‘सीमा विवादमा मधेशलाई शंकाको दृष्टिले नहेरियोस्’

राजनीति

       

काठमाडौं, ३१ बैशाख । राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवले दौरा सुरुवाल लगाउनेले गरेको सम्झौताले सीमा विवाद भइरहेको आरोप लगाएका छन् ।

बुधबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद यादवले कोशी, गण्डकी, महाकाली, टनकपुरलगायतका सबै सम्झौता मधेशका धोती, कुर्ता, गम्छा लगाउनेले नगरेको दाबी गरे ।

‘यो राष्ट्रमा भारतले केही ग¥यो भने मधेशका जनतालाई असर गर्ने कुरा भइरहन्छ । भारतका रक्षामन्त्रीले सडक उद्घाटन गरेपछि नेपाल सरकारले कालापानीमा सडक बनेको थाहा पाएको हो?’ उनले भने, ‘के यो सडक रातारात बनेको हो?’

कोशी, गण्डकी, महाकाली, टनकपुर जति सम्झौता भएका छन् त्यो कुनै धोती, कुर्ता, गम्छा लगाउनेले नगरेको उनले जिकिर गरे । उनले भारतले नेपाली भूमिमा सडक खनेको कुरा प्रधानमन्त्रीले थाहा थिएन भनेर पन्छिन नहुने बताए । उनले समयमै कुटनीतिक नोट दिएर त्यसलाई रोक्न सक्ने काम प्रधानमन्त्रीले नगरेको आरोप पनि लगाए ।

उनले भारतसँगको विवादमा मधेशका जनतालाई सधैँ शंकाको दृष्टिले हेर्ने गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘हामी स्पष्ट भन्न चाहन्छौ । नेपालको एक इन्च भूमिका लागि हामी मर्न तयार छौँ । हामीलाई शंकाको दृष्टिले नहेरियोस् ।’

तपाईको प्रतिक्रिया