कोरोना रोकथाममा सरकारले केही छुद्र काम गर्‍यो : जयप्रकाश गुप्ता

अन्तर्वार्ता

       

जयप्रकाश गुप्ता, संयोजक, तराई मधेश राष्ट्रिय अभियान

० कोरोना रोकथामका लागि गरिएको लकडाउनको तेस्रो हप्ता हो, यसलाई लिनुभएको छ ?

— कोरोना भाइरस (कोभिड–१९)नेपालको मात्रै होइन, विश्वव्यापीरुपमै समस्या छ । संसारका धेरै उन्नत र विकासशील राष्ट्रहरुले पनि अहिलेसम्म कोरोनाको औषधीय उपचार खोज्न सकेको छैन । बचाउका लागि प्रिभेन्टिभ मेजर्सहरु अपनाउँदा जुन देशले सुरुमा लकडाउनलाई महत्व दिएका थिएनन्, अहिले आएर उनीहरुले पनि अन्ततः लकडाउन नै संक्रमणलाई एउटा निश्चित सीमामा रोक्ने सर्वाधिक उचित विकल्प हो भनेर स्वीकार गरेर अपनाउन थालेको देखिन्छ । यस अर्थमा भारत जसरी लामो समयको लकडाउन ग¥यो र त्यसैको हाराहारी नेपालले जसरी लकडाउन ग¥यो, यो अहिलेको विकल्पहीन उपाय हो । लकडाउनको पूर्ण परिपालनले नै यो संक्रमणको विस्तारलाई सीमित पार्न सक्दछ ।

० यो लकडाउनको अवधिलाई तपाइँ कसरी सदुपयोग गरिरहनु भएको छ ?

— संयोगवश हरेक मानिस यतिखेर आफ्नो परिवारसँग बस्न चाह्छन्, परिवारसँग बसेर विश्वव्यापी दुःख र सन्तापको घडीमा जीवन बाँच्ने उपायहरु अपनाउन चाहन्छन् । तर, परिस्थितिगत कारणले म लकडाउन घोषणा हुने बेलामा विराटनगरनजिक एउटा गाउँमा पुगेको थिएँ, जहाँ मेरो एउटा कृषि फर्म छ । म आफ्नो परिवारबाट टाढा यही छु । अहिलेको बेलामा म आफ्ना आफन्तहरुलाई मिस गरिरहेको छु । तर, म लकडाउनको पूर्ण पालन गरेको छु । जे–जे रेकोमेन्डेड कुराहरु छन्, जे–जे नगर्न भनिएको छ ती कुराहरु नगरेरै बसिरहेको छु ।

० लकडाउनमा तपाइँले गर्नुका महत्वपूर्ण कामहरु के–के छन् ?

— हेर्नुस्, मेरो कृषि फर्म छ यहाँ । जो चारैतिरबाट घेराबेराभित्र छ । यहाँ पूरै हरियाली छ, केही गाईवस्तुहरु छन्, केही भैंसी छन्, चराचुरुङ्गी छन् । मेरो आफ्नो सवारीको घोडा छ र १०–१२ वटा माछा पोखरीहरु छन् । सागसब्जी, तरकारीका केही क्रियाकलापहरु पनि मैले पहिलेदेखि नै सञ्चालन गरिआएको छु । दैनिक आवश्यकताका सम्पूर्ण कुराहरु मैले आफ्नै उत्पादनबाट उपयोग गरिरहेको छु । मैले खाने चामल, दाल, सागसब्जी, दुध, अण्डा, फलफूललगायत एउटा फर्ममा जेजति उत्पादन हुन्छ, त्यसैको प्रयोग गरेको छु । त्यसले गर्दा मेरो निर्भरता वा आजसम्म बजार जानुपरेको छैन । जे उपलब्ध छ, त्यसैमा मैले आफूलाई सीमित राखेको छु । आफ्ना आवश्यकताहरु त्यसैमा पूरा गरेको छु । बाहिरका मान्छे पनि यहाँ आइरहेका छैनन् र मेरो बाहिर जानुपर्ने कुनै काम पनि छैन । ३–४ जना भाइहरु यहाँ कार्यरत हुनुहुन्छ । उनीहरुसँग पनि सामाजिक दूरी कायम गरेर सबै जना आआफ्नो काम गरिरहनु भएको छ । सारांशमा भन्नुपर्दा मेरो लागि एक प्रकारले मेरो समय बडो प्रोडक्टिभ ढंगले बितिरहेको छ । मौसमी हिसावले अहिलेको दिन लामो भएपनि मेरो व्यवस्तताका कारण दिन छोटो भएको देख्दछु ।

० नेपाली जनतालाई लकडाउन कसरी सदुपयोग गर्न सल्लाह दिनुहुन्छ ?

— यो लकडाउन कुनै राजनीतिक पार्टीले गरेको आह्वान होइन अथवा विरोधको कुनै राजनीतिक कार्यक्रम पनि होइन । वास्तवमा राज्यले जनतालाई दिनुपर्ने सुविधाको सन्दर्भमा अथवा औषधोपचारको समुचित व्यवस्थाको सन्दर्भमा अथवा बाहिरबाट आयात गर्ने प्रक्रियाको सन्दर्भमा केही गल्तीहरु गरेको होलान् । जसको व्यापकरुपमा चर्चा परिचर्चा भइरहेको छ । तर, राज्यले जुन लकडाउनको घोषणा ग¥यो, यसको कुनै विकल्प छैन । तसर्थ, सरकारका कमी कमजोरीहरु आफ्नो ठाउँमा छ । तर, यो लकडाउनको घोषणा भनेको हाम्रो जीवन रक्षाका लागि भएकोले सबैले यसको परिपालन गर्नुपर्दछ । किनभने हामी भयावह तस्वीरहरु हेरिरहेका छौं । एक जना संक्रमित मानिसको हेल्चेक्र्याइँले गर्दा सयौंको संख्यामा मानिसहरु संक्रमित हुनसक्छन् । उदाहरणका लागि भारतमा एउटा ठूलो चर्चा देखियो निजामुदिन मस्जिदको । केही मान्छेको हेल्चेक्र्याइँ अथवा अज्ञानताले भारतको २६ वटा राज्य प्रभावित भयो र अर्बौंअर्ब रकम सरकारले अनाहकमा खर्च गनु प¥यो । तसर्थ, सबैले बडो जिम्मेवारीपूर्वक यो अवस्थाको गम्भीरतालाई बुझेर परिपालनका लागि उचित वातावरण बनाउनुपर्दछ ।

० कोरोनाविरुद्ध लड्न सरकारको प्रयासलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

— एकसे एक हैसियतवाला राष्ट्रहरु मानव बस्ती जसको लागि अपर्याप्त भएर जसले चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउने सोच राखेका थिए अहिले तिनीहरु यस प्रकोपका अगाडि पराजित भइसकेका छन् । अमेरिका जस्तो देश जसको अगाडि भारत अथवा भारतजस्ता देशहरु सीमितरुपमा प्रस्तुत हुने गर्दथे, अहिले अमेरिकाले क्लोरोक्विनका लागि भारतलाई सविनय अनुरोध गरेको अवस्था देखियो । हाम्रो देशले यस्तो महामारीसँग कसरी लड्ने भन्ने सोच नबनाएको मुलुक हो । तैपनि सरकारले लकडाउन घोषणा ग¥यो त्यो त ठिक छ । तर, पनि सरकारले अहिले गर्नुपर्ने अत्यावश्यक कामहरु छन्, गर्न सकिरहेको छैन । सरकारले गर्ने साना–साना कुराहरुमा अहिले विवाद उत्पन्न भइरहेका छन् । र यो विवाद एक पार्टीलाई सरकारबाट हटाएर कोही सत्तामा आउनका लागि गरेको जस्तो लाग्दैन । ती विवादहरुलाई हामी सर्वसाधारणको आँखाबाट हेर्दा बडो युक्तिसंगत विवादहरु छन् । सरकारले यी सबै कुराहरुमा गम्भीरतापूर्वक ध्यान दिनुपर्दछ । सरकारले केही राम्रा कामहरु पनि गरिरहेको छ । तर केही छुद्र कामहरुले गर्दा सरकारका सबै राम्रा कामहरुमा कालो पोत्ने काम भइरहेको छ । यस विषयमा सरकार बढी सचेत हुनुपर्दछ ।

० सरकारले कोरोना संक्रमणका लागि चालेको कदममा कहाँ–कहाँ चुक भएको छ ?

— पहिलो कुरा त हामीसँग यथेष्ट मेडिकल फेसिलिटिज छैन । अन्य देशहरु पनि यसका लागि कुनै तयारी गरेर बसेको थिएन । तर, सीमित साधनस्रोतबाट हामी सक्षम तयारीहरु जसरी गर्नु पर्दथ्यो त्यो भएन । सारा संसारले अन्तर्राष्ट्रिय आवागमनलाई सरकारले रोक्न थालेकोमा पनि हामीले केही बचकाना हर्कतहरु ग¥यौं । हाम्रो देशलाई कोरोनारहित देश घोषणा गर्नुपर्दछ भन्ने जस्ता कुराहरु जिम्मेवार मन्त्रीहरुले गरे । हाम्रो सौभाग्य यो पनि हो कि यहाँ एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । तैपनि हामीले आवागमनलाई रोक्नका लागि ढिलाई ग¥यौं । जुन जनता भारतसँगको खुला सिमानालाई सिल गर्दा दुःख पाउनेवाला थियो, स्वयम् जनताले नै भन्न थालेका थिए कि सीमा सिल गर्नुपर्छ । तर, सरकार सीमा सिल गर्न ढिलाई ग¥यो । अहिले अचानक लकडाउन गरेपछि ठाउँ–ठाउँमा मान्छेहरु अड्किए । अब दारुण तस्वीर आइरहेको छ कि श्रमिक वर्गका मान्छेहरु ४००–५०० किलोमिटर पैदल हिंडेर आफ्नो घर आउन खोजिरहेका छन् । उनीहरुलाई खाना, समुचित वासको व्यवस्था छैन । सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ । सरकारले उद्योगहरुलाई निर्देशन दिएको छ कि तपाइहरुले आफ्ना कामदारहरुको जिम्मेवारी लिनुस् । तर यी कुनै पनि कुराहरु परिपालन भइरहेको देखिँदैन । यी सब कुराहरुलाई हेर्दा सरकारले एउटा पपुलिष्ट कुरा गर्नुभन्दा यसलाई कसरी व्यावहारिकरुपमा कार्यान्वयन गर्ने तर्फ ध्यान गएको छैन । यहाँनिर सरकार चुकिरहेको छ ।

