एनआईसी एसियाको साढे चार अर्ब लगानी

अर्थ/वाणिज्य

       

नेपालगञ्ज, २९ पुस । ‘बैङ्क पनि साथी पनि राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ सेवा प्रदान गर्दै आएको एनआईसी एसिया बैङ्कले बाँके र बर्दिया जिल्लामा १० वटा शाखामार्फत चार अर्ब ५० करोड ऋण प्रवाह गरेको छ ।

बैङ्कको बाँके र बर्दिया हेर्ने नेपालगञ्ज स्थिर उप–प्रादेशिक कार्यालयका अनुसार दुवै जिल्लाका १० वटा शाखामार्फत एक हजार ४६५ जना ऋणीलाई विभिन्न क्षेत्रमा चार अर्ब ५० करोड लगानी गरिएको छ ।

बैङ्कले सबैभन्दा बढी पर्यटन, उत्पादनमूलक उद्योग, कृषि, पशुपालन र घर कर्जा तथा गाडी कर्जामा ऋण लगानी गरेको एनआईसी एसिया बैङ्क उपप्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख माधव बेल्बासेले बताए ।

सो लगानी बैङ्कको नेपालगञ्जमा रहेको धम्बोझी र त्रिभुवन चोक शाखा, बाँकेको कोलहपुर नगरपालिका र डुडुवा, जानकी, खजुरा तथा बैजनाथ गाउँपालिकामा रहेका शाखाहरु र बर्दियाको बासगढी, भुरीगाउँ र मगरागढीमा रहेका शाखामार्फत गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया