प्रदेश २ को नाम अझै अन्योलमा

राजनीति

       

जनकपुरधाम, १ फागुन । प्रदेश २ को नाममा सहमति खोज्न बसेको उच्च स्तरीय संसदीय समितिको बैठक पनि विना निश्कर्ष टुंगिएको छ । यद्यपी नेताहरुले सहमति नजिक रहेको बताएका छन् । 

प्रदेशको नामाकरण गर्नका लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा उच्चस्तरीय संसदीय समिति गठन गरिएको छ । सोही समितिको बुधबारको बैठकमा सबै दलका प्रतिनिधि नामाकरणमा चाँडै सहमति खोज्न एकमत भएका हुन् ।

चाँडो नामाकरण गर्ने बिषयमा सबै दल एकमत देखिएको प्रमुख प्रतिपक्षी नेकपा का संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए ।

नेकपाले आफूले प्रस्ताव गरेको जानकी नाममा मधेश थपेर नामाकरण गर्नुपर्ने बताएको छ । नेपाली कांग्रेसले मिथिला मधेश भनेर नामाकरण गर्नुपर्नेमा जोड दिएको छ । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले चाँडो नामाकरण गर्नका लागि मिथिला मधेश नामाकरण गर्न विकल्प दिएको जानकारी दिए । 

सत्तारुढ समाजवादी र राजपाले मधेश नामाकरण गर्नुपर्ने प्रस्ताव गरेको छ । राजपाका सचेतक परमेश्वर साहले बैठकमा नेताहरु लचकताका साथ प्रस्तुत भएको बताए । 

उनका अनुसार आगामी फागुन ४ गते प्रदेशको नामाकरणका लागि पुनः बैठक बस्नेछ । उक्त बैठकमा नेकपा, समाजवादी, राजपा र कांग्रेसका संसदीय दलका नेता, सभामुख र सचेतकहरु बसेर प्रदेशको नामांकरणलाई निष्कर्षमा पु¥याउने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया