विराटनगर आईसीपी नेपाल–भारतको कोशेढुंगा : सुयेश प्याकुरेल

वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ मोरङ

अन्तर्वार्ता

    २०७६ साल माघ १० गते शुक्रबार   

० नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी)लाई कसरी लिनुभएको छ ?

— यो नेपालको दोस्रो एकीकृत जाँच चौकी हो । प्रमुख नाकाहरूमा एकीकृत जाँच चौकी भारतको सहयोगमा स्थापना गर्ने नेपाल र भारतबीच सहमति भएको छ । यसैक्रममा वीरगन्जमा पहिला नै सञ्चालनमा आइसकेको छ भने अन्य ठाउँमा सञ्चालनमा आउने क्रममा छ । विराटनगरमा बनेको आईसीपीको औपचारिक सञ्चालन हुन करिब १२ दिन जति लाग्छ । यसबाट विशेषतः पूर्वका व्यवसायी अत्यन्त हर्षित छन् । मालबाहक गाडीहरूलाई कस्टम क्लियर गर्नका लागि कमसेकम सात÷आठ दिन लाग्थ्यो । आजको प्रतिस्पर्धी जमानामा त्यत्रो समय लगाएर नाका क्लियर गर्दा लागत एकदमै बढी लाग्छ । यो आईसीपी सञ्चालनमा आइसकेपछि निश्चितरूपमा एउटा पूर्वाधार खडा भएको छ । यो पूर्णरूपमा सञ्चालनमा आइसकेपछि एक वा दुई दिनभन्दा बढी समय लाग्दैन र व्यवसायीहरूको लागत पनि कम लाग्छ ।

० आईसीपी सञ्चालन नहुँदा केकस्ता अप्ठ्याराहरू छन् ?

— आयात र निर्यात हुने एउटा नाका भएकोले समय बढी लाग्ने गर्छ, जसले गर्दा व्यवसायीको लागत बढी नै लाग्ने गरेको छ । त्यो लागत अर्बौं रूपैयाँमा हुन्छ । त्यसले गर्दा आईसीपी सञ्चालनमा आइसकेपछि हाम्रो धेरै बचत हुनेछ । अब हाम्रो जति पनि बचत हुन्छ, त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्छौं । यो आईसीपी सञ्चालन एक÷दुई वर्ष पहिला नै आइसक्नुपर्ने थियो । अलिकति ढिलो त भयो । भारत सरकारले निर्माण गरिदिएको हो । भारततर्फ पहिला नै निर्माण भइसकेको थियो, नेपालले गर्दा नै ढिलो भएर यो सञ्चालनमा आएको हो । यस्ता राष्ट्रिय महत्वका परियोजनाहरूमा सरकारले अविलम्ब पहल गर्नुपर्ने हुुन्छ ।

० यो सञ्चालनमा ल्याउन नेपालको तर्फबाट ढिलाई किन भएको होला ?

— यो आईसीपी भारत सरकारको पूर्ण अनुदानमा निर्माण भएको हो । तर, यसमा हाम्रो कमजोरी हो । भारत र नेपालमा निर्माण कार्यको प्रारम्भ एकै समयमा भएको थियो तर, नेपालमा जग्गा अधिग्रहण र मुआब्जामा अलिकति समस्या भएको थियो । यसमा सरोकारवाला निकायले समयमै पहल नगरेकोले पनि अलि ढिलो भएको हो । त्यसको मूल्य हामी व्यवसायीले चुकाउनुप¥यो । भनिन्छ, ‘देर आया दुरूस्त आया’ त्यसैले ठिकै छ । अब यसलाई व्यवसायी र राष्ट्रको हितमा उपयोग गर्नुपर्छ ।

० यो आईसीपीले नेपाल–भारत व्यवसायमा कतिको फाइदा हुन्छ ?

— यो आईसीपी सञ्चालनले गर्दा नेपाल र भारतबीचको सम्बन्धमा एउटा माइलस्टोन साबित हुनेछ । दुवै देशका लागि यो एउटा गौरवको क्षण हो । यसबाट नेपाल र भारतका व्यवसायीले कम लागत, बढी मुनाफा कमाउने हो । लागत बढी लाग्ने भएपछि व्यवसायीहरूलाई धेरै तनाव हुन्थ्यो, त्यो अब कम हुने भएको छ र ढुक्कसँग आफ्नो आयात–निर्यात कम लागत गर्न सक्छन् । भारत नेपालको एउटा असल छिमेकी हो र भारतले नेपालमा विकास र समृद्धि चाहन्छ भन्ने हामीले बुझ्नुपर्छ । भारतले यसरी नै नेपाललाई सहयोग गर्दै जाने हो भने हामी पनि सम्पन्नतातर्फ उन्मुख हुन्छौं ।

० आईसीपीका चुनौतीहरू के–के छन् ?

— यो आईसीपीलाई हामीले चुनौतीको रूपमा लिनै हुँदैन । यसै पनि कुनै परियोजना आउँदा एक मात्र चुनौती हुन्छ कि हामीले यसलाई राम्रोसँग कसरी सञ्चालन गर्ने हो । यस्तो पूर्वाधार निर्माण भइसकेपछि यसलाई अधिकतम् उपयोग गर्नु नै चुनौती छ ।

० यो आईसीपीबाट मालबाहक सवारीसाधन मात्रै आवतजावत गर्छ कि सर्वसाधारण पनि ?

— यो त कस्टम क्लिरियेन्सका लागि बनाइएको हो । सर्वसाधारणका लागि नर्मल रोड त छँदैछ । मालबाहक सवारीसाधनका लागि छुट्टै मार्ग निर्माण भइसकेपछि सर्वसाधारण हिंड्ने बाटोमा पनि खासै चाप हुँदैन । यसले धेरै सहजता हुन्छ ।

० नेपाल–भारतबीचको व्यापारमा नेपाललाई बढी व्यापार घाटा हुँदै आएको छ, यसले व्यापार घाटा कम गर्न कतिको सहयोग पुग्छ ?

— पारवहनमा हाम्रो लागत कम लागेपछि अवश्य नै हामीलाई फाइदा हुन्छ । आयात–निर्यातमा कम लागत लाग्ना साथ व्यापार स्वतः घट्दै जान्छ । जसले गर्दा हामी आन्तरिक बजारमै प्रतिस्पर्धा गर्न अझ बढी सक्षम हुन्छौं ।

० नेपालले भारतबाट आयात बढी गर्नुपर्ने अवस्था छ, निर्यात बढाउन के गर्नुपर्ला ?

— हामीले निर्यात बढाउनका लागि आफ्ना ट्रेड ब्यारियर्सहरू पहिचान गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तुहरू यहाँका व्यवसायीहरू उत्पादन गर्न सक्यो भने हामीले पनि निर्यात गर्न सक्छौं । हामीले भारत मात्रै होइन, तेस्रो मुलुकमा पनि आफ्नो उत्पादकत्वहरू निर्यात गर्न सक्छौं ।

० नेपाल र भारतका व्यवसायीहरू बीचको सम्बन्ध कस्तो छ ?

— नेपाल र भारतका व्यवसायीहरूको सम्बन्ध धेरै राम्रो छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत नै हो । भारतले नेपाललाई नपत्याएको भए यत्रो ठूलो साझेदार बनाउँदैनथ्यो । त्यसैले, नेपाल र भारतका व्यवसायीबीच एकदम राम्रो सम्बन्ध छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया