यसकारण गले ओली...

विचार/दृष्टिकोण

       

अहिले जसरी सरकारले दुईटा अध्यादेश ल्यायो र खारेज पनि गर्यो । यसबारे विश्लेषण गर्नुभन्दा पहिला पृष्ठभूमिलाई केलाउनुपर्ने हुन्छ । हामीले नेकपाको राजनीतिलाई नजिकबाट हेरिरहेको छु । एमाले र माओवादीको एकीकरण हुँदाखेरि नै मैले भनेको थिएँ कि टाउको–टाउको बीचमा मिलन मात्र हो ।

अंकगणितको खेलका लागि त्यो एकीकरण भएको थियो । जतिबेला वाम गठबन्धन बनाएर चुनावमा गयो । त्यतिबेला यदि छुट्टाछुट्टै यी दलहरु चुनावमा गएको भए बहुमत आउँदैनथ्यो ।

यिनीहरुको पराजय हास्यास्पदरुपमा हुन्थ्यो । विगतलाई हेर्ने हो भने प्रचण्ड र ओलीको सम्बन्ध ३६ को आँकडामा थियो । अहिले पनि हेर्दा पार्टी एउटा भएपनि गुट र उपगुटहरु पर्याप्त मात्रामा छन् । त्यसैको क्रममा हामीले यिनीहरुको व्यवहारलाई मिडियामार्फत् हेर्दै आएका छौं । प्रचण्ड भनेको नेपालको राजनीतिमा सबभन्दा अस्थिर व्यक्ति हुन् ।

उनी कुर्सी र सत्ताका बिना बाँच्नै नसक्ने नेता हुन् । प्रचण्डले पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्नुपर्ने दाउमा थिए । त्यसकारणले गर्दा उनले केपी ओलीलाई पटक–पटक दबाब दिइरहेका थिए । त्यसकारणले केपी ओलीले एक तीरले दुईटा निराशा साँध्न खोजे यो अध्यादेश ल्याएर ।

एउटा नेकपा फोड्नका लागि प्रचण्डजीलाई सजिलो बनाइदिएको थियो । सक्छौं भने पार्टी फोड र प्रधानमन्त्री बन । अर्कोतिर मधेशको राजनीतिज्ञ जसलाई हामीले खुद्रा पसले भन्ने गरेका छौं । ६ वटा मुख भएका नेताहरुको पार्टी मिलेर राजपा गठन भएको छ र समाजवादी पनि ६ वटा गुट छन् ।

केपी ओलीले के सोचे भने यदि भोलीको दिनमा प्रचण्डले पार्टी फोड्छ भने आफ्नो बहुमत पुर्याउनका लागि मधेशी दलमा चलखेल गर्न खोजे । त्यसको परिणाम पनि देखियो । रेणु यादवलगायतका नेताहरुले पार्टी फुटाउनै आँटेका थिए ।

अर्कोतिर राजपामा पनि राजकिशोर यादव र अनिल झा पनि असन्तुष्ट देखिए । त्यसकारणले केपी ओलीले अध्यादेश ल्याएर त्यस्तो गर्न खोजेका थिए । तर, उनी असफल भए । जसरी राजपा र समाजवादीले लामो समयदेखि एकताको बाजा बजाइरहेका थिए र सम्भव भइरहेको थिएन, यो अध्यादेशले सम्भव बनाइ दियो । किनभने उपेन्द्र यादवलाई पनि अस्तित्व बनाउनु छ र यतातिर राजेन्द्र महतो, महन्थ ठाकुरहरुलाई पनि अस्तित्व बनाउनुपर्ने छ । भनेपछि अध्यादेशको रिएक्सन उल्टो हुन गयो ।

यो अध्यादेशका कारण नेकपा नै फुट्ने र आफू अल्पमतमा पर्ने अवस्था देखेपछि खारेज गर्न बाध्य भए केपी ओली । केपी ओलीले चालेको खेलले गर्दा राजपा र समाजवादी फुट्नुको साटो जुट्यो । यिनीहरुबीच एकीकरण भएपछि झन् शक्तिशाली भए । अर्कोतिर नेकपाभित्र पनि एकदमै विवाद भएपछि केपी ओलीको पद खुस्कने अवस्था आइसक्यो । नेकपाका अन्य नेताहरुले त केपी ओलीलाई अल्टिमेटम नै दिएको कि शुक्रबारम्म फिर्ता लिएन भने अविश्वासको प्रस्ताव ल्याउने ।

भैंसेपाटीस्थित वामदेव गौतमको निवासमा भएको एक भेलामा नेकपा शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । आज यदि केपी ओलीले अध्यादेश खारेज नगरेको भए नेकपा फुट्थ्यो या त केपी ओलीमाथि अविश्वासको मत ल्याउँथ्यो । त्यस्तो अवस्थामा आफ्नो कुर्सी बचाउनका लागि नै अध्यादेश खारेज गर्न लगाएको हो ।

अहिलेको जनता समाजवादी पार्टीमा विगतको मधेशी मोर्चामा भएका नेताहरु नै छन् । यो एकताले टाउके नेताहरुको सिट सुरक्षित हुने भयो । ती पार्टीभित्र रहेका आम कार्यकर्ताहरुलाई हिजो पनि गनेका थिएनन्, आज पनि गन्दैनन् र भोली पनि गन्नेछैनन् ।

मधेशमा अहिले एउटा कहावट प्रख्यात देखिन्छ, ‘जय मधेश कहेंगे, मधेश को लुटेंगे’ । यिनीहरुले आफ्नो पद सुरक्षित राख्ने र मधेशको मुद्दालाई जीवन्त राखिराख्ने, समाधानतिर नजाने र त्यसलाई कमाइखाने भाँडोको रुपमा प्रयोग गरिरहनेछन् । विगतमा पनि यस्तै गर्दै आएका छन् र भोलीको दिनमा पनि यस्तै गरिरहनेछन् । त्यसैले यो एकीकरणले मधेशको मुद्दालाई केही फरक पर्दैन ।

(जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज मुक्तिसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया