विषम् परिस्थितिमा हामीले ‘एकता शंखनाद’को सन्देश दिँदैछौं

अन्तर्वार्ता

       

डा.सीके राउत, अध्यक्ष, जनमत पार्टी

० कोरोनाको संक्रमण नेपालमा फैलिन थालेको छ, सरकारको तयारी कस्तो देख्नुहुन्छ ?

— कोरोनाको संक्रमण अब नेपालमा पनि फैलिँदै गइरहेको छ । यसबाट बच्नका लागि सरकारको तयारी फितलो नै छ । चीन हाम्रो छिमेकी मुलुक भएकोले सुरुदेखि नै त्रासको वातावरण थियो । त्यो त्रासको वातावरणले गर्दा हामीलाई सचेत हुन मद्दत ग¥यो । त्यसले गर्दा नै अहिलेसम्म हामी सुरक्षित छौं । सरकारले विस्तारै तयारी गर्न खोजेको त छ तर अझै पनि खासै तयारी देखिएको छैन । अझै पनि जुन मात्रामा परीक्षण हुनुपर्ने थियो, त्यो क्षमता पुगेकै छैन । प्रदेश २ को सरकारले पनि भर्खरै परीक्षणका लागि मेसिन जडान गरेको छ, त्यो पनि अहिलेसम्म मुश्किलले ८–१० जनालाई मात्र परीक्षण गर्न सकेको छ । यो एकदमै अपर्याप्त हो ।

० अहिले जसरी नेपालमा ९ जना मात्र संक्रमित फेला परेका छन्, यसभन्दा पनि बढी भेटिन सक्छन् ?

— निश्चितरुपमा अझ बढी संक्रमितहरु फेला पर्छन् । यहाँ वैदेशिक रोजगारी र भारतमा काम गर्न जानेको संख्या धेरै छन् । विदेशबाट फर्किएकाहरुमा संक्रमण बढी नै देखिएको छ । हाम्रो नेपालमा जाँच गर्ने त्यो खालको न त किट उपलब्ध छ र ल्याबमा जाँच गर्ने संख्या एकदम कम रहेको छ । त्यो आधारमा हामीले मान्छेहरुलाई ट्रयाप पनि गर्न सकेका छैनौं । अझै पनि स्थानीय तहले विदेशबाट फर्केकाहरुको तथ्यांक राख्न सकेको छैन । यो अवस्थामा हामीले अलि जोडतोडका साथ तयारी गरेर गम्भीररुपमा लाग्नुपर्ने आवश्यकता छ ।

० हाम्रो छिमेकी चीनबाट जसरी कोरोना भाइरसले वैश्विक महामारीको रुप लियो, त्यो हिसावले हाम्रो सरकारले तयारी किन गर्न सकेन त ?

— कोरोना भाइरसको संक्रमण फैलिएको बेला मात्रै हैन, नेपालमा अन्य पनि प्राकृतिक आपतविपद् आउँदा सरकारको गति यही नै देखिने गरेको छ । कुनै प्राकृतिक विपद् वा महामारीसँग लड्ने राष्ट्रिय तयारी यस्तै गतिले भइरहेका छन् । तर, कोरोना जसरी विश्वव्यापीरुपमा फैलिँदै गएको छ, महामारीको रुप लिएर पूरै विश्वमा आतंक मच्चाउँदैछ, यसमा गम्भीर भएर सबै पक्ष मिलेर तयारी गर्नुपर्ने अवस्था हो । तैपनि विभिन्न पक्षबाट अझै पनि ढिलासुस्ती भइरहेको छ, यसमा सबैको ध्यान अविलम्ब पुग्नुपर्छ ।

० यो वैश्विक महामारीको बेलामा सबै राजनीतिक दल र अन्य पक्षहरु पनि सरकारलाई साथ दिने प्रतिबद्धता दिँदादिँदै पनि सरकार किन गम्भीर देखिँदैन ?

— अन्य देशहरुमा कोरोना भाइरस फैलिसक्दा पनि नेपालमा कुनै न कुनै कारणले त्यो किसिमको संक्रमण देखिएको छैन । यसका विभिन्न कारणहरु हुन सक्छन् । अन्य देशहरु जस्तै नेपालमा फैलिनसकेको कारणले पनि सरकारले ढिलासुस्ती गरिरहेको हुनसक्छ । तर समग्रमा हाम्रो आपतकालीन सक्रियता नै यस्तै रहेको छ । यो कुनै परिस्थितिवश नभएर कुनै कुरा छिटो गम्भीर नहुने नेपाल सरकारको काम गर्ने प्रवृत्ति नै यस्तै रहेको छ । यस्तो प्रवृत्ति हटाएर सरकार गम्भीर हुनुपर्छ र ठोस कदमहरु चाल्नुपर्ने आवश्यकता छ । यसमा सरकारले सबै पक्षसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्छ ।

० विश्वका सुपरपावर राष्ट्रहरुमा जसरी यो कोरोनाले आतंक मचाइरहेको छ, त्यो हिसावले हाम्रो जस्तो मुलुकमा किन नफैलिएको होला त ?

