कम्युनिष्ट विचारधाराअनुसार नेतृत्वमा आचरण छैन : मेटमणि चौधरी

सांसद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

अन्तर्वार्ता

    २०७६ साल फागुन ३० गते शुक्रबार   

० नेकपा भित्रको विवाद बारम्बार सतहमा आउने गरेको छ, किन ?

— कुनै पनि राजनीतिक दल अगाडि बढ्ने क्रममा छलफल, बहस र विवाद हुनु स्वाभाविक हो । अहिले पार्टीको आन्तरिक द्वन्द्व सतहमा देखिएको छ तर द्वन्द्व भनेको विकासका लागि अनिवार्य चीज हो । नेकपाको केन्द्रीय सचिवालयले कुनै निर्णय गरिसकेपछि त्यो विषयमा विवाद खडा गर्नु निकै दुःखद् कुरा हो । सचिवालयको निर्णयलाई मानेर जानुको कुनै विकल्प छैन, चाहे त्यो प्रधानमन्त्री होस् वा अध्यक्ष अथवा जोसुकै होस् । वामदेव गौतम नै राष्ट्रियसभाको सदस्य बन्नुहुनेछ ।

० त्यसोभए, नेकपा सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्ने बाध्यता छ ?

— प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालयको निर्णय मान्नुपर्ने बाध्यता हो नै । हाम्रो टाउको गनेर उहाँ प्रधानमन्त्री हुने, तर निर्णय नमान्ने ? यदि कम्युनिष्ट पार्टी नभएको भए उहाँ प्रधानमन्त्री बन्न सक्ने सम्भावै थिएन । त्यसले गर्दा सचिवालयको निर्णय मान्नुको विकल्प छैन । कि त नैतिकता छ भने उहाँले राजीनामा दिनुप¥यो । त्यसकारणले कुनै पनि हालतमा उहाँले सचिवालयको निर्णय मान्नै पर्ने हुन्छ । कि त पार्टी छोडेर जानु प¥यो, अर्को पार्टी बनाउनुपर्‍यो। बहुमतले गरेको निर्णय मान्नुको विकल्प छैन । यदि मानिएन भने पार्टी र संगठन ध्वस्त हुन्छ ।

० नेकपाभित्रको विवादले विभाजनको रेखा कोरिरहेको हो ?

— यो विवाद टुंगिएन भने पार्टी त विभाजन हुँदैन तर प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । अहिले प्रधानमन्त्री केपी कमरेड अल्पमतमा हुनुहुन्छ । त्यसले गर्दा पार्टीले जे निर्णय गर्छ त्यो नै मान्ने हो । उहाँ पार्टीका सर्वस्व त होइन नि । त्यसकारणले सचिवलयको निर्णय उहाँले मान्नु भएन भने पार्टीले उहाँलाई कारबाही गर्छ ।

० वामदेव गौतमलाई नै राष्ट्रियसभामा ल्याउनुपर्ने त्यस्तो के अपरिहार्यता आइपर्‍यो त ?

— नयाँ अनुहारलाई पनि ल्याउँदा राम्रो हुन्छ । तर पनि व्यक्तिभन्दा पनि पार्टीले के निर्णय गरेको छ, कसको बारेमा र कुन विषयमा निर्णय गरेको हो त्यो महत्वपूर्ण कुरा हो । वामदेव बाहेक अरू कोही पनि हुन सक्थ्यो तर यतिबेला नेकपा सचिवालयले वामदेवलाई ल्याउने निर्णय गरेको छ । त्यसकारणले वामदेवलाई नै माथ्थिलो सदनमा लैजानुपर्छ ।

० तर वामदेव गौतम त जनताबाट पराजित भइसकेका नेता हुन् नि ?

