नेपालमा हिन्दीको व्यापकता छ : मंगलप्रसाद गुप्ता

अध्यक्ष, हिन्दी मञ्च नेपाल

अन्तर्वार्ता

    २०७६ माघ ३ शुक्रबार   

० विश्व हिन्दी सम्मेलनले हालै अन्तर्राष्ट्रिय हिन्दी सम्मेलनको आयोजना गरेको छ, यसको उद्देश्य के थियो ?

— हिन्दी भाषाप्रति यहाँका नागरिकलाई उत्साहित गर्नु, हिन्दीप्रति जागरण र जागृत्ति फैलाउनु नै खास उद्देश्य छ । विभिन्न देशका हिन्दीसँग सम्बन्धित जुन संघसंस्थाहरू छन्, तिनीहरूलाई एक आपसमा जोड्ने अभियान हो । यसरी भएपछि विश्वस्तरमै हिन्दीको एउटा आन्दोलनको स्वरूपमा सन्देश आम जनतामा जान्छ । त्यसो भयो भने हिन्दीप्रति मानिसहरूको आकर्षण बढ्छ भन्ने हाम्रो अपेक्षा छ ।

० हिन्दीलाई अन्तर्राष्ट्रियस्तरमा किन प्रचार प्रसार गर्ने ?

— हिन्दी भाषालाई विश्वकै दोस्रो भाषाको रूपमा स्थापित गर्ने हाम्रो अवधारणा छ । विश्वका करोडौं करोड जनता हिन्दी बुझ्ने र बोल्ने गर्छन् । हिन्दी भाषा जानेपछि संसारका धेरै मुलुकमा भ्रमण गर्दा असहजता महसुस हुँदैन । अमेरिका, युरोप वा अरेबियन मुलुक वा साउथ इष्ट मुलुकहरूमा पनि यसको प्रचार प्रसार भइसकेको छ । यी मुलुकहरूमा भ्रमण गर्दा हिन्दी भाषा जानेपछि उसलाई अप्ठ्यारो हुँदैन । म आफै युनाइटेड नेशनमा गएको थिएँ र त्यहाँका महासचिव मूनसँग पनि हाम्रो छलफल भएको थियो । उहाँले पनि हिन्दी भाषालाई युनाइटेड नेशन्समा राख्ने स्वीकृति दिनुभएको थियो । युनाइटेड नेशन्समा पनि हिन्दी भाषा सातौं भाषाको रूपमा आओस् भन्ने हामीले प्रयास गर्दैछौं । यसका दुई तिहाइ बहुमत युनाइटेड नेशन्समा चाहियो । हिन्दी भाषा युनाइटेड नेशन्सको सातौ भाषा भइसकेपछि अझ आकर्षण बढ्छ । विश्वमा धेरै यस्ता देश छन्, जहाँ उसको मातृभाषालाई अँग्रेजी बनाउन अत्यन्त समस्या छ । हाम्रै देशका प्रतिनिधिहरू विदेशमा जाँदा भाषाको परिपक्कता नभएका कारण आफ्नो भावना, विचारलाई सजिलै राख्न सक्ने क्षमता देखिदैन । त्यसकारणले, युनाइटेड नेशन्समा हिन्दी भाषालाई मान्यता दिइयो भने यो समस्या समाधान हुन्छ । नेपालीलाई अँग्रेजीभन्दा हिन्दी सजिलो भएको देखिन्छ । त्यसैले हिन्दीको प्रचार प्रसार गर्न जरूरी छ ।

० नेपालमा हिन्दीको अवस्था कस्तो छ ?

— सरकारी स्तरबाट हिन्दीलाई कमजोर पार्न खोजिएको छ । किनभने केही दशक पहिले हिन्दी पाठ्यक्रममा देशभरिमा पढाइन्थ्यो, अहिले पूर्णत बन्द गरिदिएको छ । हिन्दीको नाममा त्रिभुवन विश्वविद्यालयमा एउटा विभाग खोलिएको छ तर त्यसप्रति सरकारको कुनै लगाव देखिएको छैन । त्यसकारणले, हिन्दीलाई निरूत्साहन पर्ने सरकारी अभियानले गर्दा अवस्था कमजोर छ । तर, यसको प्रचार प्रसार सामाजिक सञ्जाल, सिनेमामार्फत् भइरहेको छ । सम्पर्क भाषाको रूपमा सयौं वर्षदेखि हिन्दी नेपालमा रहिआएको छ । हिन्दीको प्रभाव व्यावहारिक कारणले पनि र रोजगारको सम्बन्धनको कारणले अपरिहार्यता छ । नेपालका ७० लाखभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीमा छन् । त्यसकारणले हिन्दीलाई सरकारले बन्द गर्न सक्दैन । किनकि त्यो पेशासँग सम्बन्धित रहेको छ । नेपाल प्रारम्भ कालदेखि नै हिन्दी सम्पर्क भाषाको रूपमा रहँदै आएकोले यसको व्यापकता धेरै छ । नेपालको विकासका लागि हिन्दी सबभन्दा बढी आवश्यक छ । नेपालमा सबभन्दा बढी पर्यटक आउने मुलुक भारत नै हो र भविष्यमा पनि भारतबाटै सबभन्दा बढी पर्यटक आउँछ । यस्तो अवस्थामा हिन्दी भाषा नेपालमा प्रचलित भयो भने पर्यटकलाई हामी बढाउन सक्छौं । हिन्दी भाषामा राष्ट्रियस्तरको एउटा अखबार निकाल्नुपर्छ । त्यो अखबारको मार्केटिङ भारतमा ग¥यो भने नेपालको बारेमा सजिलैसँग सबैलाई ज्ञान हुन्छ । नेपालका विभूतिहरू वा महत्वपूर्ण कुराहरूको हिन्दीमा अनुवाद गरेर प्रचार प्रसारमा पनि ल्याउन सकिन्छ ।

 मित्रराष्ट्र भारतको राष्ट्रिय भाषालाई तपाइँले युनाइटेड नेशन्समा सूचीकृत गराउन खोज्नुभएको छ, भारतसँग कतिको सहकार्य भइरहेको छ ?

— यसमा भारत सरकारको ठूलो जिम्मेवारी छ कि हिन्दीलाई बृहतरूपमा विस्तार गर्न प्रयास गर्नुपर्छ । तर, भारतको प्रयास त्यस किसिमको देखिदैन । हिन्दी भाषा भएर पनि हाम्रो पनि भाषा हो र विश्वमा धेरै मुलुकको भाषा पनि यही हो । यस्तो अवस्थामा हामी पनि प्रयास गर्छौं र भारतले पनि प्रयास गर्नुपर्छ । हामीले आफ्नो क्षमता र विद्वताको आधारमा प्रचार प्रसार गरिरहेका छौं । भारतले यसमा ठूलो भूमिका खेल्नुपर्ने आवश्यकता छ ।

० तपाइँहरूले भारतको भाषालाई प्रवद्र्धन गर्दा कतै भारतबाट त परिचालित हुनुहुन्न ?

— कुनै पनि काम गर्दा मानिसहरूको विभिन्न नकारात्मक सोच हुन्छन् । त्यसको मात्रै चिन्तन गरेर बस्ने भने आफ्नो इच्छा र भावनाअनुसार मान्छे केही पनि गर्न सक्दैन । तर, सत्य कुरा सत्य नै रहन्छ र त्यसले महत्व पाउँछ । त्यसैले हामीले हिन्दीको अन्तर्राष्ट्रिय गरेका छौं । धेरै मान्छेहरूले भन्छन् कि भारतीय दूतावासले सहयोग गरेको होला । तर, हामी कुनै पनि राजदूतावासबाट एक पैसा पनि लिएका छैनौं । हामी आफ्नै स्रोतबाट नेपाली पैसाले अन्तर्राष्ट्रिय हिन्दी सम्मेलन सम्पन्न गरेका छौं । प्रदेश २ का मुख्यमन्त्रीको हिन्दीप्रति लगाव भएकोले उहाँको ठूलो योगदानको आधारमा हामी अन्तर्राष्ट्रिय हिन्दी सम्मेलन गर्न सफल भएका हौं ।

० अन्तर्राष्ट्रिय हिन्दी सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्रीको योगदान के थियो त ?

— बढीभन्दा बढी आर्थिक सहयोग प्रदेश २ का मुख्यमन्त्रीले गर्नुभएको छ । मुख्यमन्त्रीजीले क्याबिनेटबाट पास गराएर हामीलाई आर्थिक सहयोग गर्नुभएको छ ।

० हिन्दीप्रेमी प्रदेश २ का मुख्यमन्त्रीले हिन्दीलाई आफ्नो प्रदेशमा मान्यता दिलाउन सक्नुहुन्छ ?

— प्रदेश २ का मुख्यमन्त्रीले त्रिभाषा नीति नै पास गराइसक्नुभएको छ । नेपाली, मैथिली र हिन्दी भाषा रहेको छ । उहाँको संसदमा हिन्दी पनि बोल्न सक्ने अवस्था छ । भने यो भन्दा अरू ठूलो के हुनसक्छ ।

० तपाइँहरू जसरी हिन्दीका लागि अभियान चलाइरहनुभएको छ, नेपालीलाई किन सहयोग नगर्ने त ?

— हामी पनि नेपाली बोल्छौं, त्यसलाई स्वीकार गरेका छौं । हाम्रो जीवनको महत्वपूर्ण अंगको रूपमा नेपाली भाषा हामीसँग छ । तर, सम्पर्क भाषाको रूपमा परम्परादेखि नै हिन्दी भाषा नै चलिआएको छ । अन्तर्राष्ट्रियस्तरमा जाँदा हिन्दी सम्पर्क भाषा हुन सजिलो छ । तर, नेपाली भाषा अन्तर्राष्ट्रिय जगतमा सम्पर्क भाषा हुनसक्ने अवस्था छैन ।

० पहिला नेपालमा हिन्दी भाषाका पाठ्यक्रम थियो, अहिले हटाइएको छ, किन ?

— यो गर्न नपर्ने हो । हिन्दी भाषालाई पनि विद्यालयको पठनपाठनमा राख्नुपर्ने थियो । अहिले चिनियाँ भाषाको आवश्यकता नेपाली सरकारलाई किन प¥यो ? भनेपछि चिनियाँ भाषा नेपालमा ०.००२ प्रतिशतले पनि बोलिदै भने हिन्दीलाई फालेर त गर्नुभएन । हिन्दीलाई पनि स्कूल र कलेजहरूमा पाठ्यक्रममा ल्याउनुपर्छ । नेपालमा भाषालाई पनि राष्ट्रवादसँग जोड्न खोजिँदैछ । जो हिन्दी बोल्छ उ राष्ट्रवादी होइन भन्ने मानसिकता छ । के चिनियाँ भाषाले राष्ट्रवादी भइन्छ ? त्यसकारणले यो एउटा हिनता र संकीर्णताको भावना हो । त्यसैकारणले हिन्दीलाई अगाडि बढाउन खोजिएको हो ।

० हिन्दी सम्मेलनको निष्कर्ष के रह्यो ?

— विभिन्न किसिमका विद्वानहरूको हिन्दी भाषाको बारेमा विचार सुन्न पायौं । हामीले हिन्दी भाषाको बारेमा अझ पनि बुझ्ने र सम्झने मौका प्राप्त भयो । सबै विद्वानमा एउटा जोश र उमंग आएको छ कि हिन्दीका लागि लाग्नुपर्छ । त्यसकारणले एउटा उत्साह र उमंग हामीले देखेका छौं । साथै विदेशमा आएका व्यक्तिले पनि नेपालमा हिन्दीको महत्व छ र यसको विस्तार पनि आवश्यक बुझेका छन् । उहाँहरू पनि यसबाट प्रोत्साहित भएर जानुभएका छन् । विभिन्न देशहरूमा हिन्दीप्रेमीहरूको संगठनात्मक स्वरूप बन्नेछ । त्यसले गर्दा नेपाल मात्रै होइन, विश्वमै हिन्दीको विस्तार गर्न सजिलो हुन्छ । यो सम्मेलन गर्दा एउटा ठूलो शक्ति उत्पन्न भएको छ ।

(मधेशवाणीका रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया