दिलीपको हत्या गर्ने तीनजना जेल चलान

समाचार

       

जनकपुरधाम, २ फागुन । धनुषाका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गर्ने आरोपी मध्येका तीनजना पूर्वपक्षका लागि जेल चलान भएका छन् ।

आरोपी तीनजना भने धरौटीमा रिहा भएका छन् । जिल्ला आदलत धनुषाको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । 

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यस्तो आदेश दिएको हो ।

हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया