ट्रम्पको स्वागतका लागि ‘केम छो ट्रम्प’

समाचार

       

नयाँ दिल्ली, २ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले भारतको भ्रमण गर्दैछन् ।


अमेरिकी राष्ट्रपतिको स्वागतका लागि भारतले भव्य तयारी गरिरहेको छ । ट्रम्प यही फेब्रुअरी २४ देखि २५ सम्म भारतमा हुनेछन् । यस दुईदिवसीय भ्रमणका क्रममा ट्रम्प भारतको अहमदावाद पनि जानेछन् ।
ट्रम्पको स्वागतका लागि ह्युस्टनमा ‘हाउडी मोदी’ जस्तै ‘केम छो ट्रम्प’ कार्यक्रमको आयोजना गरिने छ । गुजराती भाषाको ‘केम छो ट्रम्प’ नेपाली अर्थ ‘तपाई कस्तो हुनुहुन्छ ट्रम्प?’ भन्ने हुन्छ । यसै कार्यक्रमबाट ट्रम्पले भारतीय जनतालाई सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी पनि साथमै रहने जनाइएको छ ।


अहमदाबादमा राष्ट्रपति ट्रम्पको सवारी साधनको लावालस्कर जाने सडकमा पर्ने एक झोपड वस्तीलाई लुकाउन पर्खाल बनाउन लागिएपछि यसको विरोध भइरहेको छ । यो झोपड वस्ती विमानस्थलबाट साबरमती आश्रमको सडकमा पर्छ । स्थानीयहरु सरकारको यो पर्खाल बनाउने निर्णयसँग असन्तुष्ट छन् । अहिले सरकारी कदमको स्थानीयले विरोध गरिरहेका छन् ।मुख्य सडकको छेउमै रहेको झोपड वस्तीलाई लुकाउन ६ देखि ७ फिट अगलो पर्खाल बनाउन लागिएको छ ।


यो पर्खाल करिब ५०० मिटरको हुने बीबीसीले उल्लेख गरेको छ । यसै वस्तीमा करिब २ हजार ५ सय मानिसहरु बस्छन् । स्थानीयहरुले सरकारले गरिबी लुकाउन खोजेको भन्दै विरोध गरिरहेका छन् ।
गएको सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्र डोनल्ड ट्रम्पले ह्युस्टनम करिब ५० हजार भारतीय मुलका र अमेरिकी नागरिकलाई सम्बोधन गरेका थिए ।

अहमदाबादमा पनि यस्तै प्रकारको कार्यक्रम गर्न लागिएको छ । समाचार अनुसार मोदी र ट्रम्पले हालै मोटेरा क्षेत्रमा बनेको सरदार वल्लभ भाई क्रिकेट स्टेडियमको उद्घाटन पनि गर्नेछन् । एक अनुमानअनुसार यो क्रममा त्यहाँ करिब एक लाख मानिसहरु उपस्थित रहने छन् ।

 

तपाईको प्रतिक्रिया