परिपक्क कुटनीतिज्ञ क्वात्रा

फिचर

       

काठमाडौं । भारतले युरोपमा कार्यरत कूटनीतिज्ञ विनय मोहन क्वात्रालाई नेपालमा राजदूत बनाउन सिफारिस गरेको छ । मञ्जीवसिंह पुरीको कार्यकाल सकिएर स्वदेश फर्किएपछि भारतले उनको ठाउँमा क्वात्रालाई पठाउन लागेको हो ।

सन् १९८८ मा कूटनीतिक क्षेत्रमा प्रदेश गरेको क्वात्रासँग फ्रान्समा काम गरेको अनुभाव छ भने उनलाई नेपालका जानकार पनि मानिन्छ
सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित सार्क सचिवालयमा निर्देशक भएर बसेकाले त्यसबेला उनले नेपालका विभिन्न राजनीतिज्ञ, कूटनीतिज्ञ, सञ्चारकर्मी आदिसँग सम्वन्ध बनाएको बताइन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयम सहसचिव भएर काम गरेका क्वात्रा विदेश मन्त्रालयको नीति, योजना र अनुसन्धान विभागको प्रमुख समेत थिए । त्यसपछि उनले जेनेभा, न्यूयोर्क र वासिङटनमा बसेर काम गरेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयमा उनको नाम सहमति (अग्रिमो) का निम्ति पठाएको बताएको छ । फागुनको पहिलो सातादेखि उनले कार्यभार सम्हाल्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

अन्तर्राष्ट्रिय चासोको विषय बन्दै गएको नेपाली कूटनीमा अनेकै विघ्न वाधा देखिन थालेको भारतको बुझाइ छ । अमेरिका, भारत, चीन र युरोपेली युनियन जस्ता शक्तिहरुको प्रतिस्पर्धा भइरहेको काठमाडौंमा पहिलेका भन्दा अहिले बढी अनुभवी र परिपक्व कूटनीतिज्ञलाई पठाउनुपर्ने भारतका वरिष्ठ कूटनीतिज्ञहरुले सुझाव दिएको बुझिएको छ ।

नेपाल र भारतीयबीच कूटनीतिक सम्वन्ध स्थापना भएपछि जवाहरलाल नेहरुका पालादेखि नै भारतले परिपक्व कूटनीतिज्ञहरु पठाउने गरेको थियो भने पछिल्लो १५/२० वर्ष यता नेपालस्थित भारतीय राजदूतहरुले राजनीतिमा बढी चासो देखाएको आरोप लाग्ने गरेको छ ।

पहिले–पहिलेका राजदूतहरुले सोझै भारतीय प्रधानमन्त्रीसँग सम्पर्क गरेर निर्णय गर्ने गर्थे भन्दै पछिल्ला वर्षहरुमा भारतीय गुप्तचर निकायहरुको निर्देशन अनुसार काम गर्ने राजदूतहरु पनि आउन थालेको पुराना कूटनीतिज्ञहरुको तर्क छ ।

जुनसुकै व्यक्ति राजदूत भएर आए पनि छिमेकीलाई हेर्ने भारतीय दृष्टिकोण स्पष्ट नभएसम्म त्यसले दुई देशबीचका समस्याहरु समाधान गर्न नसक्ने कूटनीतिज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया