सीमा रक्षाका लागि सरकारले उपयुक्त कदम उठाएन : महतो

राजनीति

       

काठमाडौं, ५ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद राजेन्द्र महतोले जनताको समस्या सम्बोधन गर्न छोडेर कुर्सी जोगाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद महतोले राजनीतिक स्थायित्वको कुरा गर्ने सरकारले अस्थिरता निम्त्याएर कुर्सी जोगाइराख्न रातारात अध्यादेश ल्याएको दाबी गरे ।

सिंगो देश नै महामारीबाट आक्रान्त भएका बेला जनताको जीवनरक्षा र आर्थिक मन्दिबाट अर्थतन्त्र जोगाउनेतर्फ केन्द्रित हुनुपर्नेमा सरकार झिना मसिना कुरामा अल्झिएको टिप्पणी महतोले गरे । स्वदेशी बस्तु उपभोग गर्ने भने पनि उत्पादन वृद्धितर्फ ठोस कार्यक्रम नआएको आरोप उनले लगाए ।

सरकारले लकडाउनबाट प्रभावित उद्योगधन्दा, सर्वसाधारणलगायतको जीवनरक्षाका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै महतोले आक्रोश पोखे । संकटको बेलामा औषधि खरिदमा पनि भ्रष्टाचार गरेको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको भन्दै सुशासन, न्याय र अपराधमुक्तको समाजको नारा केबल सुँगा रटाईमा सीमित भएको उनले दाबी गरे ।

नेपाली भूमिमा भारतले बाटो निर्माण गरेको गरेको जानकारी भएर पनि सरकारले समयमा नै सीमा रक्षाका लागि उपयुक्त कदम चाल्न नसकेको उनले आरोप लगाए ।

‘कसले सीमा रक्षा गरिदिने हो ? सरकारले गर्ने हो कि ? कसले गर्ने हो ? ७० वर्षदेखि उठेको कुरा हो । सरकार के हेरेर बसेको थियो ? यो राष्ट्रघाती हो कि होइन ? मधेशी दलले बोलेन, राजेन्द्र महतोले बोलेन रे । सीमाको रक्षा दौरा सुरुवाल टोपी लगाउने केपी ओलीले गर्ने कि राजेन्द्र महतो धोती लगाउनेले गर्ने ? जनताको जीवन र देशको सीमा रक्षा गर्न नसक्ने सरकारलाई के भन्ने ? असफल भन्ने, नालायक भन्ने, राष्ट्रघाती भन्ने कि अपराधी भन्ने ?’ उनको आक्रोश थियो ।

तपाईको प्रतिक्रिया