जनकपुरधाम, २६ कार्तिक । भाई–बहिनीबीच मायाको प्रतिकको रुपमा मनाइने मिथिलाको सांस्कृतिक पर्व सामा–चकेवा लोपन्मुख अवस्थामा प्रायः पुगिसकेको छ ।
मुख्य रुपले यस पर्वप्रति रुचि राख्ने नयाँ पुस्ता कमै पाउने गरिएको छ । केही वर्ष अघिसम्म अधिकांशले धुमधामका साथ मनाउने सामा–चकेवा अहिले आएर सिमित व्यक्तिले मात्र मनाउने गरेका छन् ।
मिथिलाको सांस्कृति पर्व सामा–चकेवालाई संरक्षण र प्रवद्र्धन गर्न आवाजहरु समेत उठ्ने गरेको छ । सामा–चकेवा लोप भइरहेको अवस्थामा यसलाई संवद्र्धन गर्ने उद्देश्यले जनकपुरमा प्रर्दशनीको आयोजना गरिएको छ ।
सामा–चकेवाका बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले जनकपुरस्थि मिथिला नाट्यकला परिषद (मिनाप) ले पहिलो पटक सामा–चकेवाका सबै पात्रहरुको प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा माटोले तयार पारिएका सामा–चकेवा, चुगला, वृन्दावन, जानकी जन्म, डिहुली, साम्ब, हंसनी, खन्जन, खररीच, रामभैया, भैया बटतकनी, मयुरनी, झाँझुर कुत्तासहिका प्रमुख पात्रहरु राखिएको छ ।
कवि एवं कलाकार विजय दत्त मणिले तयार पारेका सामा–चकेवाका पात्रहरुको प्रदर्शनी हेर्न उल्लेख्य संख्यामा सर्वसाधारणहरु पुगेका छन् ।
लोप भइरहेको सामा–चकेवा पर्वलाई सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको मिनापका अध्यक्ष परमेश झाले बताए । प्रदर्शनीले सामा–चकेवाप्रति नयाँ पुस्तालाई जानकारी गराउने मुख्य उद्देश्य रहेको उनको भनाइ थियो । छठको खरना दिनदेखि कार्तिक पूर्णिमासम्म सामा–चकेवा पर्व मनाइन्छ ।
तपाईको प्रतिक्रिया