— वामदेव गौतम भनेको कम्युनिष्ट आन्दोलनको एउटा खम्बा हो । प्रतिनिधिसभामा विभिन्न कारणले उहाँ जित्न सक्नुभएन । तर, उहाँ राष्ट्रलाई आवश्यक भएको व्यक्ति हुनुहुन्छ । त्यसैले पार्टीले उहाँको आवश्यक्त महसुस गरेर नै राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो । यसकारण राष्ट्रका लागि आवश्यक पर्ने व्यक्ति वामदेव भएकोले उहाँलाई राष्ट्रियसभामा पठाउने निर्णय भएको हो । देशको प्रधानमन्त्री हुनसक्ने योग्यता र क्षमता वामदेव गौतमसँग छ । उहाँले पटक–पटक भनिरहनुभएको छ कि यदि म प्रधानमन्त्री भएँ भने दश वर्षमा नेपाललाई चीनको अवस्थामा ल्याउने छु । त्यसैले उहाँले प्रधानमन्त्री बन्ने आकांक्षा देखाउनुभएको छ । यसलाई सामान्यरूपमा नै लिनुपर्छ । उहाँ प्रधानमन्त्री हुने कि नहुने कुरा परिस्थितिले बताउँछ । वामदेव गौतमकै लागि संविधान संशोधन गर्ने कुरा बेठिक हो । त्यसैले एउटा व्यक्तिलाई देखाएर संविधान संशोधन गर्ने कुरा बेठिक तर समयको माग र आवश्यकता महसुस भयो भने संविधान संशोधन हुनसक्छ ।

० डा. युवराज खतिवडालाई जुन अपेक्षाका साथ अर्थमन्त्री बनाइएको थियो, त्यसमा कति सफल भएको मान्नुहुन्छ ?

— डा.युवराज खतिवडाबाट जुन अपेक्षा गरिएको थियो, त्योअनुसारको प्रतिफल दिन सक्नुभएको छैन । कम्युनिष्ट पार्टीको सरकार बनेको दुई वर्ष पूरा भइसकेको छ, यो अवधिमा जनताले कम्युनिष्टको सरकार बनेको महसुस गर्न पाएनन् । युवराज खतिवडा अर्थशास्त्र पढ्नुभयो, थियोरोटिकल इकोनोमी बुझ्नुभो तर व्यावहारिकरूपमा गरीब जनताका कुरा सम्बोधन गर्न सक्ने क्षमता देखाउन सक्नुभएन । त्यसैले जुन उद्देश्यका साथ उहाँलाई ल्याइएको थियो त्यसमा उहाँ खरोरूपले उभिन सक्नुभएन । सिद्धान्तका कुरा मात्रै गर्ने, व्यवहार नबुझ्ने व्यक्तिलाई अर्थमन्त्रीमा पुनः निरन्तरता दिनुको कुनै आवश्यकता नै थिएन ।

० कम्युनिष्ट पार्टीको दुई तिहाइ नजिकको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकिरहेको छैन त ?

— विगतको तुलनामा यो सरकारले धेरै महत्वपूर्ण कामहरू गरेको छ । हामीबाट धेरै अपेक्षा गरिएको छ । जो नेतृत्वमा छन्, उसको आचरणमा सुधार हुन सकेको छैन । जस्तै, प्रधानमन्त्री एउटा गुटको मात्रै नेता जस्तो देखिनुभएको छ । त्यस्तै, मन्त्रीहरू पनि गुट चलाउनमै व्यस्त छन्, भ्रष्टाचार गर्ने, पैसा मात्र कमाउन लाग्ने जस्ता कुराहरूले गर्दा यस्तो बहुमतको सरकार हुँदा पनि जनताले अनुभूति गर्न पाएका छैनन् । यस्ता मनोविज्ञानलाई हामीले समयमै सुधार गर्न आवश्यक छ । कम्युनिष्ट आचरण र सिद्धान्तले के भन्छ, त्यो आचरण पूरा गर्नका लागि हाम्रो बानी व्यहोरा कस्तो हुनुपर्छ, सबै सुधार गर्न सक्यौं भने हामी ठिक ठाउँमा पुग्न सक्छौं । त्यसैले हाम्रा, मनोविज्ञान, दृष्टिकोण सफा नभएकोले अथवा हामीले आफूलाई कम्युनिष्ट विधारधाराअनुसार आचरण आत्मसात गर्न नसकेको कारणले थुप्रै काण्डहरू बाहिर आइरहेका छन् ।

० नेकपा–राजपाबीच आगामी दिनमा पनि सहकार्य हुने भनिएको थियो, यसमा के भइरहेको छ ?

— हाम्रो लक्ष्य थियो नेपाली कांग्रेसलाई शून्य बनाउने, त्यसमा हामी सफल भयौं । त्यसपछि राजपालाई समेत सरकारमा सहभागी गराउने र सम्भावित विद्रोहलाई समाप्त गर्ने । अब हामी राजपालाई उपसभामुख र दुई÷तीनटा मन्त्रालय दिएर सरकारमा ल्याउँछौं । त्यो हुने बित्तिकै यो सरकार केवल कम्युनिष्टको मात्रै होइन, कम्युनिष्ट बाहेकको पनि सरकार हो अथवा सबैको सरकार हो त्यो किसिमको हामीले सन्देश दिनुपर्छ । त्यसका लागि गत राष्ट्रियसभाको चुनावमा राजपासँग गठबन्धन भएको थियो । त्यसकारणले केवल सरकार बनाउने, चुनाव जित्ने, कांग्रेसलाई हराउने मात्र होइन लामो समयसम्म सबै राजनीतिक दलहरूलाई राष्ट्रको मूलधारमा समेट्ने अभियानका साथ चुनावी एकता भएको थियो । तर, राजनीतिमा स्थायी शत्रु पनि हुँदैन, स्थायी मित्र पनि हुँदैन ।

० भनेपछि राजपालाई पनि सरकारमा ल्याउने गृहकार्य हुँदैछ ?

— राजपा सरकारमा आउँछ । उहाँहरूले उपसभामुख पनि पाउनुहुन्छ, सहमतिमा दुईटा मन्त्रालयको नेतृत्व गर्नुहुन्छ ।

० तर नेकपाले उपसभामुख कांग्रेसलाई दिने सुनिन्छ ?

— हैन, कांग्रेसले उपसभामुख पाउँदैन । कांग्रेसले पनि दावी गर्न सक्छ तर चुनावी सहकार्य र सरकारमा सहभागी हुने कुरा राजपासँग भइरहेकोले उपसभामुख राजपाले पाउँछ । त्यसैले राजपालाई उपसभामुख र दुई÷तीनटा मन्त्रालय दिएर सरकारमा ल्याइने गृहकार्य भइरहेको छ ।

० तर, सांसद रेशमलाल चौधरीको रिहाइ, राजबन्दीहरूको मुद्दा फिर्ता तथा रिहाइ र संविधान संशोधनको प्रक्रिया सुरू नभएसम्म राजपा सरकारमा जान्छ त ?

— सांसद रेशमलाल चौधरीको विषय अदालतको कुरा हो । रेशमलाल चौधरीकै कारण टीकापुर घटना भयो कि भएन, यसमा अदालतले निर्णय गर्ने कुरा हो । तर यसभन्दा अगाडि पनि थुप्रै घटनाहरू भएका छन्, ती सबैलाई राजनीतिक रूपमा सम्बोधन गरिएको हो । त्यसबाट घटनामा संलग्न व्यक्तिहरू उन्मुक्ति पाएको इतिहास पनि छ । त्यसैले रेशमलाल चौधरीलाई राजनीतिकरूपमा सम्बोधन गर्न सकियो भने यसको निराकरण हुनसक्छ । रेशमलाल चौधरी मात्रै होइन, अनावश्यकरूपमा फसाइएका अन्य व्यक्तिहरूलाई पुनः विचार गरेर सरकार अगाडि जान सक्छ । सम्भवतः रेशमलाल चौधरीको बारेमा सरकार सकारात्मक छ । उहाँ छुट्न सक्नु हुन्छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया