प्रदेश २ मा पर्यटन संस्कृति

सम्पादकीय

    २०७६ साल फागुन १६ गते शुक्रबार   

नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रदेश २ मा पनि जारी छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक निम्त्याउने महत्वाकांक्षी योजनाका साथ नेपाल सरकारले यो अभियान प्रारम्भ गरेको हो । प्रदेश २ को कला, संस्कृति, सभ्यतालाई धार्मिक केन्द्रको हबको रूपमा विकास गर्न सकियो भने सम्पूर्ण नेपालको विकास गर्न सहज हुने अभिप्रायका साथ अभियानको सुरूवात गरिएको हो ।

प्रदेश २ मा सयौं धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यस्तो अभियानले यसलाई देशबाहिरका पर्यटकसँग जोड्न मद्दत पुग्नेछ । पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेशमा पर्यटन संस्कृतिको विकास गर्न नसकेकाले सोचे अनुरूप यसको फाइदा उठाउन नसकिएकै हो तर अब रामायण सर्किटको माध्यमबाट बर्सेनि हजारौं पर्यटक भित्रयाउनु आवश्यक छ ।

हिन्दू धर्मावलम्बीको प्रमुख धार्मिकस्थल रामायण, बुद्ध सर्किटजस्ता पुरातात्विक तथा ऐतिहासिक मौलिकता बोकेको स्थानलाई किटान गरी पर्यटन प्रवद्र्धनलाई बढाबा दिन सकिन्छ । पर्यटन करिडोर तोकेर र जनकपुरधाम, पशुपति, मुक्तिनाथ, मनकामनाजस्ता धार्मिक महत्वका स्थललाई जोडेर भारतलगायत विश्वका हिन्दूलाई यहाँ ल्याउन सकिए देशको आर्थिक विकासको मुहान फुटाउनु सकिन्छ ।

तर यसका साथै सफा, सुन्दर, स्वच्छ वातावरण आवश्यक हुनुपर्छ । पर्यटक आउँदा यहाँको फोहोर र दुर्गन्धले भाग्नु नपरोस् भन्ने अवस्थाको सृजना गरिनुपर्छ । यसका साथै जनकपुर मिथिला र मैथिली संस्कृति र सभ्यता प्राचीनकालदेखि नै अग्रणी स्थानमा रहेकाले मिथिलाको गौरव गाथा उजागर गर्ने दायित्व यहाँको सरकारको रहेको छ ।

धार्मिक, सांस्कृति र पर्यटकले परिचित रहेको प्रदेश २ पनि सरकारको प्राथमिकतामै पर्छन् । तर, भ्रमण वर्ष सुरू भएको दुई महिना बितिसक्दा पनि प्रदेश २ मा यसको कुनै सुरसार देखिएको छैनन् । पर्यटकको मुख्य आकर्षण केन्द्र मध्ये एक रहेको जनकपुरसहित प्रदेश २ मा भने भ्रमण वर्ष चहलपहल शून्य छ । अन्य पर्यटकीय ठाउँमा भ्रमण वर्षको प्रचारप्रसार पनि भएको छैन ।

सरकारले लक्ष्य लिनु राम्रो हो । तर आवश्यक पूर्वधार पनि बनाउँदै जान आवश्यक छ । हवाईजहाजबाहेक सडकमार्गबाट पनि धेरै पर्यटक प्रदेश २ मा भित्र्याउनसकिन्छ । तर भारतीय ल्याउन पनि प्रदेश २ सँग जोडिएका सडकको अवस्था नाजुक छ । पूर्वाधारको चुनौती एकातिर छँदै छ भने अर्काेतिर जनशक्तिको गुणस्तर र दक्ष जनशक्तिको अभाव पनि देखिन्छ । होटललगायत पर्यटनका अन्य क्षेत्रमा आवश्यक जनशक्तिको अभाव छ । पर्यटकलाई दिने सेवा तथा सुविधा र सेवाहरू पनि उपलब्ध नहुँदा त्यसले झन् नराम्रो असर पार्छ ।

प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिनु जरूरी छ । अनि मात्र नेपाल भ्रमण वर्ष सफल हुन सक्छ । प्रदेश २ अन्य धार्मिक तथा सांस्कृतिक धरोहरहरूको प्रचार प्रसारमा ध्यान दिएको छैन । रामायण सर्किट बनाउने घोषणा भइसकेको छ तर त्यहाँका धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रचारमा सरकार अहिलेसम्म चुकिरहेकै छ । विगतमा मधेशलाई सरकारले थिचोमिचोमा पा¥यो, विभेद ग¥यो, अधिकार दिएन लगायतका कुराहरू यथार्थ हो तर, अहिले त शासन सत्ता त्यहींका जनप्रतिनिधिको हातमा छ । सांस्कृतिक धरोहरहरूको प्रचार प्रसार भइरहेको देखिँदैन ।

तपाईको प्रतिक्रिया