स्थानीय तहमा अहिले पनि संघीय सरकारको अधिपत्य छ : हिराबहादुर खत्री

मेयर, देवदह नगरपालिका, रूपन्देही

स्थानीय सम्वाद्

    २०७६ साल फागुन २ गते शुक्रबार   

० जनप्रतिनिधिको रूपमा निर्वाचित भएर गएसँगै जनताले महसुश गर्ने गरी के कस्ता कामहरू गर्नुभएको छ ?

– जति अपनि काम भइरहेका छन् ती सबै जनताले महसुस गर्ने गरी नै भइरहेका छन् । लामो समय स्थानीय जनप्रतिनिधिको अनुपस्थिति रह्यो । हामी आइसकेपछि संघीयताको मूल मर्म अनुरूप नै सबैभन्दा पहिले सेवाप्रवाहलाई नै महत्व दियौं । नगरपालिकाको १२ वडामा ३ ठाउँबाट सेवा प्रवाह हुन्थ्यो तर त्यसलाई बढाइएर हामीले ९ ठाउँबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलायौं । यो वर्षभित्रै १२ वटा वडाबाट सेवा प्रवाह गर्ने गरी काम गर्दैछौं ।

० तपाईहरू निर्वाचित भएर आउँदा त्यहाँका जनताका अपेक्षा कस्तो पाउनुभयो ?

– अपेक्षा सबैका असीमित छन् । अपेक्षा पुरा गर्ने हिसावले काम गरेका छौं भन्ने हाम्रो विश्वास हो । हामीसँग भएको स्रोत र साधनलाई अतिकतम प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त बनाउँदै, पूर्वाधारमा निर्माणमा यहाँका स्थानीयहरूको आवश्यक्ता र मागलाई सम्बोधन गर्दै र आवश्यकता र माग भएर पनि त्यसको औचित्य पुष्टि हुने गरी कसरी काम अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा हाम्रो नगरपालिका गम्भीरताका साथ योजनाबद्ध तरिकाले अगाडि बढेको छ ।

० सिहदरबार गाउँ गाउँमा पुगेको छ त ?

– संविधानतः सिंहदरबार गाउँमा आएको हो । तर, व्यवहारतः केही कठिनाईहरू रहेका छन् । संविधानको मूल मर्मलाई संघीय र प्रदेश सरकारले बुझ्नेछ र हिजो जसरी स्थानीय तहलाई बलियो बनाउने गरी संविधान निर्माण भएको छ त्यही अनुसार नै नीति, नियमहरू निर्माण हुनुपर्दछ भन्ने दुवै तहका सरकारले बुझ्नेछन् र त्यसै अनुरूप अगाडि बढ्नेछन् भन्ने विश्वास लिएका छौं । अहिलेसम्म कुनै न कुनै नाममा संघीय सरकारको अधिपत्य रहने, भन्दा स्थानीय तह भन्ने तर व्यवहारमा संघीय सरकार अन्तर्गत नै रहेको निकायको रूपमा हेर्ने गरिएको छ । लामो समयसम्म कर्मचारी समायोजन टुंगोमा नपुग्नु, स्थानीय तहका एकल अधिकारका सूचीमा रहेका विषयवस्तुहरूलाई स्थानीय तह अनुकुल सुदृढ बनाउन नसक्नुले संघीयताप्रति आम नागरिकको दृष्टिकोण र विचारप्रति आघात पुग्न गएको छ ।

० संविधानमा व्यवस्था भएको स्थानीय तहको अधिकार दिन पनि संघीय र प्रदेश सरकारले कन्जुस्याँई गरिरहेको छ ?

– स्थानीय सरकारको एकल अधिकारको सूचीमा रहेका कृषि, पशु, सहकारी, शिक्षा आदि विषयहरूमाथि पनि नियन्त्रण गर्नेगरी जसरी संरचनाहरू निर्माण गरिएको छ त्यसबाट नै धेरै कुरा प्रष्ट हुन सकिन्छ ।

० संघीयता मुलुकका लागि ठिक छैन यसले संकट उत्पन्न गराउँछ भन्ने जस्ता विषयवस्तु पनि अगाडि आउन थालेको छ, यस्तो विचारलाई कसरी हेर्नु हुनुहुन्छ ?

– संघीयता अहिलेको आवश्यकता हो । संघीयता चाहिन्छ । संघीयता खराब थियो वा हो भन्ने हिसाबाबाट जुन किसिमका क्रियाकलापहरू भइरहेका छन् त्यस्ता विषयहरू अन्त्य हुनुपर्दछ । संघीयतामा स्थानीय सरकारलाई मजबुत नबनाइकन संघीय र प्रदेश सरकार मजबुत हुन सक्दैन । आम जनताका मागहरू सम्बोधन गर्ने स्थानीय तहले हो । स्थानीय तह स्वतन्त्र भएर काम गर्न नसक्दासम्म यो व्यवस्था स्थापित हुन सक्दैन । अहिले संघीयताको विरूद्धमा भइरहेका क्रियाकलापहरू हाम्रो अनभिज्ञता र अकर्मण्यताको परिणाम पनि हुन सक्दछ । यो सबैले बुझ्न जरूरी छ । स्थानीय तह अहिलेसम्म सही तरिकाबाट कार्यसम्पादन गर्न सक्षम छैन भनेर प्रदेश र संघीय सरकारले भन्दै जाने हो भने यो व्यवस्थाप्रति आम जनताको रूचि घट्दै जाने निश्चित छ ।

० सिंहदरबार गाउँगाउँमा नारामा मात्र सिमीत भएको छ अहिलेसम्म ?

– नारा मात्र होइन यसलाई व्यवहारमा उतारिएको छ । सबै स्थानीय तहले आम जनताका आवश्यकता र उनीहरूका माग अनुरूप काम गरेका छन् । केही कमी कमजोरी भए त्यसलाई सुधार्न सकिन्छ ।

० प्रदेश सरकारलाई भन्दा बढी अधिकार स्थानीय सरकारलाई दिइएको छ, त्यही भएर पनि हो कि प्रदेशले आनाकानी गरिरहेको ?

– त्यो त संविधान व्यवस्था गरिसकेको छ । स्थानीय तह प्रत्यक्ष रूपमा जनतासँग जोडिएको छ । संघीय, प्रदेश र स्थानीय तहको काम के–के हुने भन्ने सम्बन्धी संविधानमा नै स्पष्ट व्यवस्था भइसकेको छ । त्यो विषयमा अहिले आएर अबुझ हुन जरूरी छैन । संविधानको अध्ययन गरी इमान्दारीपूर्वक काम गर्नुपर्दछ । कुनै आग्रह–पूर्वाग्रह नराखी काम गर्ने हो भने कुनै द्धिविधा छैन ।


० स्थानीय तहमा भ्रष्टाचार बढेको विभिन्न तथ्यांकहरूले देखाउँछ, तपाईको नगरपालिको अवस्था कस्तो छ ?

– हिजोको दिनमा स्थानीय तहमा जनप्रतिनिधिहरू थिएनन् अहिले ७५३ स्थानीय तहमा हामी निर्वाचित भएर आएका छौं । कहिकतै छिट्टपुटका घटनाहरू भएका होलान् तर देवदह नगरपालिकाका हामी निर्वाचित जनप्रतिनिधिहरू इमान्दारीताका साथ जनतासँग हिजो गरिएका प्रतिबद्धताहरू पुरा गर्ने र सुशासनलाई स्थापित गराउँदै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने अभियान लिएर अगाडि बढेको छ । अहिलेसम्म हामी सफल भएका छौं ।

० देवदह नगरपालिका भित्रका जनताको जनजीवन केमा आधारित त ? त्यहाँको सम्भावनाहरू के देख्नुहुन्छ ?

– पर्यटन, कृषि र जलस्रोत यहाँका मुख्य सम्भावनाहरू हुन् । पर्यटन र कृषिको यहाँ उच्च सम्भावना छ । शान्तिका अग्रदुत गौतम बुद्धको मावली स्थलको रूपमा र गौतम बुद्धलाई जन्म दिई पालन पोषण गर्ने, उनको धर्मपत्नीको पनि जन्मस्थलको रूपमा, मातृशक्तिको रूपमा स्थापित देवदह नगरपालिका पर्यटकीय महत्वको हिसाबले पुरात्तात्विक र ऐतिहासिक महत्व बोकेको छ । यहाँ भएका महत्वपूर्ण स्थलहरूमा पर्यटकको उच्च सम्भावना रहेको र त्यसलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारका लागि यहाँका पर्यटकीय पूर्वाधार विकासका लागि हामी अगाडि बढेका छौं ।

 

तपाईको प्रतिक्रिया