० कोरोनाबाट जोखिममा परेका अर्को पक्ष गरिब र दैनिक ज्यालादारी गर्नेहरुका लागि सरकारले कस्तो कार्यक्रम ल्याउनुपर्ने थियो ?

— भारतको दिल्लीकै उदाहरण लिउँ । दिल्ली विश्वकै सबैभन्दा ठूलो श्रम बजार हो । जहाँ करोडौं मानिस दैनिक ज्याला गरेर गुजारा गरिरहेका छन् । उनीहरुका लागि त्यहाँको सरकारले व्यवस्था गरेको छ । अस्थायी शिविरहरु बनाइएको छ । लाखौं मानिसहरुलाई बिना श्रम भोजन उपलब्ध गराइएको छ । केही उथलपुथल भएपनि थोरै समयमा यसलाई व्यवस्थित गर्यो । हामीले नेपालको कुरा गर्दा नेपाली जनताले नै दुई अर्बभन्दा बढी रुपैयाँ राहतका लागि दिइसकेको छ । सरकारी निकायहरुको तलब र बजेटबाहेक नेपाली जनताले दुई अर्बभन्दा बढी रकम उपलब्ध गराएका छन् । दुई करोड रुपैयाँ सरकारले दैविक प्रकोप राहत कोषमा राख्ने तर काठमाडौं ५–१० हजार मानिस खान नपाएर बरु मर्छु भनेर भोकभोकै हिंडेका छन् । यी कुराहरु त घोर अव्यवस्थाका कुराहरु हुन् । यी सबै कामहरुमा सरकार संवेदनशील भएर लाग्नुपर्दछ ।

० प्रधानमन्त्रीले सम्बोधन पनि गर्नुभएको छ, कसरी विश्लेषण गर्नुहुन्छ ?

— प्रधानमन्त्री एउटा सक्रिय व्यक्ति त हुनुहुन्छ तर उहाँको स्वास्थ्य अवस्था पनि अत्यन्त कमजोर छ । एक त उहाँ आफ्नै रोगका कारण जोखिममा हुनुहुन्छ र यो कोरोनाबाट अझ उहाँ जोगिनुपर्ने अवस्था छ । त्यसले गर्दा प्रधानमन्त्री पूरै निर्भरता उहाँका कलिग मिनिस्टरहरुप्रति छ । कलिग मिनिस्टरहरु डेलिभरी गर्न सक्ने एक्टरको रुपमा प्रस्तुत गर्नुभन्दा पनि उनीहरु पोष्टर ब्वाइज जस्तो भएका छन् । त्यसले गर्दा देशको प्रधानमन्त्री नै फिजिकली इन्क्यापेबल भएको अवस्थामा मन्त्रीहरु जिम्मेवार नहुँदा प्रधानमन्त्रीको देशवासीको नाममा गरिएको सम्बोधन कार्यान्वयनमा यथेष्ट शंका उठ्नु स्वाभाविकै हो ।

० अब अन्त्यमा, लकडाउनको अवस्थामा जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

— हिजो जस्तो अब हामीले सबै कुरा केपी शर्मा ओलीजीलाई मात्रै हेरेर भएन । यो कुराकानीमा हामीले अधिकांश कुरा संघीय सरकारका बारेमा ग¥यौं । तर अहिले नेपालमा प्रादेशिक र स्थानीय सरकार पनि छन् । अब ठूलो जिम्मेवारी प्रादेशिक सरकारहरुको काँधमा पनि छ । तर, अहिले प्रादेशिक सरकार र स्थानीय तह कहीं देखा परिरहेको छैन । एउटा समन्वयात्मक तरिकाबाट प्रादेशिक सरकारहरुले पनि बढीभन्दा बढी भूमिका निर्वाह गर्नुपर्दछ । जनताले पनि यो भयावह परिस्थितिको मूल्यांकन गरेर सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया