भारतमा दुई नेपाली नाटक

कला/संस्कृति

       

काठमाडौं, १६ फागुन । भारतको नयाँ दिल्ली तथा सिलोङमा सम्पन्न भारत रंग महोत्सव थिएटर फेस्टिभल–२०२० मा दुई नेपाली नाटक ‘कुमारी एन्ड द बिस्ट’ तथा ‘महाभोज’ मञ्चन भएका छन् ।

‘कुमारी एन्ड द बिस्ट’ काठमाडौंको सुशीला आर्ट्स एकेडमीले मञ्चन गरेको हो भने ‘महाभोज’ काठमाडौंकै मण्डला थिएटरले मञ्चन गरेको हो ।

नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा आयोजना भएको नाटक महोत्सवमा नेपालसहित विभिन्न देशका १० वटा नाटक प्रदर्शन भएका थिए ।

‘कुमारी एन्ड द बिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो । यो नाटक जीवित देवी कुमारी तथा कुमारी प्रथासँग सम्बन्धित छ । ‘कुमारी एन्ड द बिस्ट’ नाटक ‘नेपाली अध्यात्म जगतको इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारित छ ।

उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् । यो नाटकको लेखन तथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन् ।

उक्त नाटकमा अभिनय गर्न सुशीला आर्ट्स एकेडेमीका कलाकार दिल्ली तथा सिलोङ पुगेका थिए । ‘महाभोज’ नाटक यसअघि मण्डला थिएटरले काठमाडौंमा मञ्चन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया