नेपाल–भारत सीमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले पछि हुने

समाचार

       

काठमाडौं, ९ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ ।

भर्चुअल वार्ताका बारेमा नेपालले राखेको प्रस्तावलाई भने भारतले अस्वीकार गर्दै यो विषय बसेर छलफल गर्नुपर्ने स्पष्ट पारेको छ । भारतीय पक्षले लामो समय लगाएरै भए पनि वार्ताका लागि सकारात्मक जवाफ दिनुलाई आफ्नो पहलकदमी र दलहरूको एकवद्ध स्वरलाई कारक मानिएको छ ।

नेपाल–भारतबीच सीमाको विषयमा सल्टाउन बाँकी रहेको सीमालगायतको विषयमा अन्तर्राष्ट्रिय उडान खुलेको एक साताभित्र वार्ता गरिसक्ने गरी छलफल भइरहेको दिल्लीस्थित अधिकारीले पनि बताए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको सीमा अतिक्रमणको विषयमा वार्ताका लागि ताकेता गरिरहँदा यस्तो नतिजा बाहिर आएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरसँग अहिले यो विषयमा कुरा नभए पनि राजदूतमार्फत सूचना आदान प्रदान भइरहेको छ ।

यद्यपि, भारतले आफूहरू कोभिड–१९ विरुद्धको लडाइमा रहेकाले तत्काल गर्न पर्ने विषयबाहेक अन्य मामिला ठप्प रहेको बताउँदै आएको छ । नेपाली राजदूत नीलाम्बर आचार्यले फरक–फरक संयन्त्रमार्फत प्रयास गरेपनि नतिजा आउन पनि ढिलाइ भएको परराष्ट्र अधिकारीको बुझाइ छ ।

तपाईको प्रतिक्रिया