राजपाको आन्तरिक समस्याले एकतामा ढिलाइ : उपेन्द्र यादव

राजनीति

       

काठमाडौं, १४ जेठ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको विषयमा राजपा नेपालभित्रको विवादले अड्किएको बताएका छन् । राजपाका शीर्ष नेतृत्वमा पार्टी एकताका विषयमा एकरूपता नदेखिएकाले कुरा अड्किएको उनले बताए ।

ती दुई दलले एकता गरेर जनता समाजवादी पार्टी (जसपा) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि दर्ताको निम्ति आवश्यक दस्तावेज बुझाउने ४५ दिने म्याद पाएका छन् । तर ३५ दिन बितिसक्दा एकताको महत्वपूर्ण काम नेताहरुको जिम्मेवारी बाँडफाँटबारे सहमति जुटेको छैन । कतिपय नेताहरूले उक्त समयसीमाभित्र दस्तावेज बुझाउन नसकिने पनि बताएका छन् ।

पार्टी एकतामा उत्पन्न गतिरोधबारे मौन देखिएका नेता यादवले बीबीसी नेपाली सेवासँग भने, ‘४५ दिनभित्र गर्ने कोसिस भइरहेको छ । भएन भने ४६ औँ दिनमा गरे पनि भइहाल्छ नि ।’

तर राजपाले नेता महन्थ ठाकुरलाई अध्यक्षको रूपमा अघि सारेकोबारेमा आफूलाई जानकारी नभएको यादवको भनाइ छ । यसअघि राजपा नेता शरतसिंह भण्डारीले नेता ठाकुरलाई आफ्नो पार्टीको तर्फबाट अध्यक्ष मण्डलले एकीकृत दलको अध्यक्षको रूपमा प्रस्ताव गरेको बीबीसीसँग बताएका थिए ।

बरू त्योभन्दा फरक प्रस्ताव राजपाको तर्फबाट आएको यादवले बताए । उनका अनुसार महन्थजीलाई सम्मानित पद दिने प्रस्ताव आएको छ । ‘संरक्षक, संयोजक वा त्यस्तै केही मानार्थ पद दिने भन्ने प्रस्ताव राजपाका शीर्षस्थ नेताहरूबाटै आएको छ’, यादवले भने ।

अध्यक्ष यादवका भनाइमा राजपाभित्रको आन्तरिक समस्या र किचलोका कारण एकीकरणमा ढिलाइ भएको छ । उनी भन्छन्, ‘छजना अध्यक्ष भएको पार्टी न हो, राजापा, छजना अध्यक्षको छ तिर कुरा छ ।’ उनले मुख्य समस्या राजपा भित्र रहेको र त्यसमा एकरूपता हुने बित्तिकै एकताको टुङ्गो लाग्ने बताए ।

अहिले आफ्नो पार्टीमा बाबुराम भट्टराई आफूभन्दा माथिल्लो मर्यादामा रहेको बताउँदै उनले आफूहरू सबैले नेता भट्टराईलाई सम्मान गरिरहेको र कुनै टकराव नरहेको स्पष्ट पारे । एकीकृत पार्टीमा नेता भट्टराईको स्थानबारे नेता यादवले भने, ‘तत्कालका लागि उहाँ संघीय परिषद्‌मा नै रहनुहोला जस्तो छ ।’

तपाईको प्रतिक्रिया