— हाम्रो छिमेकी राष्ट्र चीनको वुहान शहरबाट कोरोना फैलिँदा त्यहाँ रहेका नेपाली विद्यार्थी, कामदारहरु ट्रयाप भएपछि त्रासको माहौल बन्यो । त्यसले नेपालका जनतामा चेतना फैलाउने ठूलो काम ग¥यो । त्यो त्रासले नै नेपाली समाज सकारात्मक भूमिका खेल्यो । त्यसले गर्दा नेपाली समाज समयमै सचेत भयो । हामीले पहिलो चरणमै सामाजिक दूरी अपनाउन थाल्यौं, सचेत हुन थाल्यौं । इटली, युरोप, अमेरिका लगायतका राष्ट्रमा नफैलिएको अवस्थामा पनि हामी सचेत भइसकेका थियौं । यसका वैज्ञानिक कारणहरु पनि रहेका छन् । बीसीजीका खोज लगाउने देशहरुमा यो संक्रमणले ठूलो रुप लिन सकिरहेको छैन भन्ने तथ्यहरु आइरहेका छन् । अर्को मूल कुरा, हाम्रो यहाँ राम्ररी जाँच नै भएको छैन । कम्तीमा दुई÷चार हजार मान्छेमा जाँच नै नगरिकन कसरी भन्न सक्छौं कि नेपालमा संक्रमण फैलिएको छैन । हुन सक्छ अहिले नेपालमा संक्रमित देखिएकोभन्दा बढी केसहरु छन् कि ।

० यदि नेपालमा संक्रमित फैलिएको भए मान्छे मर्नेहरुको संख्या अलि बढी नै देखिन्थ्यो नि ?

— नेपालमा पनि मान्छेहरु मरिरहेका छन्, तर कोरोनाले मरेको हो कि होइन भनेर फरक छुट्याउन सकिएको छैन ।

० तपाइँले सामाजिक सञ्जालमार्फत् नेपालमा अझै ६ महिना लकडाउन गर्नुपर्ने सुझाव दिनुभएको छ, त्यसको तयारी कस्तो हुनुपर्ने हो ?

— नेपाल अझै ६ महिना लकडाउनमा जानुपर्ने अवस्थाका लागि तयारी गर्नुपर्छ । अहिले ठूलठूला राष्ट्रहरुको अवस्था हेर्नुस् कस्तो छ । शनिबार मात्रै अमेरिका जस्तो समृद्ध राष्ट्रमा एक दिनमै १३ सय जना कोरोनाका कारण मरेका छन् । इटली, स्पेन, युके लगायतका राष्ट्रहरुको अवस्था पनि त्यस्तै छ । समृद्ध राष्ट्रहरु जहाँका स्वास्थ्य प्रणाली एकदम राम्रो मानिन्छ, ती राष्ट्रहरुले सम्हाल्न सकिरहेको छैन भने हाम्रो देशमा फैलिन थाल्यो भने हामी कसरी लड्ने त भनेर हाम्रो पूर्वतयारी एकदम आवश्यक छ । यस्तो आपतको बेलामा हामी त्यस्तै पनि ढिलासुस्ती छौं, त्यसका तयारी हुनुपर्छ । हामीले सुन्दा ६ महिना बढी हो जस्तो लाग्छ तर बेलायतको सरकारले कम्तीमा ६ महिना लकडाउन गर्नुपर्छ भन्ने मानसिकता बनाइसकेको छ ।

० दुई साताको लकडाउनमा त गरिब तथा दैनिक ज्यालादारी गर्नेलाई राहत उपलब्ध गराउन सकिएको छैन । ६ महिनाको लकडाउनमा विपन्न जनताको हालत के हुन्छ ?

— लकडाउनको अलावा विकल्प पनि त छैन । कि त हामी सबै मर्न तयार हुनुपर्छ । होइन भने राहत सामग्री कसरी पु¥याउनका लागि हामी तयार हुनुपर्छ । हामीसँग एउटा मात्रै विकल्प छ कि लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउनका लागि अत्यावश्यक सामग्रीहरु पु¥याउनका लागि तत्पर हुनुपर्छ । विपन्न तथा ज्यालादारीहरुका लागि राहतको व्यवस्था गर्नैपर्छ ।

० कोरोनासँग बच्न प्रदेश २ को तयारी कस्तो देख्नुहुन्छ ?

— प्रदेश २ को स्वास्थ्यस्थिति एकदमै विकराल रहेको छ । प्रदेश २ सरकार गठन भएको दुई वर्ष बितिसकेको छ । यो अवधिमा प्रदेश सरकारले ठूलठूला सपनाहरु त बाँड्यो । अञ्चल अस्पताल प्रदेश अन्तर्गत पर्दछ, यसमा आफ्ना मान्छेहरु नियुक्ति काम त ग¥यो । यो दुई वर्षमा प्रादेशिक अस्पतालमा खर्च गर्नुभन्दा मठमन्दिरमा ४१ करोड खर्च ग¥यो, गाडी किन्नमा मात्रै ३५ करोड खर्च ग¥यो । तर कुनै पनि अस्पतालमा सुधारका लागि पहल गरिएन । कोरोना भाइरसको जोखिम बढिरहँदा ६ वटै प्रदेशमा जाँच सुरु भइसक्दा पनि प्रदेश २ मा जाँचै सुरु भएको थिएन । सुरुमा त यहाँका मन्त्रीहरुमा भागमभाग मच्यो । प्रदेश सरकारको कुनै सम्बोधन छैन, जनताले के गर्ने भन्ने अन्योलमै रहे ।

० प्रदेश सरकार गम्भीर छैन त ?

— प्रदेश सरकार गम्भीर पनि छैन, निरीह छ र अनुभव पनि देखिएन । प्रदेशका मन्त्रीहरुको दुई वर्षको काम गराइ हेर्दा पनि उद्घाटन गर्ने, सभा सम्मेलनमा भाग लिने, सरकारको साधनस्रोत र गाडी प्रयोग गर्दै आफ्नो पार्टीको संगठन बनाउँदै हिंडेका थिए । अहिले कोरोना आउँदा के गर्ने भनेर अनुभव पनि छैन, केही पनि तयारी गरेको थिएन, अहिले घरमा बसिरहेका छन् मन्त्रीहरु ।

० तपाइँले बैशाख २ गते ‘एकता शंखनाद’को घोषणा गर्नुभएको छ, के हो त्यो ?

— बैशाख २ गते तराई मधेश क्षेत्रमा जुडशीतल वा सिरुवा पर्व मनाइन्छ । त्यो नयाँ वर्षको उत्साह हुन्छ, ठूलाबडाले गाउँभरि नै डुलेर आशिर्वाद दिन्छन् । आफन्तहरुलाई विभिन्न पकवानहरु पकाएर खाने चलन छ । यसपटक कोरोना महामारीका कारण सामाजिक दूरीले एक्लिएको अवस्थामा समाज अहिले रहेको छ । एक्लिएको समाजमा चरम निराशा छ । धर्म र विज्ञानप्रति पनि आस्था क्षीण भएको अवस्था छ । यस्तो निराशाजनक अवस्थामा हामीले कमसेकम एकअर्काको हौसला बढाउन सक्छौं । यो कोरोना विरुद्धको लडाइमा हामी सँगै छौं, कसैले हिम्मत नहारोस् भन्ने सन्देश दिनका लागि बैशाख २ गते (जुड़शीतल/सिरुवा पर्वको दिन) विहान ७ बजे ७ मिनेटसम्म ताली, थाली, शंख, घंटी, सिटी, ढ़ोल, मादल वा आफूसँग जे छ, त्यो बजाएर ’एकता नाद’ सफल पार्न आग्रह गरेको छु । कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, समाजसेवी सबैलाई धन्यवाद पनि ज्ञापन गरौं । एकअर्कासँग सुरक्षित भौतिक दूरी राखेर आ–आफ्नो घर, छत र बाल्कोनीबाटै एकता नाद गरौं । जनचेतना फैलाउन आफ्नो समुदायमा लाउडस्पीकर र एफएमबाट पनि उद्घघोष गरौं ।

० तपाइँले आह्वान गर्दैमा एकता शंखनाद लागू हुन्छ ?

— हामीले प्रदेश सरकार र संघीय सरकारसँग पनि आशा राखेका थियौं कि यस्ता केही कार्यक्रमहरु घोषणा गर्नेछ । औषधि र खाद्यान्न वस्तुले मात्र पुग्दैन । हेर्नुस्, जनताले विभिन्न प्रताडनाबाट प्रताडित छन् । मान्छे अहिले डिप्रेशनबाट पनि जुधिरहेका छन् । त्यो आधारमा अहिले हामी विभिन्न आयाममा संघर्ष गरिरहेका छौं । यस्तो अवस्थामा एउटा अभिभावकको रुपमा राष्ट्रलाई सम्बोधन गरोस्, जनतालाई हिम्मत बढाउने काम गरोस् भनेर पर्खेर बसेका थियौं । कतैबाट नदेखिएपछि मात्रै हामीले दुई हप्तापछि यो कार्यक्रम घोषणा गर्न बाध्य भएका हौं । हाम्रो यो कार्यक्रममा शतप्रतिशत मान्छेले साथ देला भन्न सक्दैनौं तर हामीलाई आशा छ । यो कुनै पार्टी विशेषको कार्यक्रम होइन । यो विषम् परिस्थितिमा हामीले एकताको सन्देश दिन खोजेका छौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया