ने हो । आफ्नो बुद्धि–विवेकले पार्टीले दिएको निर्देशनलाई पालना गर्दै त्यो मुद्दालाई सहजताका साथ पास गराउने प्रयास गर्छौं ।

० नेकपासँग चुनावी गठबन्धन गरेपछि राजपाको जीत सुनिश्चित जस्तै देखिन्छ । तपाइँको कतिको ढुक्क हुनुहुन्छ ?

— पार्टीले संयुक्तरूपमा हामीलाई उम्मेदवार बनाएको छ । प्रदेश २ मा दुवै पार्टीको बहुमत त छर्लङ्गै छ । त्यसैले हामी निश्चिन्त छौं । पार्टीको नीति निर्देशन मान्ने सबै हुनुहुन्छ र उहाँहरूले निश्चितरूपमा हामीलाई विजयी बनाउनुहुन्छ ।


० भनेपछि, अब औपचारिकता मात्रै बाँकी छ ?

— निर्वाचन त निर्वाचन हो, यसमा दुईमतको कुरा छैन तर हामी दुवै पार्टीका उम्मेदवार तय भइसकेकोले परिणाम त सबैको अगाडि नै छ ।

० अन्तर्घात हुने अवस्था छैन ?

— बिल्कुलै अन्तर्घात हुने अवस्था छैन ।

० विगतमा आन्दोलनका बेला तपाइँहरूले एमालेमुक्त मधेशको नारा दिनुभएको थियो, अहिले साँठगाँठ गर्नुभएको छ । विगतको तिक्तताले अन्तर्घात हुने सम्भावना छैन ?

— प्रतिनिधिसभा निर्वाचनपछि मित्र शक्ति (नेकपा) ठूलो आकारमा आयो । देशको राष्ट्रिय पार्टीको रूपमा हामी पनि तेस्रो स्थानमा आयौं । कुनै खास विषयमा तिक्तता बढ्दा त्यतिखेर त्यस्तो परिस्थिति सिर्जना भएको थियो । तर, अहिले ती सबै तिक्तताका विषयहरू गौण भएको छ । हामी समग्ररूपमा राष्ट्रिय हितको सर्वोत्तम स्थानमा राखेर अगाडि बढ्छौं । अब त्यस्ता तिक्तताहरू हामीबीच छैन ।


० भनेपछि अहिले राजपा र नेकपाबीच कुनै तिक्तता छैन ?

— अहिले राजपा र नेकपाबीच सौहार्दपूर्ण वातावरण छ । मित्रताको अवस्था छ, कुनै पनि किसिमको तिक्तता छैन ।

० त्यसो हो भने, तपाइँहरूका मागप्रति नेकपा नेतृत्वको गम्भीरता किन देखिदैन ?

— त्यसै प्रक्रियाअन्तर्गत हाम्रा राष्ट्रिय अध्यक्षज्यूहरू बुद्धिमतापूर्वक अन्यौलता चिर्नका लागि राष्ट्रियसभामा सम्झौता गर्नु भएको हो । सहकार्य गरेर त्यसैका लागि हामी अगाडि बढ्दैछौं । हाम्रा ध्यक्षहरूले निश्चितरूपमा आफ्ना मागहरू पूरा गराउनुहुन्छ ।

० तपाइँहरूको आन्दोलनका सहयात्री दल समाजवादी पार्टी, नेकपाको सरकारबाट निराश भएर बाहिरियो, तपाइँहरूलाई कसरी विश्वास लाग्यो त ?

— हाम्रा आन्दोलनका सहयात्री मित्र समाजवादी सरकारमा किन गयो र किन बाहिरियो, के कति मुद्दाहरू उठाए, यो उनीहरूको पाटो हो । हामी काम र कर्ममा विश्वास गर्ने भएकाले परिपक्व र किसिमले अगाडि बढेका छौं । हामी विश्वस्त छौं, यसको प्रतिफल तपाइँहरू छिटोभन्दा छिटो हेर्नुहुन्छ ।

० नेकपासँग दुईबुँदे सहमतिसँगै अब राजपा संघीय सरकारमा जान लागेको चर्चा चलिरहेको छ, के छ वास्तविकता ?

— यस्ता धेरै भ्रमात्मक प्रचारहरू भएका छन् । राजपा सरकारमा जान चाहेको भए जुन बेला हामीले बाहिरबाट यो सरकारलाई समर्थन दिएका थियौं, त्यहीं बेला जान सक्थ्यौं । राजपालाई सरकारमा आउन समाजवादीभन्दा पहिला राजपालाई नै प्रस्ताव आएको थियो । त्यसैले, यस्ता भ्रमात्मक प्रचारबाजी मात्रै हो । राजपाले नेकपासँग सहकार्य गर्ने बित्तिकै ठूलो अन्याय भयो भन्ने जस्तो हामीलाई महसुस भएको छैन । राजनीतिमा कोही कसैको स्थायी दुश्मन र मित्र हुँदैन । कोही सरकारमा बाहिरियो भने हामी सरकारमा जान लागेका छौं भन्ने होइन । हाम्रा अध्यक्षमण्डलले के निर्णय गर्नुहुन्छ, त्यसमा निर्भर छ ।

० राष्ट्रियसभाको निर्वाचनपछि राजपा सरकारमा जाने कतिको सम्भावना छ ?

— हामी राजपाको एउटा सिपाही मात्रै हौं, यसका निर्णायक तहमा अध्यक्षमण्डल नै हुनुहुन्छ । त्यसैले, अध्यक्षमण्डले के निर्णय गर्छ, त्यसबारे हामीले अहिले नै केही भन्न मिल्दैन । अध्यक्षमण्डले हामीलाई संयुक्त गठबन्धनमार्फत् राष्ट्रियसभाको चुनाव लड्न पठाएको छ । भोलीका दिनका निर्णयहरू उहाँहरूले नै लिनुहुन्छ । उहाँहरूले जे निर्णय गर्नुहुन्छ, त्यसलाई शिरोधार्य गरेर जान्छौं ।

० भनेपछि, अध्यक्षमण्डले जेसुकै निर्णय गरेपनि तपाइँहरूलाई स्वीकार हुन्छ ?

— नैतिकताको रूपमा हाम्रो अध्यक्षमण्डलबाट कहिल्यै पनि गल्ती भएको छैन । भोली पनि हुँदैन । उहाँहरूको निर्णयलाई हामीले शिरोधार्य गरेर नै हिंड्छौं । विविधतामा एकता भएको हाम्रो पार्टी हो ।

० चुनावका बेला तत्कालीन एमालेको विरूद्धमा प्रचार गरेर जनताको सेन्टिमेन्ट लिएर आउनुहुन्छ, तर ती सेन्टिमेन्टलाई उनीहरूकै लागि प्रयोग गर्नुहुन्छ भन्ने आरोप छ नि ?

— आरोप लगाउनेहरूको मुख बन्द गर्न सक्दैनौं तर आधारहीन आरोप नलगाओस् । हामीमाथि लगाइने आरोपहरूमा कुनै आधार छैन । परिस्थितिले राजनीतिक नारा सिर्जना गर्छ । यदि हामीले नेकपाको विरोध गरेको भए हामीले कसरी समर्थन गथ्र्यौं ।

० तर, निर्वाचनका बेला त्यस्ता नाराहरू लगाइएको थिएन ?

— रिसराग भएपछि कोही कसैको पछाडि फुलको माला लिएर जाँदैन । त्यो क्षणिक भएको होला कतै । यदि त्यस्तै नाराको पछाडि हामी हिंड्थ्यौं भने यो सरकारलाई किन समर्थन गथ्र्यौं । पछि केही तिक्तता भएपछि समर्थन फिर्ता लिने अवस्था बन्यो । तर, त्यसैलाई सच्याएर अहिले सहकार्य गर्न आएका छौं ।

० दलहरूले आफ्नो राजनीतिक फाइदाका लागि जोसँग पनि जस्तोसुकै सम्झौता गर्ने परिपाटीको विकास भएको होइन ?

— हामीले आफ्नो राजनीतिक फाइदाका मात्रै कोही कसैसँग सम्झौता गरेका छैनौं । समयको मागअनुसार हामी हिंडिरहेका छौं । हामीले जनताको हकअधिकार र राष्ट्रहितकै लागि सहमति गरेका छौं । हामी आफ्ना माग पूरा गराउनका लागि सहमति गरेका छौं । हाम्रा मागप्रति नेकपा सकारात्मक छ र पूरा गर्ने आश्वासन पनि दिएको छ । आगामी दिनमा राष्ट्रहितका लागि समसामयिक विषयवस्तुमा सहकार्य गर्नका लागि पनि सहमति भएको छ ।

० भन्नका लागि तपाइँहरूको मुद्दा मिल्ने शक्ति दल समाजवादी हो तर, सहकार्य भइरहेको हुँदैन । किन ?

— यदि हामीले मधेश कित्ताको राजनीतिक गरिरहेका छौं भने मधेशको माग र मुद्दालाई शिरोधार्य गरेर हिंड्नैपर्छ । समाजवादीसँग एकताका विषय धेरै प्रचारबाजी भयो । हिजो पनि हामी एकै ठाउँमा थियौं र आज पनि छौं । यदि एकता भइहाल्यो भने त्यो नौलो कुरा हुँदैन । तर, एकता गर्ने कि नगर्ने कुरा हाम्रो निर्णय नेताहरूको हातमा छ ।

० समाजवादी पार्टी सरकारमा हुँदा एकता हुन सक्दैन भन्ने कुराहरू आइरहेको थियो । अहिले समाजवादी सरकारबाट बाहिरिसकेको अवस्था छ, एकताका बाधक के छ ?

— समाजवादीसँग एकताका लागि वार्ता गर्न हाम्रो पार्टीका वर्तमान संयोजक राजेन्द्र महतोको संयोजकत्वमा टोली गठन भएको छ, उहाँले कुराकानी गरिरहनुभएको छ । अब एकताका बाधक के हो त्यसबारे उहाँलाई नै थाहा होला । यस विषयमा राजपाले गम्भीरतापूर्वक केही न केही त अवश्य नै सोचेको होला ।

० एकता हुन्छ कि हुँदैन ?

— यो कुरो मैले कसरी भन्न सक्छु । म राजपाको वरिष्ठ उपाध्यक्ष हुँदा पनि निर्णायक शक्ति होइन । यो हाम्रो खासियत हो कि हामी आफ्ना नेतालाई अभरटेक गर्दैनौं । हाम्रो पार्टीमा सर्वोपरि हो अध्यक्षमण्डल । हामी तबसम्म केही अभिव्यक्ति दिँदैनौं जबसम्म अध्यक्षमण्डलबाट कुनै निर्देशन आउँदैन । अध्यक्षमण्डलको निर्णयबिना कुनै अभिव्यक्ति दिनु राम्रो होइन । कोही साथी बोल्नुहुन्छ होला, तर म बोल्दिँन ।

० नेकपासँगको चुनावी सहकार्यले प्रदेश २ को सत्ता समीकरण परिवर्तन हुने चर्चा भइरहेको छ नि ?

— हामीबीच त्यस्तो कुनै किसिमको छलफल भएको छैन, कहाँबाट यस्तो चर्चा आयो, हामीलाई थाहा छैन । प्रदेश २ मा वर्तमान सत्ता समीकरण परिवर्तन हुने कुनै सम्भावना छैन ।

० राजपाको महाधिवेशन गर्ने कुरा सेलाएको हो ?

— सेलाएको छैन । अहिले हामी तयारीमा लागेका छौं । हामी यो देशको तेस्रो ठूलो पार्टी हौं । रातारात महाधिवेशन हुने अवस्था छैन ।

तपाईको प्रतिक्रिया