वीरगन्ज र नेपालगन्ज कोरोनाको केन्द्रबिन्दू बन्ने खतरा छ : मेयर सरावगी (अन्तर्वार्ता)

अन्तर्वार्ता

       

विजयकुमार सरावगी, मेयर, वीरगन्ज महानगरपालिका, पर्सा

० कोरोना महामारीको उच्च जोखिममा वीरगन्ज महानगर रहेको छ । एकैदिन १७ जना संक्रमित फेला परेका छन् । महानगर के गर्दैछ ?

— निश्चितरुपमा वीरगन्ज महानगर कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेको छ । हामीले गर्ने दुईटा मात्रै काम हो, लकडाउन पालना गराउने, इलाका सिल गर्ने हो । कोरोना संक्रमितलाई टे«ेसिङ्ग गर्ने कि उसको सम्पर्कमा अझ कति व्यक्त आएका छन् । त्योअनुसारको पीसीआर व्यवस्थापन गरेर टेष्ट गर्ने, थप संक्रमित छ कि छैन भन्ने जाँच गर्ने हाम्रो काम हो । त्यसका लागि वीरगन्जलाई एकदमै कडाईका साथ बन्द गरिएको छ । जुन इलाकामा संक्रमित फेला परेका छन्, त्यासलाई सिल गरिएको छ । पीसीआर टेष्ट किटहरु पनि करिब ९०० वटा व्यवस्थापन भइसकेको छ । हामीले प्रभावित इलाकामा कमसेकम एउटा परिवारको एक जनालाई पनि टेष्ट गर्न सकियो भने त्यो परिवार संक्रमित छ कि छैन भन्ने अन्दाज लगाउन सकिन्छ । हामीसँग बढी टेष्ट गर्ने किट छैन, यदि ४–५ हजार किट भएको भए बढीभन्दा बढीको जाँच गर्न सकिन्थ्यो । सीमित किटबाट नै बढीभन्दा बढी काम गर्ने हो । त्यहींअनुसार हामी अगाडि बढ्दैछौं ।

० वीरगन्जमा यसभन्दा पहिला पनि संक्रमितहरु फेला परिसकेका छन्, अहिलेसम्म कतिको पीसीआर टेष्ट गरिसक्नुभयो ?

— हेर्नुस्, प्रदेश २ भरि नै जम्मा ८–९ सय जति मात्रै पीसीआर टेष्ट भएको होला । त्यहीं हिसावले वीरगन्जमा धेरै गर्न सकिएको छैन । जहाँ–जहाँ आवश्यक पर्यो, जति किट उपलब्ध भयो त्यहींअनुसार टेष्ट भएका छन् । अहिले पर्याप्त मात्रामा देशमै किट उपलब्ध छैन । विस्तारै संघीय सरकारले व्यवस्थापन गर्दैछ । जसरी–जसरी व्यवस्था हुँदै जान्छ किटहरु, त्यहीं हिसावले वीरगन्जमा हामी कामको गति बढाउँछौं । तर, एउटै डर के छ भने यो बीचमा बाहिर नआएका संक्रमितले कतिलाई संक्रमित बनाउँछन् त्यो एउटा ठूलो चुनौतीको विषय छ । अहिले लकडाउनको अवस्थामा सबै घरमा त बसिरहेका छन्, तर भौतिक दूरी कतिको कायम गरेका छन् कि छैन यसको कुनै व्यवस्थापन छैन । कोरोना रोकथाममा जनताले नै साथ दिन्छन् भने मात्र सम्भव हुन्छ । हामी घरभित्र हुँदा पनि भौतिक दूरी कायम गर्नैपर्छ । घरका कुनै सदस्य यदि घरबाहिर गएका छन् भने उसले पनि बाहिरबाट कोरोना ल्याउन सक्छन् । जसजसले भौतिक दूरी कायम गरेका छन्, त्यहाँ समस्या हुँदैन । तर, भौतिक दूरी कायम गरिएन भने धेरै हदसम्म कोरोना फैलिने डर छ ।

० नेपालकै मुख्य व्यापारिक नाकाको रुपमा वीरगन्ज रहेको छ, त्यस हिसावले पनि उच्च जोखिममा रहेको देखिन्छ । त्यहीं हिसावको व्यवस्थापन किन भएन त ?

— महानगरपालिकाको तर्फबाट गरिनुपर्ने हरेक पूर्वतयारी वा सतर्कता हामीले गरिसकेका छौं । हाम्रो क्षमता र स्रोतसाधनले भ्याएसम्म हामीले गरेकै छौं । जुन कुरा हाम्रो क्षमताभित्र छैन त्यो गर्न सकिएको छैन । देशमै महामारी फैलियो भने त्यसको जिम्मेवारी संघ सरकारले लिनुपर्छ । यो त विश्वभरि फैलिएको महामारी हो । यसमा नेपाल सरकारले सुरुदेखि चनाखो भएर कामहरु अगाडि बढाएको भए यस्तो अवस्था आउने थिएन । नेपालको ५० प्रतिशत आपूर्ति व्यवस्थापन वीरगन्ज नाकाबाटै हुन्छ । अहिले पनि हाम्रा तीनटै भन्सार चालू छ । हामीले गाडीहरुलाई जाँच गरेर नै पठाइरहेका छौं । जबसम्म पीसीआर टेष्ट हुँदैन तबसम्म कोरोनाका ८० प्रतिशत सिन्टम थाहा हुँदैन । स्थानीय सरकारले लोकल क्वारेन्टाइनको व्यवस्थापन गरेको छ । तर, संघीय सरकारले जुन गर्नुपर्ने काम छ त्यो राम्ररी भइरहेको छैन । हामीसँग अहिलेसम्म जम्मा ९ सय किट मात्रै छ, यो किटको संख्या बढाएर कमसेकम ५ हजार पुर्याउनुपर्ने हो । अत्याधिक प्रभावित क्षेत्रहरु वीरगन्ज र नेपालगन्जमा कमसेकम ५ हजार किटको व्यवस्थापन गराइदियो भने मात्र नेपाल कोरोनाको उच्च जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । नत्र वीरगन्ज र नेपालगन्ज भोलीको दिनमा कोरोनाको ट्रान्जिट प्वाइन्ट बन्ने खतरा छ ।

० तपाइँहरुलाई चाहिने जति किटको माग संघीय सरकारसँग गर्नुभएको छैन ?

— हामी करिब एक हप्ता अघि नै लेखेर संघीय सरकारलाई पठाइदिएका छौं । हामीले संघीय सरकारलाई जानकारी गराउँदा पनि रिस्पोन्स आइरहेको छैन । हामी सम्बन्धित सचिव, मन्त्रीलाई पनि ह्वाट्सअपमार्फत् पठाइदिएका छौं । तर उहाँहरुले यसको कुनै व्यवस्थापनको त कुरा परै जाओस् कुनै जवाफ नै दिनुभएको छैन । महानगरको स्रोतसाधन भ्याएअनुसार सबै काम गरिरहेका छौं, यति मात्रै पर्याप्त होइन ।

० प्रदेश २ को सरकारले कतिको सक्रियता देखाएको छ ?

— प्रदेश सरकारले सिधै वीरगन्ज महानगरसँग कुनै किसिमको सहकार्य गरेको छैन । प्रदेश सरकारले सुरुमा राहतका लागि २५ लाख रुपैयाँ पठाएको थियो । त्यसमा करिब दुई करोड ७५ लाख थपेरै हामीले राहत बाँडिसकेका छौं । फेरि प्रदेश सरकार आफैले राहत बाँड्ने भनेर सूचनाहरु आएका छन् । तर, यस विषयमा प्रदेश सरकारले गरिरहेको छ, के गर्न खोजिरहेको छ हामीलाई केही पनि जानकारी दिएको छैन ।

० वीरगन्जका एकै परिवारका १७ जनामा जसरी कोरोना संक्रमण देखियो, भनेपछि नेपालमा अब कोरोना समुदायस्तरमा प्रवेश गरिसकेको हो ?

