सेनालाई सामान खरिद–बिक्रीमा लगाइयो भने नागरिक शासनमा प्रश्न उठ्छ (विशेष अन्तर्वार्ता)

अन्तर्वार्ता

       

शरत्सिंह भण्डारी, राजपा नेपाल अध्यक्षमण्डलका संयोजक

० कोरोना संक्रमण रोकथामका लागि संघीय सरकारको कार्यशैलीलाई राजपाले कसरी लिएको छ ?

— कोरोना संक्रमण रोकथामको सन्दर्भमा संघीय सरकारले गर्दै आएको कामकारबाही बारे राजपा नेपालले बेलाबेलामा आफ्नो प्रतिक्रिया दिँदै आएको छ । ढिलै भएपनि सरकारले लकडाउनको घोषणा ग¥यो । लकडाउनलाई प्रभावकारी बनाउनका लागि गर्नुपर्ने तयारीहरु सरकारले गर्न सकेको छैन । लकडाउन प्रभावकारी बनाउन तीन वटा पक्षहरु छन् । कोरोना संक्रमण सम्भावना भएका ठाउँहरुमा जाँच सेन्टर हुनुपर्छ । अहिलेसम्म जसलाई शंका लागेको छ वा जो आफै आउँछन् जाँच गराउन त्यस्ताहरुको मात्रै परीक्षण भएको छ । तर आम जनताको परीक्षण अहिलेसम्म पनि भएको छैन । परीक्षणका जुन सामग्रीहरु आए, त्यसमा जसरी भ्रष्टाचारका कुराहरु आयो, राजपा नेपालले आपत्ति जनाएको छ । यो अत्यन्तै दुःखलाग्दो कुरा हो । यस्तो समयमा जनताका स्वास्थ्यसँग खेलवाड गर्न लागेका जोसुकै हुन्, देशद्रोही हुन् । त्यसतर्फ पनि सरकारको ध्यान पुगेको छैन ।

यस्तो लामो लकडाउनको अवस्थामा के–के कुरामा असर गरेको छ, त्यसमा सरकारको ध्यान गएको छैन । कुन–कुन क्षेत्रमा के प्रभाव परेको छ भन्ने कुराको कुनै समीक्षा छैन । नेपाल विपन्न मुलुक हो, यहाँ रोजगारको कुनै ठेगान नै छैन । दैनिक ज्यालादारी गर्नेहरुलाई कमसेकम घर–घरसम्म राहत सामग्री पु¥याउने काम गर्नुपर्ने थियो । हामीले बारम्बार यो कुरा उठाएका छौं । अहिलेको अवस्थामा तीनै तहको सरकारले ‘वनडोर पोलिसी’ बनाउनेपर्ने थियो । वनडोर पोलिसी भनेको वार्ड इकाईलाई नै मान्नुपर्दछ । वार्डमा सर्वदलीय इकाई बनाएर काम गर्नुपर्दथ्यो । विदेशबाट कोही आउँदा वडाअध्यक्षलाई थाहा हुनपर्छ र त्यसरी नै परीक्षण गर्नुपर्ने थियो । अर्को राहत दिने कुरामा पनि विपन्न र दैनिक ज्यालादारी गर्नेहरुको पहिचान पनि त्यो वडा कमिटीले गर्दछ । त्यो वडा कमिटीले अत्यावश्यक वस्तुहरु आपूर्ति गर्नुपर्दथ्यो ।

अर्को कुरा, जसरी कोरोना महामारीसँग दिनरात योद्धाको रुपमा लडिरहेका छन्, हाम्रा स्वास्थ्यकर्मी, स्वयमसेविकाहरुका लागि चाहिने आवश्यक सामग्रीहरु पनि सरकारले पु¥याउन सकेको छैन । यसमा कमजोरी भएकै हो । यस्तो महामारीको बेलामा कोरोनासँग लड्नका लागि सम्पूर्ण सरकार र जनता एक ठाउँमा उभिनैपर्छ । यस्तो बेलामा हामीले आग्रह÷पूर्वाग्रह वा पक्ष÷विपक्षको रुपमा उभिनु हुँदैन । त्यसकारणले, अहिलेको अवस्थामा राजपा नेपालले सरकारले घोषणा गरेको लकडाउनलाई सफल पार्नका निम्ति सारा नेपाली एकजुट होऊन् भन्ने चाहेको छ ।

० भनेपछि, कोरोनाविरुद्धको लडाइँमा सरकारको कामकारबाही सन्तोषजनक छैन ?

— निश्चितरुपमा सरकारको जुन किसिमको तयारी हुनुपर्ने थियो, त्यो भइरहेको छैन । यसको एउटै कारण हो कि सबैलाई साथ लिएर सरकार अगाडि बढ्न चाहेको छैन । स्वास्थ्य सामग्री खरिद विषयमा जसरी भ्रष्टाचार भएको छ, त्यसमा सरकारकै व्यक्तिहरुका आफन्तहरुको नाम आइरहेका छन्, यो अत्यन्तै लाजमर्दो कुरा हो । यसमा हामीले सरकारको गम्भीर ध्यनाकर्षण पनि गराएका छौं ।

० कोरोनाको उच्च जोखिममा हाम्रो देश रहेको छ, तर पनि सरकार गम्भीररुपमा नलाग्नुको कारण के देख्नुहुन्छ ?

— सरकार गम्भीररुपमा नलाग्नुको एउटै कारण हो कि क्षमताको कमी छ । सरकारको जसले नेतृत्व गरिरहेका छन्, उनीहरुको अनुभव, क्षमता र गम्भीरताको ठूलो कमी देखिरहेको छु । सबभन्दा महत्वपूर्ण कुरा, यो सरकारसँग जोडिएको कुरा पनि होइन । संसारका कुनै पनि मुलुक यसबाट अछुतो छैन । सबभन्दा शक्तिशाली राष्ट्रहरुले पनि यसबाट आफूलाई जोगाउन सकिरहेको छैन । यसअर्थमा हामी नेपाली धेरै भाग्यमानी छौं । लकडाउन त सरकारले घोषणा ग¥यो तर, त्यसलाई प्रभावकारी बनाउन यसबाट असर परिरहेकाहरुलाई राहत पु¥याउन अझै पनि सरकार अन्योलमै छ । यसले गर्दा अल्पकाल र दीर्घकालीन असर पर्छ । दिनहुँ काम गरेर खाने गरिबी रेखामुनीका मनिसहरुलाई सरकारले हेर्नुपर्ने आवश्यकता छ । किसानहरुको हकमा पनि सरकारले व्यवस्था गरेको छैन । कालोबजारीलाई नियन्त्रण गर्नुपर्ने, समयमै अत्यावश्यक वस्तुहरु पु¥याउनुपर्ने लगायतमा जसरी रातारात सरकारले काम गर्नुपर्ने थियो, त्यसमा सरकार चुकेकै हो । महत्वपूर्ण कुरा के हो भने, अहिलेसम्म यति जना मात्रै, उति जना मात्रै संक्रमित भनेर आइरहेका छन्, तर अहिलेसम्म परीक्षण पनि हुन सकेको छैन । अहिलेसम्म १०००–१५०० भन्दा बढीको परीक्षण गर्न सकेको छैन ।

हजारौं नेपालीहरु बाहिरबाट आइरहेका छन् । नेपालीहरु आफ्नो घर आउँछु भन्दा पनि त्यसलाई सरकारले व्यवस्थापन गर्न सकेको छैन । संसारका मानिसहरु यहाँबाट गइरहेका छन्, तर हाम्रा मान्छेहरु सीमामा आएर बस्नुपरेको छ । योभन्दा नालायकीपन के हुनसक्छ ? समग्रमा भन्नुपर्दा यो सरकार कोरोनाको चुनौतीप्रति गम्भीर हुन सकेको छैन । सरकार गम्भीर छैन भनेर सरकारलाई गाली मात्रै गरेर हामी बस्नु भएन । भोली कोरोनाले यो सरकारी वा प्रतिपक्ष भनेर चिन्दैन । अहिले झिनामसिना कुरा छोडेर सबैले आआफ्नो तर्फबाट सरकारलाई सल्लाह दिने हो । त्यसकारणले हामी सरकारलाई बारम्बार अपिल गरेका छौं । सरकारलाई हामीले सहयोग र सहकार्य गर्न तयार छौं । सरकारले गरेको लकडाउनमात्रै सराहनीय कार्य हो । हामीले दक्षिणी सिमानामा अलि बढी चिन्ता लागेको छ । खुल्ला सिमानाका कारण आवत जावत अहिले पनि भई नै रहेको छ । नाकाहरुमा सरकारले रोक्ने प्रयास गरेको छ, नेपाली सेना लागेको छ, स्वास्थ्य क्षेत्रका मानिसहरु लागि रहेका छन् । लकडाउनको मर्मबारे विशेष गरी म मधेशका जनतालाई अपील गर्न चाहन्छु कि यो हाम्रो निम्ति हो । सरकारका लागि यो लकडाउन होइन, आम नेपाली जनताका निम्ति हो । त्यसैले हामी बाँचौं र अरुलाई पनि बाँच्न दिऔं ।

० तपाइँहरु आफ्नो तर्फबाट के गर्दै हुनुहुन्छ ?

— अहिलेको परिस्थितिमा कुनै पनि राजनीतिक दलले कुनै आग्रह÷पूर्वाग्रह नराखेर आँखा चिम्लेर सहयोग गर्ने हो । कुनै पक्ष÷ विपक्षको कुरा नगरेर सरकारले ल्याएको कार्यक्रमलाई सघाएर सफल पार्ने हो । लकडाउनलाई सफल बनाउनका लागि सम्पूर्ण राजनीतिक दल, संघसंस्थाहरु, विभिन्न पक्षहरुले जसरी आह्वान गरिरहेका छन्, यो नै खुशीको कुरा हो । हाम्रो काम भनेको सरकारलाई सजग गराउने, सरकारलाई घचघचाइराख्ने हो । किनभने डिलेभरी दिने काम सरकारको हो । स्वास्थ्य सामग्री, राहत, अनुदान लगायत पुर्याउने काम सरकारको हो । हाम्रो काम भनेको सरकारले ल्याउने कार्यक्रमलाई सहयोग गर्ने नै हो ।

० कोरोना उपचारका लागि चाहिने स्वास्थ्य सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने कुरालाई कसरी लिनुभएको छ ?

— हामीले गर्व गर्ने एउटा मात्र संस्था हो, नेपाली सेना । नेपालीले गर्व गर्ने नेपाली सेना नै हो । नेपाली सेनालाई कुनै पनि विवादमा पार्नु हुन्न भन्ने हाम्रो मान्यता हो । किनभने नेपाली सेनालाई एकदम विश्वसनीय बनाउनुपर्छ । नेपालमा अहिले कुनै पनि राजनीतिक दल वा नेतामाथि जनताले विश्वास गर्न सक्दैन । नेपाली सेनाले अहिलेसम्म आफ्नो विश्वास कायम गरेको छ । स्वास्थ्य सामग्री खरिद गर्ने काम त स्वास्थ्य मन्त्रालयको हो, सरकारको हो । खरिद प्रक्रियामा सरकार गएको पनि थियो । यस्तो बेलामा सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा कमसल सामान आएको छ, सस्तो सामानलाई महँगो मूल्यमा ल्याएको छ र समयमा सामान आइपुगेको छैन । त्यसकारणले नेपाली सेनालाई विश्वसनीय र विवादरहित बनाउनुपर्छ ।

० सरकारी पक्षबाट खरिद गर्दा अनियमितता भयो भनेर त नेपाली सेनालाई जिम्मा दिइएको होला नि ?

— नेपाली सेनाको काम सामान किन्ने होइन नि । नेपाली सेनाको काम अहिले नै हेर्नुस्, रातारात आइसोलेशन वार्ड बनाउने, सिमानामा निगरानी गर्ने लगायतका काममा जहिले पनि दृढतापूर्वक उभिएको छ । नेपाली सेनालाई खरिद–बिक्री गर्न लगाएर भोली त्यहाँ पनि विवाद भयो भने सेना पनि बदनाम हुन्छ । त्यसकारणले सामान खरिद–बिक्रीमा नेपाली सेनालाई प्रयोग गर्नु हुन्न । यदि सरकारसँग कुनै उपाय छैन भने मलाई विश्वास छ नेपाली सेनाले पारदर्शीरुपमा स्वास्थ्य सामग्री किनेर ल्याउँछ र सबै हिसाबकिताब जनतासामु राख्नुपर्छ ।

० भनेपछि नेपाली सेना अन्तिम विकल्प हो ?

— यदि नेपाली सेनालाई सामान खरिद–बिक्रीमा लगाइयो भने नागरिक शासनमा प्रश्न उठ्छ । नागरिक शासनले काम गर्न सकेन त्यसपछि नेपाली सेनालाई गुहार्न थाल्यो भन्ने कुरा आउँछ । अहिले यो विषयमा लामो बहस गर्ने बेला होइन । राज्य असफल भयो भन्ने कुरा यसले नै देखाउँछ ।

० अन्त्यमा के भन्नुहुन्छ ?

— जनताले लकडाउनका महत्व र आवश्यकता बुझ्नुपर्छ । कोरोना भाइरस कसरी फैलिन्छ भन्ने कुरा त हामीले हरेक दिन भन्ने गरेका छौं । प्रतिनिधिसभाको बैठक जब यसबारे छलफल भएको थियो, त्यो दिनमै मैले भनेको थिएँ कि राज्यले एउटा मात्रै आधिकारिक निकाय बनाउनुपर्छ जहाँबाट सूचना सम्प्रेषण हुनुपर्छ । अहिले जसलाई जे मन लाग्छ, त्यो बोलिरहेका छन्, सबै जना विशेषज्ञ भएका छन् । त्यसले गर्दा पनि मानिसमा धेरै त्रास र भ्रम फैलाएको छ । म आम जनतामा अपिल गर्न चाहन्छु कि, सरकारको आधिकारिक संस्थाबाट जे सूचना आउँछ, विश्व स्वास्थ्य संगठनबाट जे सूचना जारी हुन्छ त्यसैलाई नै आधार मानेर अगाडि बढ्नुपर्छ । अहिलेको अवस्थामा लकडाउनको मर्मअनुसार घरमै बसौं, सामाजिक दूरीलाई कायम राखौं, नयाँ कुनै मानिस विदेशबाट आएका छन् भने सम्बन्धित निकायमा खबर गरौं । बाहिरबाट आउने बित्तिकै त्यो मान्छेमा कोरोना छ भन्ने होइन । उनीहरुलाई स्वास्थ्यचौकीमा जाँच्ने काम गरौं, यदि कुनै शंका देखिएको छ भने सम्बन्धित ठाउँमा पु¥याऔं । लकडाउनलाई सफल बनाउन सक्यौं भने हामी सम्भावित महामारीबाट बच्न सक्छौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया