कोरोना रोकथाममा नेपाल–भारत सहकार्य

सम्पादकीय

    २०७६ साल फागुन ३० गते शुक्रबार   

छिमेकी मुलुक चीनमा जसरी खतरनाक भाइरस (कोरोना) को प्रकोपमा आएको छ, त्यो भाइरसले चार हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ भने लाखौं यो भाइरसबाट संक्रमित भइसकेका छन् ।

कोरोना भाइरस अति नै खतरनाक र यसले ज्यान पनि जान सक्छ । सबै भन्दा महत्वपूर्ण कुरा के हो भने कोरोना भाइरस र रोगको अहिलेसम्म कुनै उपचार अथवा भ्याक्सिन पत्ता लागेको छैन । यस्तो अवस्थामा यदि कोहि व्यक्ति यो भाइरसको चपेटामा आयो भने त्यो व्यक्तिको उपचार हुन सक्दैन । त्यसैले यो खतरनाक भाइरसबाट बच्ने केवल एउटै तरिका भनेको सुरक्षा अपनाउनु हो ।

चीनमा फैलिएको खतरनाक कोरोना भाइरस झन्–झन् खतरनाक हुँदै गएको छ र यो फैलने क्रम जारी नै छ । कोरोना भाइरस अब चीनबाट नेपाल, भारत, सिंगापुर, मलेशिया, युरोप र अमेरिकासम्म पुगिसकेको छ । कोरोना भाइरस भएको मानिस नेपाल नभित्रिन भनेर नेपालसँग जोडिएको भारत र चीनका नाकाहरूमा र त्रिभुवन विमानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । यसै सन्दर्भमा सरकारले कोरोनाभाइरसको संक्रमण नेपाल भित्रिन नदिन नेपाल–भारतका ३७ सीमा नाकामा चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले नेपाल र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली पठाएर चेकजाँच गर्ने जनाएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतका अधिकारीबीच सहकार्य सुरू भएको छ । पशुपतिनगर, झापा, विराटनगर, वीरगञ्ज, भैरहवा, जमुनाह, धनगढीजस्ता व्यस्त नाकाबाट ठूलो संख्यामा नेपाली र भारतीयको आवतजावत हुने भएकाले यी क्षेत्रमा विशेष निगरानी गर्नुपर्ने आवश्यकता दुबै मुलुकका अधिकारीले महसुस गरेका छन् ।

कोरोनाको सीमारहित प्रकोप नियन्त्रणमा विश्वकै साझा पहल आवश्यकता महसुस गरिएका बेला नेपाल–भारतजस्ता खुला सिमाना, जनस्तरको व्यापक अन्तरक्रिया हुने देश, जहाँका सीमावर्ती जनताको दैनिकी सीमा वारपारमा चल्छ, त्यहाँ विशेष उच्च सतर्कता अपनाउनु जरूरी भइसकेको छ ।
नेपालका अधिकारीले नेपाल–भारत सीमाक्षेत्रबाट हुने प्रवेशमा कडाइ गर्न थालेलगतै भारतका अधिकारीले पनि कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपालसँगको सहकार्यमा जोड दिएका छन् ।
कोरोना संक्रमणको नेपाल–भारत मिलेर सामना गर्नुपर्ने आवश्यकता मात्र छैन, बाध्यता पनि छ । दुबै देशका नागरिकबीच हुने दैनिक अन्तरक्रिया र समान हावापानीका कारण पनि नेपाल र भारतको साझा पहलको पुनर्पुष्टि गर्छ । सीमामा गरिने स्वास्थ्य परीक्षणका अतिरिक्त वर्तमान संक्रमणविरूद्ध नेपाल भारतबीच दैनिक खाद्यान्नदेखि विभिन्न अत्यावश्यकीय बस्तुको आयात निर्यातलाई पनि व्यवस्थित गर्नुपर्ने देखिएको छ ।

यसअघि नेपालमा भएका प्राकृतिक प्रकोपमा भारतले गरेको सहयोगलाई नेपालीले उच्च सम्मानका साथ संस्मरण गरेका छन् । वर्तमान संकटमा पनि नेपाल–भारतको सहकार्यले दुबै देशमा कोराना संक्रमण नियन्त्रण गर्दै आपसी मित्रताको सन्देश दिन सकिने चुनौती र अवसर आएको छ । तसर्थ, नेपाल र भारतका अधिकारीहरूले कोरोना नियन्त्रणका लागि संयुक्त रूपमा प्रभावकारी कदम अपनाएर एक अर्कोलाई सहयोग गर्नु वाञ्छिनिय छ । यसका लागि दुवै देशले प्रत्येक नाकाहरूमा स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गरेर एक अर्कोलाई सहयोगको वातावरण बनाउनु पर्छ । कोरोनाको संक्रमण नेपाल वा भारतमा प¥यो भने त्यसबाट कुनै एक देश मात्र होइन दुबै देशलाई संक्रमित बनाउन सक्छ । त्यसैले यसका लागि उच्च तहको सहकार्य आवश्यक छ ।

तपाईको प्रतिक्रिया