कोरोना कहर र हाम्रो प्रणाली(विचार)

विचार/दृष्टिकोण

बेचन कुमार महतो

       

नोवेल कोरोना भाईरसको महामारीले हामीलाई एक आपसमा जोडिएको संसारमा बाँचिरहेका छौं भनेर पुनः सम्झाएको छ । कोभिड–१९ को महामारीलाई कुनै पनि देशले यसलाई एक्लै सामना गर्न सक्तैन र यदि हामीले यस विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रणका प्रयासहरु अगाडि बढायौं भने हाम्रो समाजको कुनै पनि क्षेत्रलाई बेवास्ता गर्न सकिन्न ।

कोविड १९लगायतका संक्रामक रोगहरूको नियन्त्रणको जिम्मेवारी हाम्रो स्वास्थ्य सेवा प्रणाली र संयन्त्रको मात्र नभई सबैकोे साझा दायित्व र साझा चुनौती हो । यो सम्पूर्ण विश्व जगत संयुक्त रुपमा मिलेर कार्य गर्ने अवसर पनि हो । कोभिड नियन्त्रणको प्रयास हाम्रो क्षमताको पनि परीक्षण हो ।

राज्य शक्तिको अनुभूतिबाट टाढा रहेको सिमान्तकृत वर्गहरु माझ देशको सामाजिक र आर्थिक प्रगतिबाट प्राप्त हुने लाभहरु कसरी वितरण भएको छ ? कति भएको छ ? वर्तमानको समय यसको परीक्षाको घडी हो ।

यस सन्दर्भले आउने दिनहरुमा राष्ट्रिय संकट व्यवस्थापन योजना र नागरिक सुरक्षा प्रणालीहरुलाई चुनौती दिन सक्ने छन् र निश्चित रूपमा सरसफाई, आवास र स्वास्थ्य परिणामहरुको अनुभूति हुन दिन÷नदिने अन्य चुनौतीहरु समेतलाई उजागर गर्नेछ ।

अतः यस महामारीको सम्बोधनको लागि समाजले प्रायः कम महत्व दिएको वा वेवास्ता गरिएका तमाम पक्षहरु उपर ध्यान केन्द्रित गरिनु पर्दछ अन्यथा कोभिड– १९ विरुद्घको हाम्रो भगिरथ प्रयास असफल हुन सक्दछ ।

व्यक्तिको स्वास्थ्य समुदायको सब भन्दा सीमान्तकृत सदस्यहरूको स्वास्थ्यसँग जोडिएको हुन्छ । यस भाइरसको फैलावटलाई रोक्न सबै वर्गको उपचारमा समान पहुँच सुनिश्चित गर्न आवश्यक छ । यसको अर्थ सस्तो, पहुँच योग्य स्वास्थ्य सेवाका अवरोधकहरूलाई पार गर्नु र आयस्तर, भूगोल, जाति, जातीयता, धर्म वा सामाजिक परिवेशमा आधारित दीर्घकालीन र भेदभाव रहितउपचार प्रणालीको प्रत्याभूति गराउनु नै हो ।

महिला तथा अल्पसंख्यक समुदायहरुको लैंगिक अधिकार र आवश्यकतालाई बेवास्ता गर्ने प्रणालीगत पक्षपाती व्यवहार पार गर्न सकिए कोभिड १९ को प्रभावकारी रोकथाम र उपचारको लागि महत्तवपूर्ण हुन सक्नेछ ।

विशेष रुपमा संस्थागत व्यवहारमा रमाउने व्यक्तिहरू, वृद्धहरू वा हिरासतमा रहने कैदीहरु संक्रमित हुन सक्ने सम्भावना बढी भएको हुँदा संकट व्यवस्थापनको योजनामा यी कुराहरुलाई विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

राष्ट्रिय प्रणालीहरुको अभिन्न हिस्साको रुपमा रहेका प्रायः सरसफाई तथा स्वास्थ्य सेवाको कमजोर प्रत्याभुति हुने स्थानमा वसोवास गर्ने आप्रवासी तथा शरणार्थीहरुको औपचारिक स्थितिलाई समेत ध्यान दिई कोरोना भाईरस नियन्त्रण गर्ने योजनाहरु लागू गरिनु पर्दछ ।

सरसफाई तथा स्वास्थ्य सेवाको फितलो प्रत्याभूति हुने शिविर तथा भिडभाड शहरी झुपडपटीहरु कोरोना संक्रमणको उच्चजोखिममा रहने हुँदा तिनीहरूको औपचारिकस्थितिलाई समेत ध्यान दिई कोरोना भाईरस नियन्त्रण गर्ने योजनाहरु लागु गरिनु पर्दछ ।

प्रवासी र स्थानीय समुदायहरुलाई सेवा प्रदान गर्न कोरोना संक्रमित देशहरुलाई तत्कालै अन्तराष्ट्रिय सहयोग आवश्यक छ । संक्रमणको रोकथाम र आवश्यक व्यवस्थापकीय सम्बोधनको लागि राष्ट्रिय निगरानी राख्न पनि त्यतिकै जरुरी छ ।

अन्तर्राष्ट्रिय सहयोग र राष्ट्रिय निगरानीको अभावमा आमनागरिकको स्वास्थ्य जोखिममा पर्ने र मानवीय कलंक बोकी रहनु पर्नेमा दुई मत नहोला । सीमा नियन्त्रण, यातायात प्रतिबन्ध र सिमित आवागमन स्वतन्त्रता कायम गर्न सक्नु पनि आजको चुनौती हो ।

यस्ता तत्कालीन चुनौतीहरुका वावजुद पनि कोरोनाभाइरसको मार्गले पक्कै पनि हाम्रो सिद्धान्त, मूल्य र साझा मानवताको परीक्षण गर्नेछ ।

संक्रमणले महामारीको रुप लिदै छ । संक्रमितहरुको पहिचान गर्न विभिन्न व्यवहारिक तथा व्यवस्थापकीय चुनौतीहरु छन् । भाईरस नियन्त्रणको औषधीको पहिचान हुन सकेको छैन वा अनिश्चित छ । यस अवस्थामा भाइरसले व्यक्ति र समाजमा गहिरो डर र चिन्ता बढाइरहेको छ ।

केही बेइमान व्यक्तिहरूले निःसन्देह रुपमा यसको फाइदा लिन खोज्दैछन्, वास्तविक डरलाई बढावा दिदै आई रहेका छन् र चिन्ता बढाउने चिन्तनहरु सार्वजनिक गरी रहेका छन् । डर र अनिश्चितताका खेति गर्न गराउन पल्केकोहरु पनि हाम्रै माझमा छन्् । धर्मका नाममा होस् वा क्षेत्रीयताको नाममा होस् चाहे चरम भौगोलिकताको आवरणमा हामी माथी रिस र दुश्मनी राख्नेहरु पनि यहि समाजमा नै छन् ।

समय मै यस्ता कोरोना भाईरसका कारक तत्वहरुलाई नियन्त्रण गरिएन भने यसले महामारी निम्त्याउने निश्चित छ । सामाजिक मूल्य र मान्यतामा आधारित मानवताको धर्म नै संकटमा पर्नेमा कुनै शंका छैन ।
चलायमान शरणार्थीहरू यस मानेमा विशेष रूपमा लक्षित हुन सक्छन् । तर कोरोना भाइरसले आफैंमा कुनै किसिमको भेदभाव गर्दैन । आजको मिति सम्ममा संक्रमितहरू विश्वका अधिकांश देशहरुमा छन् ।

सवै महादेशमा छन् । के विद्यार्थी, के महिला, के उद्यमी, के स्वास्थ्यकर्मी, के सुरक्षाकर्मी, के राजनितिज्ञ कोरोना भाईरसको प्रकोपबाट कोही पनि अछुतो रहन सकेका छैनन । आतंक र भेदभावले कहिले पनि अभावको समाधान हुन सकेको छैन । अतः राजनीतिक नेताहरूले अगुवाइ लिनै पर्दछ । पारदर्शी प्रयत्नको समयमै जानकारी दिइ जनविश्वास कमाउनै पर्दछ । साझा र राम्रोको लागि एक साथ काम गर्नु पर्दछ, र मानिसहरूलाई स्वास्थ्य संरक्षणको लागि उत्प्रेरित गर्नु पर्दछ ।

अफवाह र डर त्राश पैदा गर्ने उन्मादी आकाँक्षाले कोरोना भाईरस विरुद्घको व्यवस्थापकीय संयन्त्रलाई मात्र बाधा पु¥याउने छैन, यस्ता गतिविधिले त मानवअधिकार तथा उत्तरदायी र लोकतान्त्रिक संस्थाको प्रभावकारितामा पनि व्यापक प्रभाव पार्न सक्छ ।

शाब्दिक अर्थमा गिर्दो स्टक बजार र वर्तमानको कमजोर आर्थिक–सामाजिक संयन्त्रको कारण आज विश्वको कुनै पनि देशले आफूलाई कोरोना भाइरसको प्रभावबाट अछुतो राख्न सक्दैन । विकासशील देशहरूमा यस रोगको निदान, उपचार र रोकथामकालागि अन्तर्राष्ट्रिय व्यवस्थापकीय सहयोग अरबौं मानिसहरुको जीवनको रक्षा गर्न महत्वपूर्ण हुनेछ ।

विश्व स्वास्थ्य संगठनले विशेषज्ञता सेवा, निगरानी प्रणाली, केस अनुसन्धान, सम्पर्क ट्रेसिगँ र अनुसन्धान तथा खोप विकास सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ । यस अर्थमा वर्तमानको अन्तर्राष्ट्रिय एकता र बहुपक्षीय प्रणालीहरूको गतिविधी पहिले भन्दा बढी महत्तवपूर्ण भएका छन् ।

निष्कर्ष

अतः दूरदृष्टीका साथ हामीले न्याय संगत र सुलभ सार्वजनिक स्वास्थ्य सेवा निर्माणको कार्यलाई तीव्र गर्नु पर्दछ । र हामी कसरी अहिलेको यो संकटको अवस्थालाई व्यवस्थापन गर्दैछौ, निःसन्देह ती प्रयासहरू आउँदो दशकहरुको लागि पथ निर्देश हुनेछ ।

यदि कोरोना भाइरस विरुद्घको हाम्रो प्रतिक्रिया जनविश्वास, पारदर्शिता, कमजोर वर्गको लागि समानुभूतिको सिद्धान्त र सम्मानमा आधारित हुने हो भने हामी प्रत्येक व्यक्तिको आन्तरिक अधिकारलाई मात्र समर्थन गर्नेछौ । भविष्यकालागि पाठहरू सिक्न सक्ने गरी प्रभावकारी संयन्त्रहरूको प्रयोग र निर्माण गर्ने छौं ।

(लेखक नेपाल मधेशी निजामति कर्मचारी मञ्चका महासचिव हुन् ।)

तपाईको प्रतिक्रिया