मेरो राजनीतिक पृष्ठभूमि लोकतान्त्रिक धारबाट शुरू भएको र तत्कालीन नेपाली काँग्रेसको पारिवारिक पृष्ठभूमि रहेको छ । कलेज पढ्दाको बखत नेविसंघ तथा नेपाली काँग्रेसलाई औपचारिक/अनौपचारिक सहयोग गरियो । त्यसबेला हाम्रो निर्वाचन क्षेत्र सर्लाहीको तत्कालीन सांसद मा.महन्थ ठाकुर हुनुन्थ्यो, उहाँ नेपाली काँग्रेसबाट नै हुनुहुन्थयो ।
वि.सं. २०६४ पुस मसान्तमा जब महन्थ ठाकुरजीसँगै विभिन्न पार्टीका नेताहरू राप्रपाबाट सर्वेन्द्रनाथ शुक्ल, रामचन्द्र राय, काँग्रेसबाट वृषेषचन्द्र लाल, रामचन्द्र कुशवाहा, सदभावनाबाट हृदयेश त्रिपाठी लगायत दर्जनौ नेताहरू तत्कालीन आफ्नो कार्यरत पार्टी परित्याग गरे । अब मधेश भूगोल हो, मधेशी समुदाय हो जबसम्म हामी मधेशको लागि आवाज मजबुत बनाउँदैनौ तबसम्म मधेश शोषणमा परिरहन्छ भनेर सबै जनाको एउटै स्वर आउन थालेपछि एउटा सचेत युवाको हैसियतले उहाँहरूलाई साथ दिने निधो गरे ।
फलस्वरुप २०६४ पुस १३ गते मा.महन्थ ठाकुरजीको नेतृत्वमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी गठन भयो र म पनि त्यहीं दिनदेखि पार्टीको औपचारिक सदस्य हुन पुगें । पार्टीले मलाई विद्यार्थी संगठनमा काम गर्ने अभिभारा दियो र मैले विद्यार्थी संगठनको कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसम्मको भूमिका निर्वाह गरें । परिणाम स्वरूप तमलोपाको विद्यार्थी संगठन तराई–मधेश विद्यार्थी फ्रन्टको पहिलो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भएँ । पार्टीकै कार्यक्रमहरूलाई अगाडी बढाउने क्रममा कहिले भोकै त कहिले लामो समयको हिडाई त कहिले संगठन विस्तार त कहिले प्रचारप्रसार त कहिले जनपक्षीय माग राखी आन्दोलन आदि अनवरत चल्दै गयो ।
आन्दोलनकै क्रममा प्रहरीद्वारा लठ्ठी खाएको, आँशु ग्यासद्वारा प्रताडित भएको त कैयौंपटक थुनामा गएको यसका अनेकन दृष्टान्तहरू छन् । तथापी मधेशको पक्षमा दृढताका साथ अगाडि बढ्ने संकल्पसंगै विभिन्न बाधा अवरोधका बाबजुद नडगमगाई अगाडि बढिरहें । पार्टी पनि कहिले एकता त कहिले अलग हुँदै गयो तर म भने जुन सोच र अठोट २०६४ पुस १३ गते तत्कालीन नेपाल सरकारको मन्त्री पदबाट राजीनामा दिई तत्कालीन नेपाली काँग्रेसको केन्द्रीय कोषाध्यक्षको पद परित्याग गरी साधारण सदस्य समेत नरहने गरी राजीनामा दिई बुलन्द हौसलाका साथ जोशिला होशपूर्ण तथा तार्किक अभिव्यक्ति दिई महन्थ ठाकुरजीले पार्टी गठन गर्नुभयो । त्यहीं सोचले प्रेरित भई आजसम्म उहाँ संगैको पार्टीमा अटल भई अडिग रहेको छु ।
जब वि.सं. २०७४ सालको आम निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले मलाई तत्कालीनको प्रदेश नं. २ अहिलेको मधेश प्रदेशको प्रदेशसभा उम्मेदवारको रूपमा समानुपातिक सूचिमा मेरो नाम पठाइयो । त्यसलाई पार्टी अहिलेसम्म गरेको मिहिनेतको आंशिक मूल्यांकनको रूपमा लिएको थिएँ । आम निर्वाचनको उम्मेदवार भइसकेपछि मेरो दायित्व अब संगठन मात्र रहेन मैले आफ्नो सामाज, पालिका, क्षेत्रको लागि पनि मिहिनेत गर्नुपर्छ भनि महसुस गरी पालिकादेखि क्षेत्रसम्म तथा संगठनको जिम्मेवारीमा रहेकोले देशभरिकै साथीहरूको समस्या समाधानतिर अग्रसर हुँदै गएँ ।
तत्कालीन प्रदेश नं.२ मा हाम्रो सरकार बन्यो र सरकारको सहयोगमा, विभिन्न संस्थाहरूको सहयोगमा, अन्तर्राष्ट्रिय निकायहरूको सहयोगमा मेरो पालिका रामनगर गाउँपालिकालाई समृद्ध तथा सुगम बनाउनका निम्ति १५० मिटर देखी ५५० मिटरसम्मका कैयौं ढलान सडकहरू निर्माण गराएँ । यसैगरी, रामनगर–१ मा खानेपानी आयोजनाको कार्य शुरूवात गराएँ, विभिन्न मठ मन्दिरहरूको स्तरोन्नति गराएँ, छठी घाटदेखि नदी नियन्त्रणसम्मको कार्य गराएँ, महिलाहरूलाई पैड बनाउन सिकाउनेदेखि स्कुल पढ्ने बच्चाहरूका निम्ति जुत्ता वितरणसम्मको कार्य गराएँ, साधुहरू बस्ने धर्मशालादेखि विद्यालयभित्र सुविधासम्पन्न शौचालयको व्यवस्था गराएँ, पक्की पुलको डिपिआरदेखी झोलुगें पुलसम्मको कार्य सम्पन्न गराएँ ।
यस्तै, क वर्गका बैंक स्थापना गराएँ, शीतलहरका समयमा कम्बल बितरण गरें, विद्यालयमा खेल सामग्रीदेखि शैक्षिक भ्रमणसम्ममा सहयोग गरें/गराएँ । यति मात्र हैन, देखिने बाहेक नदेखिने अनगिन्नत पालिकावासीलाई परामर्शहरू दिएँ, बाटो देखाएँ । पालिका मात्र हैन क्षेत्रकै नेतृत्वहरू बिभिन्न समयमा बिभिन्न किसिमका सहयोग तथा सल्लाह दिँदै आएँ ।
यति भएपछि पालिकाभित्र भन्ने गरिन्छ “जति काम यहाँको मेयरले गरेका थिएन त्योभन्दा बढी विकास कुनै पदमा नरहेर मनिषले गरेर देखाइदिएछ ।” आज प्रदेशबाट ल्याएर विकास नभएको भए पालिका नै सुनसान देखिने थियो । यति सुन्दा मेरो मन प्रफुल्लित भएर आउँछ र फेरि झोक चल्छ मेरो पालिका धेरै कुरामा पिछडिएको पालिका हो यसका लागि नयाँ तरिकाले सोच्नु पर्दछ । केही न केही गर्नु पर्दछ ।
यसरी नै काम गर्नका लागि सोच बनाएर पालिकादेखि क्षेत्र, जिल्लासम्ममा राम्रो कार्यको शुरूवात गर्नुपर्छ, राम्रो राजनीतिक संस्कारको विकास गर्नुपर्छ भनेर सोचे र त्यसका निम्ति बढी समय क्षेत्रमै दिनुपर्ने भएकोले विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिए र अब मूलधारको राजनीतिमा रही जनताको सेवा गर्नेछु भनि मन बनाएँ ।
यही यस्तै चलिरहँदा स्थानीय चुनावको मिति घोषणा भयो । पालिकामा गए पार्टीभित्र चुनावी छलफल तीव्र भयो साथीहरूले गाउँ, समाज राम्रोसँग बुझ्न लाई स्थानीय चुनावमा आउनु पर्छ भने तर मेरो ईच्छा थियो प्रदेश सभाको निर्वाचनमा भाग लिने । लगातार पालिकामा छलफल हुन थाल्यो पार्टीभित्र वडाका आकांक्षाहरू धेरै देखिन थाले पालिका अध्यक्षको लागि अरू पार्टीबाट टिकट नपाएका व्यक्तिहरू टिकट दिनुभयो भने आउँछु भनेर पार्टी भित्रकै व्यक्तिहरूलाई उचाल्न थालें ।
तथापि समय कम भएकोले पार्टीभित्र निर्णय गर्नुपर्ने भएकोले केही समयको अन्तरालपछि प्रत्येक वडाका अध्यक्षहरू र पालिका अध्यक्ष, उपाध्यक्षको बारेमा सर्वसम्मत निर्णय भयो, जसमा पालिका अध्यक्षमा मेरो नाम सर्वसम्मतले निर्णय भयो । तर पनि म चाहन्थे पार्टी भित्रबाटै कोही पालिका अध्यक्षको उम्मेदवार बनून जसलाई म सहयोग गरौं । तर विभिन्न किसिमका लोभलालच दिई अरूले उचाल्दैमा उचालिने र आफ्नै पार्टीभित्र अरूको गुनगान गर्ने प्रवृति पनि देखियो ।
हामीलाई लामो समयसम्म राजनीतिक जिवन बिताउनु छ । हार–जीत ठूलो होइन, राजनीतिक संस्कारको विजारोपन गर्नुछ, माथि भनिए जस्तै विकास गर्न पदमै पुग्नुपर्दछ भन्ने जरूरी छैन सोच हुनुपर्दछ । जनताको मन जित्न सके पद कुनै ठुलो कुरा होइन । यी र यस्तै चर्चा परिचर्चा हुँदै गयो तर हाम्रो घरमा कसैको कालो नजर लागिसकेको आभाष गरे जति सम्झाउँदा बुझाउँदा पनि चितबुझ्दो माहौल नभएपछि पार्टीको साख र सामाज बुझ्नका निम्ति अन्तिम घडीमा गापा अध्यक्षमा चुनाव लड्ने निधो गरें ।
२०७९ को स्थानीय निर्वाचनमा रामनगर गापाको अध्यक्ष पदका लागि नोमिनेसन दिइयो । मैले प्रत्यक्ष चुनाव लडेको पहिलो चोटी थियो, अनुभव लिने मौका पाएँ, धेरै कुराहरू बुझियो, सिकियो र यसको सबैभन्दा राम्रो पक्ष घरहरूमा भोट माग्न जाँदा प्रत्यक्ष संवाद गरिन्थयो । जुन कि राजनीतिक व्यक्तिका लागि सधैंभरिका सम्पति हुन्छ । उक्त कुरा हासिल गर्ने मौका पाएँ तर निर्वाचित हुनका निम्ति चाहिने संख्या पुग्न सकेन । तथापि अनुभवी भएकोमा खुसी छु ।
चुनावको क्रममा अनुभव भएका तितामाठा कुराहरू कुनै दिन लेख्नेछु । तर मैले महसुस गरेको कुरा के हो भने जुन ठाउँमा गएँ त्यहाँ राम्रै कुराहरू सुने, सकारात्मक टिप्पणी सुने, सबैले सराहना पनि गरे तर धेरै घरमा म आफै पहिला पुग्या थिइन जुन चुनावको बेला पुगे । जुन कि ढिलो भइसक्या थियो । स्थानीय चुनाव लडनका निम्ति ग्रामीण भेगमा पहिला नै घर–घरमा पुगिसकेको हुनुपर्थ्यो, ग्रामीण भेगमा सबैभन्दा बढी प्रभाव पर्ने नै व्यक्ति–व्यक्तिसँगको चिनजान हो । किनभने त्यहाँका धेरैजसो मतदाता टेक्नोलोजीबाट टाढा रहेका हुन्छन् ।
नेताको बारेमा बुझ्ने भनेकै चिनजानको भरमा हो, त्यसमा अन्तिम समयमा उम्मेद्वारी दिएकोले मिहिनेत नपुगेको महसुस गरे र नयाँ–नयाँ ग्रामीण भेगमा जसरी–जसरी चिनजान हुँदै गयो ती सबैले मलाई अझ संघर्षशील तथा बलियो रूपमा हेर्न चाहेको महसुस गरें । भलेही कम समयको प्रचार–प्रसारले मतको हिसाबले सहयोग भएन । तर मान, प्रतिष्ठा तथा उज्ज्वल राजनीतिक भविष्यका निम्ति अथाह आशिर्वाद तथा अनेकन अनुभव हासिल भयो । अहिलेसम्म कमाइको यही मेरो सम्पति हो । यही मेरो पूँजी हो यसैलाई संग्रह गरी आगामी दिनको राजनीतिक यात्रालाई अगाडी बढाउनेछु । म जुन अवस्थामा रहे पनि मेरो मतदातालाई आफ्नो शिर माथि राख्नेछु भनी प्रतिबद्धता पनि व्यक्त गर्दछु ।
(लोसपा नेता मिश्र सर्लाही जिल्लाको रामनगर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी हुन् ।)
तपाईको प्रतिक्रिया