शहीद दिवस र मधेशी शहीद

सम्पादकीय

    २०७६ साल माघ १७ गते शुक्रबार   

मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा २०१२ देखि हरेक वर्ष माघ १६ गते शहिद दिवस मनाइन्छ । सरकारले साप्ताहिक रूपमा शहीद सप्ताह मनाउँदै आएको छ । १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको स्मरणमा यो दिवस मनाइँदै आइएको छ ।


नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहिदहरू–शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ । पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक पटक थुप्रै योद्धाले सहादत प्राप्त गरे पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन ।


सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई शहीद घोषणा गरेको थियो । त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्यांक देखिँदैन । साथै मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका कति व्यक्तिलाई शहीद घोषणा गरियो भन्ने यकिन तथ्यांक भेटिँदैन । जे जस्तो परिवेश रहे पनि शहिद भनेका समाजका ती सपुत हुन जसले आफ्नो व्यक्तिगत स्वार्थ त्याग गरेरसमग्र हितका निम्ति जीवनलाई बलिदान दिने व्यक्ति हुन । व्यक्तिगत स्वार्थ बिना काम गर्ने र देश र जनताको भलाईका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्तिलाई शहिद मानिन्छ ।


शहिद आत्मीय र सम्मानको शब्द हो । यो शब्दलाई सहर्ष स्वीकार्दै देश र जनताप्रति बफादार भई जीउज्यानको बाजी थाप्नेहरू मात्र सहिद हुन् । तर आज समूह—समूहबीच, मोर्चा—मोर्चाबीच र दल—दलबीच मात्र नभएर व्यक्ति—व्यक्तिबीच द्वन्द्व मच्चिरहेको छ । युद्ध वैचारिक रूपमा मात्र सीमित नरही सशस्त्र रूपमै भौतिक आक्रमण हुन थालेको छ । जसको कारण धेरै नेपालीहरू नेपालीहरूद्वारा नै मारिएको अवस्था छ । राजनीतिक तवरले संरक्षण पाएकाहरू र नपाएकाहरू बीचमा घटना, परिघटनामा परी मृत्यु हुनेहरूको वर्गीकरण हुने क्रम बढदै गएको छ । समय—समयमा शासन सत्ताद्वारा जनतामाथि गरिने शोषणको विरूद्व आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको संख्या आजभोलि बढेको छ । यसरी ज्यान गुमाउनेहरूलाई कसरी सम्बोधन गर्ने ? कुन अर्थमा कसरी सम्मान गर्ने ? यो पनि बहसको विषय बनेको छ । सहिदलाई कहिं कतै कुनै पनि तवरले वर्गीकृत नगरी राष्ट्र, शिर, गर्व, गहना, धरोहर, आस्था र आदर्शको रूपमा सबैले स्वीकारिनु पर्छ ।


हामीले औपचारिकताका लागि मात्र शहिद दिवस मनाउनु भन्दा उनीहरूले देखाएको सतमार्ग हिँड्नु र उनीहरूको योगदानको उचित कदर गर्नु नै शहिद प्रतिको सच्चा सम्मान हो । जुन उद्देश्य र लक्ष्यका साथ शहिदहरूले सहादत प्राप्त गरेका थिए त्यहि उद्देश्य र लक्ष्य हासिल गर्न प्रतिबद्ध भै लागेमा शहिद दिवसको सार्थकता हुन्छ । यता विभिन्न आन्दोलनका क्रममा मधेशबाट पनि थुप्रै शहिदहरू भएका छन् । तर उनीहरूको योगदानको कदर शहिद दिवसमा गरिएको पाइँदैन ।


२०६३ सालमा सुरू भएको प्रथम मधेश आन्दोलनका क्रममा सिरहाका रमेश महतोसहित देशभर ५४ जनाले मधेश मुक्तिका लागि भन्दै बलिदानी दिएका थिए । प्रथम मधेश आन्दोलनबाट उठान भएको मुद्दा नसकिदैं २०७२ मा भएको दोस्रो मधेश आन्दोलनमा ५६ जनाले ज्यान गुमाए भने तेस्रो २०७३÷२०७४ मा ७ जना सहित अहिलेसम्म १ सय १७ जनाले मधेशमा बलिदानी दिइसकेका छन् । तर ती शहिद परिवारका सदस्यको पीडा उस्त छ र शहीदहरूको उचित कदर पनि हुन सकेको छैन । मधेशी नेताहरू सत्तामुखी भएका कारण सहिदहरूको सम्झना हुन नसकेको हो । माद्ध ५ गते एक दिन बलिदानी दिवस मनाएर मात्र शहिदको सपना पूरा हुँदैन । मधेश आन्दोलनका क्रममा सहिदहरूले देखाएको बाटोमा दलहरू नलागेको र सदैव कुर्सीको खेलमा लागेकोमा दुःखी छन् । वास्तवमा सहिद परिवारप्रति मधेशी दलहरूको नेतृत्व उदार देखिदैन ।

तपाईको प्रतिक्रिया