केन्द्र र प्रदेश २ मा अब नेकपा–राजपा सरकार : यदुवंश झा

केन्द्रीय समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी

अन्तर्वार्ता

    २०७६ साल माघ १७ गते शुक्रबार   

० नेकपा र राजपाबीच सहकार्य भएर राष्ट्रियसभामा उनीहरूको जीत भएको छ । ष्यो सहकार्य चुनावी परियोजनका लागि मात्र थियो कि आगामी दिनमा पनि निरन्तरता पाउनेछ ?

— नेकपा र राजपाबीच सहकार्य समयको माग हो । मुलुकको आवश्यकतालाई पनि बुझ्नुपर्छ । अहिले बदलिँदो राजनीतिक परिवेशमा दक्षिण एसियाली मुलुकहरूले विकास र आर्थिक क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । त्यो अवस्थामा हामी राजनीति विषयमै कति रूमलिरहने ? त्यसकारणले अहिले जुन परिस्थिति निर्माण भएको छ यसले विश्व राजनीतिमा प्रभाव पार्ने विषय बनेको छ । राजपा र नेपालको जुन यात्रा सुरू भएको छ, यसलाई हामीले स्वागत गर्नुपर्छ । एउटा विश्वासको वातावरण बनिरहेको छ । आगामी राजनीतिक यात्रा पनि विश्वासको आधारमा दुवै पक्षले अगाडि बढाउन सक्यो भने शान्ति र समृद्धिको यात्रामा सफल पाइला हुनेछ ।

० नेकपा–राजपाको सहयात्रा अगाडि बढाउन नेकपा इमान्दार हुन्छ ?

— राजपाले उठाउँदै आएको मागप्रति नेकपा लचक हुनैपर्छ । अहिले बारम्बार यिनै विषयमा सम्वाद, छलफल भएको पनि छ । राजपाको जायज माग, कानूनले मिल्नसक्ने गरी मुलुकलाई शान्ति र स्थिरतातर्फ लानका लागि सरकारले एउटा समिति बनाएर समस्याको समाधान गर्नुपर्ने हुन्छ । संविधान एउटा परिवर्तनीय दस्तावेज हो, मुलुक र जनताको आवश्यकताअनुसार संशोधन संविधान हुनुपर्छ । यो सरकारले संविधान संशोधन गर्छ तर, केही समय लाग्छ ।

० राजपाको माग सम्बोधन गर्न कानूनी अड्चन छ भने लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ?

— जुनबेला लाल आयोग गठन भएको थियो, त्यो बेलाको राजनीतिक परिवेश, नेकपा र राजपाबीच दूरीको समयावधि थियो । तर अहिले समयले धेरै कोल्टो फेरेको छ । आज धेरै सकारात्मक परिवर्तनहरू पनि भएका छन् । अब यहाँ इमान्दारिताको खाँचो छ, त्यो इमान्दारिता दुवै पक्षले लागू गर्नुपर्छ । विगतमा जेजस्तो भएपनि वर्तमान अवस्थामा समयसापेक्ष वातावरण बनाउन सकियो भने मागहरू निश्चित रूपमा सम्बोधन हुन्छ ।

० नेकपाले राजपा र समाजवादीबीच दूरी ल्याउन खोजेको आरोप छ नि ?

— नेकपाको सरकारले मधेशका शक्तिहरूलाई कमजोर बनाउने प्रयास गर्दैछ, यो सरकारको रणनीति हो भन्ने आरोपहरू लाग्दै आएको छ । जबकि राजपाका नेताहरूको एउटा छुट्टै राजनीतिक इतिहास छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनीहरूको लामो योगदान रहेको छ, खारिएर रहेका नेताहरू राजपाभित्र छन् । हिजो उनीहरूको जुन सोच थियो, त्यसमा परिवर्तन आउनु भनेको समर्पण होइन । मधेशको राजनीतिलाई यो सरकारले कमजोर बनाउने खोजेको आरोप लागेपनि राजपा र नेकपाको सहकार्य अत्यन्त सुखद हो । उदार दिलले र इमान्दारीपूर्वक प्रयास भयो भने यो सरकारले राजपाको माग सम्बोधन गर्दै जानेछ । राजपा र कम्युनिष्ट पार्टीबीच जुन परिवेश बनेको छ, नेपाली राजनीतिमा यसले धेरै प्राथमिकता पाएको छ ।


