विद्यालयका प्रत्येक कक्षामा बाल क्लबको घडी

शिक्षा

       

सुनसरी, १० माघ । इटहरीको सरस्वती माध्यमिक विद्यालयका प्रत्येक कक्षामा बाल क्लबले घडी राखेको छ । शिक्षक कक्षामा कतिबेला प्रवेश गर्नुभयो त्यहि घडि हेरेर विद्यार्थीले खातामा लेख्छन्, शिक्षक कतिबेला कक्षाकोठाबाट निस्कनुभयो त्यो पनि लेखेर राख्छन् ।

इटहरीका प्रत्येक सामुदायिक विद्यालयमा गठन भएका बाल क्लब र ग्रीन क्लबले यस्तै उदाहरणीय काम गरिरहेका छन् ।

इटहरी उपमहानगरले आयोजना गरेको माध्यमिक विद्यालयका बाल क्लब र ग्रीन क्लबका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा बालबालिकाले विद्यालय र समुदायमै गरेका विभिन्न कामहरुको अनुभव सुनाए ।

इटहरीको कबिर माध्यमिक विद्यालयको बाल क्लबका छात्राहरुले आफूहरुले प्रयोग गर्ने सेनेटरी प्याड स्कुलमै बनाएर प्रयोग गर्ने गरेका छन् ।

उनीहरुले स्कुलमै तालिम लिएर प्याड बनाएर जम्मा गर्ने गरेका हुन् । बाल क्लब र ग्रीन क्लबका विद्यार्थीहरु अत्यन्तै रचनात्मक देखिए उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफ्लेले बताए ।

एउटा विद्यालयका विद्यार्थीको सकारात्मक कार्य अर्को विद्यालयका बालबालिकाले पनि सिकुन भनेर राखिएको अन्तरक्रिया कार्यक्रम फलदायी वनेको महाशाखा प्रमुख कुमारी अम्विका शाहले बताइन् ।

इटहरीकै राष्ट्रिय मायमिक विद्यालयको वालक्लवका विद्यार्थीहरुले विद्यालय छेउछाउको गाँउमा फोहोरमैला भएको देखे भने त्यहाँ जान्छन् स्थानीय जुटाउन अनि सरसफाई गर्छन् ।

स्कुले केटाकेटीले फोहोर देखे भने आउँछन भनेर स्थानीय आफै सरसफाइमा जुट्न थालेका छन् ।

तपाईको प्रतिक्रिया