व्यावहारिक र सैद्धान्तिक तालमेल मिलाउन समस्या : हरि कुमार राना

मेयर, अर्जुनधारा नगरपालिका, झापा

स्थानीय सम्वाद्

    २०७६ साल फागुन २३ गते शुक्रबार   

० जनप्रतिनिधिको रूपमा काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?

— लामो समयसम्म मुलुकमा सामन्तवादीको चंगुलमा राज्यसत्ता रह्यो । जनताको अदम्य साहस र ठूलो बलिदानीपश्चात् त्यो राज्यसत्ताको अन्त्य र लामोसम्म संक्रमणकालसम्म देश गुज्रियो । त्यसले गर्दा नेपाली जनजीवन र राष्ट्रिय अर्थतन्त्रमा प्रतिकूल असर पर्नु र स्वाभाविकरूपले जनजीवन पछाडि पर्नु परेको थियो । लामो संघर्षपछि वि.सं. २०७२ सालमा जारी भएको संविधानले जनताको हकहित र शहीदहरूको रगतसँग साटिएको दस्तावेजहरूलाई कार्यान्वयनका निम्ति २०७४ सालबाट नेपालमा तीन तहको सरकार आएको हो । त्यसबाट नेपालका हरेक पालिकाहरूले दुईटा पूर्ण बजेटहरू पूर्णरूपमा चलाएको छ ।

० जनप्रतिनिधिको रूपमा निर्वाचित भएदेखि जनताले महसुस गर्ने केकस्ता कामहरू गर्नुभयो त ?

— हामी निर्वाचित भएर आइसकसेपछि यस नगरपालिकामा करिब–करिब आवात–जावत सहज बनाउनका लागि करिब ८३ वटा पुल बनाएका छौं । हाम्रा छिमेकी पालिकाहरूसँग पनि मिलेर पुल निर्माण गरेका छौं । हामीलाई आवागमनका निम्ति पुलपुलेसा र बाटाघाटाको सबभन्दा ठूलो समस्या थियो । यसको अतिरिक्त बाटाहरूमा ग्रेभेलिङ्ग गर्ने, विद्यालयहरूको समुचित व्यवस्थापन गर्दै शिक्षालाई गुणस्तरीय बनाउने र अर्जुनधारा नगरपालिका कृषिमा आधारित भएकोले कृषि पेशाप्रति पनि विश्वास र आस्था जगाउनका निम्ति कृषि क्षेत्रमा उल्लेख कामहरू गरेका छौं । कृषि क्षेत्रमा अनुदान दिने, कृषि सामग्रीहरू दिने, पशु पकेट, कृषि पकेट सामूहिक रूपमा दुध उत्पादनको दिशामा लाने प्रयासहरू गरेका छौं । उत्पादित दुधहरूलाई विधिकरण गर्नका लागि नगरपालिकामै रहेको दुग्ध सहकारी संस्थालाई सुपथ मूल्यमा उपलब्ध गराउने काममा पनि उल्लेख्य काम गरेका छौं ।

० पर्यटनको क्षेत्रमा अर्जुनधारामा सम्भाव्यताहरू के–के छन् ?

— पर्यटनको हिसावले अर्जुनधारा जलेश्वरधाम जो सनातन हिन्दू धर्म मान्ने जनताहरूको अन्तस्करण आस्थाको केन्द्र हो । त्यस्तै, झापा जिल्लाकै जेठा गुम्बा वडा नं. १० को कालिस्थान भन्ने ठाउँमा पर्छ । त्यो बौद्धमार्गीहरूको अन्तस्करणको आस्थाको केन्द्र हो । त्यसैगरी सोह्रौं विभूति फाल्गुनन्द महाविभूतिको फाल्गुनन्द बाटिका रहेको छ । अर्जुनधारा साबिक सनातन धर्मका लागि मौलिक धर्महरूका लागि महत्वपूर्ण रहेकाले त्यसलाई संरक्षण प्रवद्र्धन गर्दै जाने योजनाका साथ हामी बढेका छौं । नेपाल भ्रमण वर्षलाई प्रबद्र्धनका लागि वडा–वडासम्म चेतना प्रवद्र्धन गरेर प्रचार प्रसार गर्न विभिन्न कार्यहरू अगाडि बढाएका छौं ।

० अर्जुधाराको ऐतिहासिक पृष्ठभूमि के छ ?

— अर्जुनधाराको महाभारतकालीन ऐतिहासिक कुराहरू छन् । महाभारत कालमा अर्जुनले वाण हानेर धारा निस्किएको भन्ने ऐतिहासिक पृष्ठभूमि रहेको छ । हाम्रै नगरपालिकामा हात्तिकिल्ला, शंकराचार्य पीठ, झापाको सबभन्दा अग्लो ठाउँ सहकालेमा शिवगंगाको झरनालाई व्यवस्थित गरेर लानुपर्छ भन्ने योजनाहरू बनाउँदै बढेका छौं । हाम्रै पालामा सबै सम्पन्न हुन्छ भन्ने हामीलाई लाग्दैन तर हामीले गर्नुपर्ने कामहरूको योजनाबद्ध तरिकाले बनाएर गयौं भने आउने दिनमा उदाहरणीय बन्न सक्छ ।

० तपाइँ जनप्रतिनिधिको रूपमा काम गरिरहँदा जनता कतिको सन्तुष्ट छन् ?

—म काम गर्ने मान्छे, म आफै पनि अहिलेसम्म सन्तुष्ट हुन सकेको छैन । हाम्रो नगरपालिकामा बिर्तामोडदेखि शनिश्चरे हुँदै बुद्धशान्तिसम्म करिब साढे १२ किलोमिटरको बाटो छ । यसलाई स्टाटेजिक रोड नेटवर्क जो मेची र महेन्द्र राजमार्ग जोड्ने लिंक रोड हो । हामी निर्वाचित भइसकेपछि यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यो ठूलो राजमार्ग हो, हाम्रो स्रोतले भ्याउँदैन । जबसम्म जनता सन्तुष्ट हुँदैन तबसम्म जनताले पनि सन्तुष्टि महसुस गर्दैन । लामो समयदेखि अस्तव्यस्त भएको हाम्रो देशको अवस्था आजको भोली नै समाधान हुन्छ भन्ने कुरा हुँदैन । दीगो विकासका निम्ति स्पष्ट नीतिको आवश्यकता हुन्छ । त्यसलाई कार्यान्वयनका निम्ति जनशक्तिको आवश्यकता हुन्छ ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा नारा लगाइएको थियो, यो नारा कतिको महसुस गराउनुभयो ?

— सिंहदरबार गाउँ–गाउँमा भन्ने कुरा नारामा मात्रै हो । यसलाई कार्यान्वयन गर्न धेरै प्राविधिक समस्याहरू देखा परेका छन् । संघीय सरकारका धेरै मन्त्रालयहरूका शाखाहरू हाम्रोमा आउने कुरा संविधान छ, तर हाम्रो कार्यकाल सिद्धिन लागेको छ तर अहिलेसम्म सञ्चालन गर्ने कार्यविधि हामीलाई हस्तान्तरण भएको छैन । हाम्रो गाउँ हो, भूमिसम्बन्धी समस्याहरू आइरहेका छन् । हामीलाई आवश्यक जनशक्ति अहिलेसम्म हामीलाई व्यवस्थापन हुन सकेको छैन । कार्यालय सहायकभन्दा अरू राख्ने अवस्था छैन । त्यसले गर्दा नारा राम्रो हो तर यो केवल नाराको रूपमा अहिलेसम्म देखिएको छ । यसले व्यावहारिक र सैद्धान्तिक तालमेल मिलाउन सकिएको छैन । तर यो संक्रमणकालको कारणले पनि हुन सक्छ । राजनीतिक संक्रमण छिटो बिग्रिन्छ र सप्रिन्छ तर सांगठनिक र प्रशासनिक संक्रमण ढिलो बिग्रिन्छ र ढिलै सप्रिन्छ ।

० भनेपछि सिंहदरबार गाउँमा भन्ने कुरा अहिलेसम्म नारामै सीमित छ ?

— अर्थतन्त्रको हिसावले आएको छ । कानूनरूपबाट पाउने कतिपय अख्तियारीको हिसावले प्राप्त हुनसकेको छैन । हिजोको तुलनामा स्रोतहरू अत्यन्त आएका छन् । तर स्रोतहरू मात्रै आउनु सबै कुरो होइन । संविधानमा भनेअनुसार स्रोत मात्रै आएर त हुँदैन । त्यसलाई कार्यान्वयन गर्नका निम्ति हामीलाई चाहिने जनशक्तिहरू पनि व्यस्थित हुनुपर्छ ।

तपाईको प्रतिक्रिया