० नेकपाको सरकारले एउटा मधेशी दललाई काखा र अर्कोलाई पाखा लगाउने काम गरिरहेको छ नि ?

— जसरले सरकार चलाउँछ, उसले जहिले सबैलाई एउटा सन्तुलनमा राखेर व्यवहार गर्ने परम्परा पनि हुन्छ । समाजवादी पार्टीको कुरा गर्दा उ सरकारमा बस्ने पनि र त्यही सरकारलाई घुर्की पनि देखाउने काम ग¥यो । क्याबिनेटमा पनि बस्ने, तत्काल क्याबिनेटको कुरो पनि मान्ने र जिल्लामा जाँदा सरकारको विरोध गरेर दोहोरो चरित्र प्रदर्शन ग¥यो । अर्थात् राडी र पाडी एकठाउँमा चल्दैन । त्यसकारण, प्रधानमन्त्री केपी शर्मा ओलीसँग समाजवादीको सम्बन्ध खराब हुने एउटा कारण यो पनि हो । अर्को कुरा समाजवादीले जुन मन्त्रालय पाएको थियो, त्यसमा पनि सन्तोषजनक कार्य सम्पादन गर्न सकेको थिएन । उपेन्द्र यादव जहिले पनि विदेशमुखी भएको पनि देखियो ।

० नेकपालाई सभामुखमा राजपाले समर्थन ग¥यो, उपसभामुख राजपाले पाउँछ त ?

— सभामुखमा राजपाको समर्थन थियो, एउटा विश्वासको वातावरण बन्यो । राजपाले उपसभामुख नै पाउँछ भन्ने कुरा छैन तर, सरकारमा आउने सम्भावना प्रवलरूपमा बढेको छ । अहिले खाली रहेका मन्त्रालयमा प्रधानमन्त्रीले राजपालाई ल्याउने र राजनीतिक यात्रा सम्मानका साथ अगाडि बढाउने सवालमा केही गृहकार्य भएको छ ।

० भनेपछि, राजपालाई सरकारमा ल्याउने गृहकार्य हुँदैछ ?

— एकदम भइरहेको छ । प्रधानमन्त्री आफै र सचिवालयले पनि यो कुरालाई अत्यन्त सकारात्मकरूपमा लिएको छ ।


० तर, राजपाका आधारभूत मागहरू पूरा नभइकन, सांसद रेशम लाल चौधरीको रिहा नभइकन सरकारमा गयो भने पार्टी फुट्ने सम्भावना पनि छ नि ?

— राजपाले उठाउँदै आएको कुराहरू संवेदनशील विषय हो । रेशमलाल चौधरीको रिहाइ, झुठा मुद्दामा आरोपितहरूको मुद्दा फिर्ता, कैदीबन्दीको रिहाइबारे छलफल भइरहेको छ । यी कुराहरूमा आममाफीको दिशामा जानका लागि, समस्याहरू सम्बोधन गर्नका लागि कता–कता अमिल्दो विषयहरू छन् । यी कुराहरूलाई यदि समयमै सम्बोधन गर्न सकेनौं भने सहकार्यको यात्रा अगाडि बढ्न सक्दैन । त्यसकारण, यो विषयमा गम्भीरतापूर्वक, सम्वेदनशील भएर राज्यपक्ष र राजपाले पनि छलफलको विषय बनाउनुपर्छ । यो विषयलाई टुंग्याउनु नै समय सान्दर्भिक हो । यसमा सरकारले निश्चितरूपमा ध्यान दिन्छ र विश्वासको वातावरण बनाउनमा हामी सबै पक्ष लाग्नुपर्छ ।

० राजपा कति दिनसम्मको अवधिमा सरकारमा जानसक्छ ?

— यसको गृहकार्य सुरू भइसकेको छ । राजपा र नेकपाबीच जसरी अहिले सहकार्य अगाडि बढिरहेको छ, एकडेढ महिनाभित्रै राजपा सरकारमा सहभागी हुने वातावरण बन्दैछ । प्रदेश २ मा नेकपा र राजपाको गठबन्धन बन्नु, सभामुख चुनावमा समर्थन गर्नु यी सब कुराले दुवै दलबीच एउटा विश्वासको वातावरण बन्दै गएको देखिएको छ । यो मुलुकको आवश्यकता पनि हो । तसर्थ, अब हामी राजनीतिक खिचातानी र आरोप–प्रत्यारोपबाट माथि उठेर मुलुक समृद्धिको बाटोमा लाग्नुपर्छ । यी पूर्वाधारहरूले गर्दा राजपा सरकारमा आउने सम्भावना बढेको छ ।

० प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने चर्चा चलिरहेको छ, के हो वास्तविकता ?

— प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने चर्चा त वास्तवमा चलेकै हो । दोस्रो कुरो नेकपा र राजपा मिल्यो भने सरकार बनाउन बहुमत पनि पुग्छ । त्यसकारणले प्रदेश २ मा नेकपा र राजपाको सरकार बनाउने सम्पूर्ण आधार छन् । अब यो मूर्तरूप कहिले लिन्छ, कौतुहुल त छँदैछ । प्रदेश २ मा रहेको वर्तमान सरकारले आमजनताको चाहनाअनुसार काम गर्न नसकेको व्यापक असन्तुष्टि छ । विकास निर्माणका कार्यहरू प्रदेश २ को सरकारले अगाडि बढाउन सकेन । त्यसकारण आम जनताले पनि प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्नुपर्ने धारणा आउँदैछ । यसको प्रष्ट संकेत राष्ट्रियसभाको चुनावमा पनि देखियो । राजपा र नेकपाको जति मत थियो त्यसभन्दा पनि बढी मत पाएको छ । अर्थात्, प्रदेश २ को सरकारप्रति सत्तारूढ दल समाजवादीकै नेता कार्यकर्ताहरू असन्तुष्ट छन् । निश्चितरूपमा परिवर्तनका केही लक्षणहरू देखा परेका छन्, यसले अपेक्षित परिणाम अवश्य नै दिन्छ ।

० यसको गृहकार्य पनि भइरहेको होला नि ?

— प्रदेश २ मा नेकपा र राजपाको सरकार बनाउन सकारात्मक सोच बन्दै जानु पनि राम्रो सन्देश हो । लगभग एक महिनाभित्रै यस विषयमा ‘क्लियर सिन’हरू देखा पर्छन् ।

० केन्द्रमा नेकपाको बहुमतको सरकार छ, तर जनअपेक्षाअनुसार काम किन गर्न सकेको छैन ?

— अहिले नेपालमा सिंगो प्रणाली नै परिवर्तन गरेर बनेको सरकार हो । आम नेपाली जनताको आशा, भरोसा, अपेक्षा छन् त्यस हिसावले जुन गतिमा गर्नुपर्ने हो त्यसका आधार तयार भएकै हो । दुई वर्षको अवधिमा यातायात, ऊर्जा र अन्य सवालहरूमा पनि आमूल परिवर्तन हुने गरी काम अगाडि बढाएको छ । कतिपय कुराहरू जनताले महसुस पनि गरेका छन् भने कतिपय कुरा पूरा हुने अवस्थामा छन् । तरपनि द्रूतगतिमा काम अगाडि बढेको छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया