नेकपाको ‘माइक्रो म्यानेजमेन्ट’मा चीन सक्रिय

राजनीति

       

काठमाडौं, २० बैशाख । सत्तासीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला चीनको चासो फेरि ह्वात्तै बढेको देखिएको छ । कोरोनाको संक्रमण भन्दा तेज गतीमा नेकपाका आन्तरिक खेमाहरु ध्रुविकृत हुँदै जाँदा उत्तरी छिमेकी चीनको नेपालमा गतिविधी ह्वात्तै बढेको हो ।

कोरोना महामारीसँगै नेकपामा देखिएको राजनीतिक उतारचढावले फेरि चीनको भूमिकालाई एकपटक सतहमा ल्याइदिएको छ । यसबीचमा चीनका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई फोन गरेर कोभिड १९ सँग लड्न नेपाललाई जुनसुकैस्तरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको भन्ने समाचार वाहिर आयो ।

सार्वजनिक खपतका लागि ति कुरा वाहिर ल्याइए पनि भित्री रुपमा नेकपा जोड्दा प्रयोग भएको चिनियाँ रसायनलाई फेरि प्रयोगमा ल्याउनु पर्छकी भन्ने उद्देश्य नै थियो ।

यसैबीचमा नेकपाको राजनीतिमा हात हालेको भनेर पटकपटक विवादित राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चीन फिङको टेलिफोन संवादका क्रममा चार दिनअघि राजदूत हो यान्छीले भेटेकी थिइन् ।

चिनियाँ राष्ट्रपतिले नेपाली राष्ट्रपति मार्फत नेकपाका नेताहरुलाई सन्देश दिन चाहेका थिए । चीनले नेकपाको विग्रह मन नपराएपछि चीनियाँ राजदुत जुनस्तरमा सक्रिय भइरहेकी छिन् त्यो सक्रियतालाई नेपालको आन्तरिक मामिलाको ‘माइक्रो म्यानेजमेन्ट’ खालको भएको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।

विगतमा कतिपय देशले यस्तै व्यवहार देखाउँदा आलोचित हुनुपरेको थियो । अहिले चीनको भूमिका पनि सोहि स्तरमै रहेको धेरैले अनौपचारिक तहमै भएपनि टिप्पणी गर्न थालेका छन् ।

एकिकरणमा आफ्नो समेत भूमिका रहेको नेकपा नफुटोस भन्ने चाहनाका साथ चीन नेकपा भित्रको द्वन्दको माइक्रो म्यानेजमेन्टमा लागेको नेकपाका एक स्थायी समिति सदस्य बताउँछन् ।

चिनियाँ राजदूतले भेटघाटलाई निरन्तरता दिदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न पुगिन । खुमलटारमा प्रचण्डसँग कुराकानी गरेलगत्तै उनले नेकपा नेता माधवकुमार नेपाललाई भेटेकी छन् ।

दुई दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले नेपाललगायतका नेतासँग तीन घण्टा लामो भिडियो कन्फरेन्स गरेका थिए ।

स्रोतहरूका अनुसार नेकपाको संभावित विभाजन रोक्न र मिलेर जान उनले नेकपाका नेताहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट सुझाव तथा दवाव दिएकी छिन् । प्रचण्डसँगको भेटपछि नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘कुनै सूत्र निकालेर सहमतिमा पुग्न चिनियाँ राजदूतले आग्रह गरिन् ।’

तपाईको प्रतिक्रिया