शहीदका आँसुको मोल (सम्पादकीय)

सम्पादकीय

    २०७६ माघ ३ शुक्रबार   


मधेश जनविद्रोह चर्किएको माघ ५ गते १३ वर्ष पुरा हुँदैछ । यस दिनलाई मधेशमा बलिदानी दिवसको रूपमा मनाइने गरिन्छ ।

२०६३ माघ ५ गतेका दिन सिरहा जिल्लाको लहानमा रमेश महतोले मधेशको लागि दिएको शहादतबाट मधेश आन्दोलनले उत्कर्ष उर्जा प्राप्त गरेको थियो । तसर्थ यो दिन नेपालको इतिहासमा खास गरेर मधेशी जनताको मानसपटलमा बलिदानी दिवसको रूपमा सदा सर्वदाका लागि दर्ज भएको छ । यसै दिन मधेशीको पहिचान, स्वाभिमान र आत्मसम्मानका लागि आन्दोलनको सूत्रपात भएको दिनको रूपमा सम्झिने गरिन्छ ।

माघ ५ गतेको घटनाले सिर्जना गरेको मधेश आन्दोलनको उत्कर्ष ऊर्जाले नै नेपाललाई संघीय मुलुकमा रूपान्तरण गरेको बुझाइले समेत यो दिनलाई मधेशी शक्तिले विशेष रूपमा बलिदानी दिवस मनाउने गर्दैै आइरहेका छन् । वितेको १२ बर्षमा मधेश र देशले माघ ५ को जगमा धेरै उपलब्धि पाएको छ । यसले नेपालको राजनीतिमा नवीन युगको सुत्रपात पनि गरेको छ जसमा उत्पीडित र सीमान्तकृत समुदायको प्रतिरोधको राजनीतिले नयाँ उचाई र नयाँ आत्मविश्वास प्राप्त गरेको छ । मधेशी पहिचान राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको छ ।

यो बलिदानी दिवस उनीहरूको सहादतको प्रतिको उच्च सम्मान र श्रद्धाञ्जली हो । तर धेरै कुरा अझ पनि पाउन बाँकी छ । तसर्थ बलिदानी दिवस शहीदहरूको बाँकी सपना पूरा गर्नेे संकल्प पनि हो । यो आन्दोलन मधेश र मधेशी जनताले सम्पूर्ण अधिकार प्राप्त नहुन्जेल जारी रहनुपर्छ ।

मधेश आन्दोलन र मधेशको अधिकारका लागि लडेर शहीद भएकाको सम्झनामा हरेक वर्ष मधेश बलिदानी दिवस मनाउने गरिए पनि अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न मधेशी राजनीतिक दल आ–आफ्नो स्वार्थको राजनीति गर्दै सत्तामा प्रवेश गरेपछि पछिल्लो समय मधेश आन्दोलनलाई दलहरूले बिर्सदै गएको समेत आरोप लाग्दै आएको छ ।

संविधान संशोधन गरेर मधेशको माग सम्बोधन गर्ने बहानामा नेताहरू सरकारमा सहभागी भएसँगै सबै माग बिर्सने गरेको भन्दै आन्दोलनको औचित्य पूरा गर्न मधेशका जनताले माग गर्दै आएका छन् । मधेशी सहिदहरू प्रति आगाध माया र भावना मधेशी जनताको अझै पनि जोडिएको छ । मधेश आन्दोलनकै उपलब्धि समावेशी सहभागिता, संघीयता र पहिचान भएकोले सबै उपलब्धि एकै पटक प्राप्त नभएपनि यसको लागि मधेशी दलहरूले आफनो आवाजलाई बुलन्द बनाइराख्नु पर्छ ।

सबै दलले सामूहिक रूपमा मधेशी शहिदहरूलाई सम्मान गर्न नसक्नु उनीहरूप्रति अपमान हो । मधेशी जनताको भावना र सहिदहरूको सपना साकार गर्न मधेशी दलहरू चुकेकै हो । सिरहाको लहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेशको निधन भएको थियो । त्यससँगै मधेश आन्दोलन उठेको थियो । आन्दोलनबाट धेरै मधेशी नेताको उदय भयो । उनीहरू स्थापित पनि भए, धेरै मन्त्री पनि भए तर न त मधेशी जनता र मधेशी सहिदको सपना साकार भयो न त सहिद परिवारले नै केही पाए । रमेशको बलिदानी खेर गयो कि जस्तो लाग्छ ।

मधेशी जनताको अधिकार र मुक्तिका लागि बारम्बार भएका आन्दोलनमा सहिद भएका घरका परिवारका सदस्यहरूले मधेशी दलहरूले एजेण्डा छोडेको र सहिदको सपनालाई बिर्सेर सत्तामा लिप्त भएको आरोप लाग्दै आएका छन् । मधेशी नेताहरू सत्तामुखी भएका कारण सहिदका परिवार विचल्लीमा परेका छन् । शहिद परिवारका सदस्यहरूले मधेश आन्दोलनका क्रममा सहिदहरूले देखाएको बाटोमा दलहरू नलागेको र सदैव कुर्सीको खेलमा लागेकोमा दुःखी छन् । वास्तवमा सहिद परिवारप्रति मधेशी दलहरूको नेतृत्व उदार देखिदैन । सहितका परिवारले पीडा खेपे तर आनन्द नेताहरूले लिए ।

तपाईको प्रतिक्रिया