— नेपालमा समुदायस्तरमा कोरोना प्रवेश गरिसक्यो भने धेरै जोखिमको कुरा हो । अहिले जसरी एक परिवारका १७ जनामा कोरोना देखिएका छन्, राम्ररी जाँच गरियो भने यस्ता धेरै कोरोना संक्रमितहरु फेला पर्ने सम्भावना छ । त्यसकारणले बढीभन्दा बढी पीसीआर टेष्ट होस् भन्ने हामी चाहेका छौं ।

० संक्रमित व्यक्तिहरुको सम्पर्कमा अहिलेसम्म कति जना आएका छन् भन्ने कुराको टे«सिङ्ग भयो त ?

— हामीले नेपाली सेना, जनपद प्रहरी लगायत हाम्रा पनि सहकर्मी टीमहरुले ए, बी र सी गरेर तीनवटा समूह बनाएका छौं । हाम्रो समूहले सबैलाई टे«सिङ्ग गरिरहेका छौं । हामीसँग किट भएर पनि हुँदैन । अहिलेसम्म जाँच गर्ने क्षमता एक दिन तीन सय मात्रै छ । यो क्षमतालाई पनि बढाएर पाँच हजारसम्म पुर्याउनुपर्छ ।

० वीरगन्जमा अझ बढी संक्रमितहरु फेला पर्ने सम्भावना छन् ?

— वीरगन्जमा अझ बढी संक्रमितहरु फेला पर्ने सम्भावना छन् । जसरी एउटै परिवारका १७ जनामा संक्रमित भेटिएका छन्, त्यस्ता त हजारौं परिवार छन् त्यो क्षेत्रमा । सबै परिवारको जाँच गर्न सुरु गरियो भने कति संक्रमितहरु फेला पर्छन् भन्न सकिँदैन । अहिले पर्याप्त मात्रामा जाँच नै भएको छैन ।

० यस्तो अवस्थामा कोरोना रोकथामका लागि कस्तो रणनीति बनाउँदै हुनुहुन्छ ?

— जुन ठाउँमा बढी समस्या देखिएका छन्, त्यो क्षेत्रलाई सिल गर्ने, आवतजावत पूरै बन्देज लगाउने, घरमै बस्दा भौतिक दूरी कायम गरेर बस्नु नै एक मात्र रणनीति हो । अब हामी मानसिकरुपले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । अर्को कुरा हामीले बढीभन्दा बढी टेष्ट गर्नुपर्ने छ । त्यो टेष्टबाट जुन किसिमका परिणामहरु आउँछन्, त्यसका लागि अस्पतालहरु चाहियो । नायाणरी अपस्ताललाई अहिले हामी कोभिड अस्पताल बनाइदिएका छौं, त्यो ठूलो गल्ती हामीसँग भएको छ ।

० विश्वका सुपर पावर भनिने राष्ट्रहरुले कोरोनालाई नियन्त्रण गर्न सकेको छैन, हजारौंको संख्यामा मृत्यु भएका छन् । त्यो हिसावमा नेपालले ठूलै उपलब्धि हासिल गरेको, कोरोनालाई सरकारले नियन्त्रणमा राखेको भन्ने जस्ता दाबीहरु पनि गरिँदैछ । यसमा के भन्नुहुन्छ ?

— हाहाहा.. (हाँस्दै) यस्तो दाबीलाई म खोकला दाबी भन्छु । नेपालीहरुको आफ्नै इम्युनिटी पावर बढी भएकोले बढी समस्या देखिएको छैन । तर, कोरोनाले वृद्धवृद्धा, बच्चाहरुमा लाग्न सुरु हुन्छ तब यस्ता दाबीहरु हावा जान्छ । यहाँ कोही मरेन भनेर हामी खुशी हुने बेला छैन अहिले । हामी कोरोना रोकथाममा लाग्नुपर्यो, व्यवस्थापनमा लाग्नुपर्यो । अहिलेसम्म नेपालमा कोरोनाले त मरेन तर कोरोनाका कारण जेनरल अस्पताललाई कोभिड अस्पताल बनाइयो, ३ जना मान्छे डाइग्नोसिस नपाएर मरिसकेका छन् । यो बहुत दुखद् कुरा हो, नेपालमा कोरोनाबाट त कोही मरेन तर डाइग्नोसिस नभएर मर्नु ठूलो कुरा हो । यो कुरालाई सरकारले कति गम्भीरताका साथ लिएको छ कि छैन हामीलाई थाहा छैन ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया