एमाले जसपाको अप्राकृतिक गठबन्धनको दोष ?

विचार/दृष्टिकोण

लामो समयदेखि पारस्परिक विरोध प्रदर्शनमा रहेका एमाले र जसपा गठबन्धन बनाएर चुनाव लड्ने निर्णय गरेका छन् । एमालेको सशक्त साँगठनिक शक्तिको बुई चढेर जसपा अत्यधिक शक्ति हासिल गर्ने आफ्नो उत्कट अभिलाषा पूरा गर्ने कसरतमा लागेका छन् ।

जसपालाई साम्प्रदायिक पार्टीको रुपमा चित्रित गर्ने एमाले र मधेश विरोधी पार्टीको रुपमा प्रचार गर्ने जसपा दुई विपरित चरित्रको मिलनलाई नै अप्राकृतिक गठबन्धन वा मधेश राजनीतिको स्तरहीनता भनिएको हो । एक अर्काप्रति बिष वमन गर्ने आक्रामक प्रदर्शनमा जुटेका, शासक र शासितको रुपमा रहेका, विपरित चरित्रको मिलनले दुबै पार्टीको जनमत धरातल तरंगित भएको छ ।

कानूनको विपरित गएर नागरिकता विधेयक तुहाउने एमालेको विरुद्ध मधेशका जिल्लाहरुमा प्रदर्शन गर्ने जसपा अकस्मात् यूटर्न भई ओलीसंग सम्बन्ध बनाएपछि आफ्नै पार्टीभित्र कार्यकर्ताले रोष प्रकट गरेका छन् । एमालेलाई कानूनी चुनौती पनि दिन नसक्ने, क्षीणता भोगि रहेको जसपा वैचारिक स्खलनमा परि आत्म समर्पण गरेको जस्तो ठहर्छ ।

पालै पालो लोसपा र जसपालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने एमाले एक अर्कालाई भिडाउने अवस्थामा राखेको छ । अहिले काँग्रेस गठबन्धन त्यागेर जसपा एमालेसंग आएको छ भने एमाले त्यागेर लोसपा काँग्रेस गठबन्धन स्वीकारेको छ । लोसपा र जसपा गठबन्धन बनाएर चुनाव लड्नु भनेको मधेशमा आफ्नो लोकप्रियता गुम्नु हो । यता केही समयदेखि लोसपा विभिन्न कारणले क्षयीकरणमा परेका कारण एमाले लोसपालाई त्यागेर जसपालाई दरवारिया खटन पटनमा राखेको हो ।

शासकवर्गमा पर्ने नेपाली काँग्रेस, एमाले र माओवादी सरकार बनाउने हैसियतको पार्टी भएकोले यी शासक हुन् । देश र जन सरोकारको विषयलाई बिर्सेर स्वार्थ लिप्सालाई प्राथमिकतामा राखेका कारण जनतामाझ अलोकप्रिय बनेका छन् । सरकार बनाउन बहुमत अपरिहार्य विषय रहेकोले एक्लै बहुमत ल्यान नसक्ने अवस्था छ ।

त्यसकारण गठबन्धनको आवश्यकता यी तीनै पार्टीलाई छ । मधेशको राजनीतिलाई केन्द्र मानेर संघर्षशील क्षेत्रिय पार्टी जसपा र लोसपा गठबन्धनमा जानुको अर्थ के ? आफ्नो अस्तित्व बचाई दिन तथा अधिक से अधिक सीट दिलाई दिन यिनी शासकका दरवारिया बनेका हुन् ? मधेशबाट उदित यी पार्टीहरु पनि जनादेश बेचेर स्वार्थ पूरा गरेकाले मधेशमा अलोकप्रिय बनेका छन् ।

मधेशको जनादेश विपरित यी पार्टीहरुको व्यक्ति स्वार्थ र अनैतिक क्रियाकलापबाट वाक्क दिक्क भएर भधेशका जनता अन्ततोगत्वा सधैं शक्तिमा रह्ने शासकहरुको पार्टीमा नै जाने निर्णय गरेपछि यिनको जनआधार भत्किएको हो । एउटाले नेपाली काँग्रेसको र अर्कोले एमालेको सहारामा चुनाव लडि रहेका छन् ।

मधेशका पार्टीहरुको मधेशी जनताप्रतिको अभिभावक जिम्मेवारी हटेपछि संरक्षण खोज्न अवसरवादी मधेशका जनता शासक दलमा प्रवेश गर्दा न आपूmलाई पाश्चाताप छ, न अभिभावकको जिम्मेवारीमा रहेका मधेशका दलहरुलाई कुनै चिन्ता छ । के वैचारिक उद्देश्य लिएर हिंडेका थिए र कुन कार्यमा लागेका छन् । आफ्नो क्रियाकलापप्रति पछुतो लागेको छैन ।

मधेशको नाममा राजनीति गर्ने जसपा, लोसपा मधेश विरोधी कालो संविधान ल्याउँदा केपी शर्मा ओलीलाई चोख्याई दिएको थियो । त्यस्तै अहिले ५ लाख मधेशी जनताका सन्तानको नागरिकताबिना जीवन निष्क्रिय पारि दिने एमालेलाई जसपाले चोख्याएको छ । मधेश विरोधी गतिविधीमा संलग्न मधेशका पार्टीहरुलाई मधेशले किन मत दिने ?

यो र त्यो बहानामा दुबै पार्टीको गतिविधि शासकवर्गको दासता स्वीकारेर स्वार्थसिद्ध गर्ने मात्र रहेकोले १५ वर्षको अभ्यासले देखाएको छ । मधेशी जनताको विकल्प पनि नरहेको र समस्त समस्यासंग जुध्नु पर्दा सहयोगको लागि शासक दलसंग जाने बाध्यताका कारण मधेशी जनताको अन्य दलमा पलायन क्रम शुरु भएको हो ।

शासकवर्ग ले आपूmलाई चुनौती दिने मधेशको कुनै शक्तिलाई सिद्धान्तप्रति दृढ, जनतामा स्थापित रह्न दिने अवस्थामा देख्न चाहँदैन । राजनीतिमा समान हैसियत बनाउन दिदैन । बनाई हाले पनि त्यसलाई अनेक विधीको साजिशबाट आफ्नो गुलाम बनाउने प्रवृति प्रवल रहेको, चुनौती दिने अनेक अधिकार आन्दोलनलाई कसरी मत्थर गरेर विसर्जन गराएबाट स्पष्ट बुझन सकिन्छ । क्षेत्रिय पार्टीसंग पनि सोही भएको हो ।

पार्टी त छ तर ऊ शासकवर्गसंग मिलेर स्वार्थ पूरा गर्छन् । शासकवर्ग मधेशमा प्रचार गर्न जाँदा मधेशका पार्टीहरुको सैद्धान्तिक विचलनबारे नै कुरा गर्छन् । आपूmबाहेक अरु कोही ठीक छैन भन्ने शासकवर्गको दुस्चरित्रबारे मधेशका क्षेत्रिय सबै पार्टीहरुलाई थाहा छ । अस्तित्वमा कायम रह्न यी साना पार्टीलाई शासकवर्गको गुलामी गर्ने बाध्यता छ ।

तर सधैं यो अवस्था कायम रह्दैन । राजनीतिमा जसरी देवत्व हासिल गरेर शासकवर्गले देश र जनताको वेवास्ता गरि लोकप्रियता गुमाएको छ र चुनावमा एक्लै जान डराएको छ, त्यस्तै जनताले यसपाली ठाउँको ठाउँ फाल्ने जनचेतना देखाई रहेको छ ।

कत्र्तव्यहीनता र जिम्मेवारी बोध नभएका शीर्ष नेताहरुप्रतिको जनआक्रोशले यसपाली नवीन राजनीतिको जन्म दिने कुराको प्रवल सम्भावना छ । राजनीतिक चेतनाको प्रकाश चारैतिर फैलिएकोले शीर्ष पुराना नेताहरु विरुद्ध सक्षम युवाहरुको उम्मेदवारीले यही कुरा दर्शाउँछ ।

माले र जसपा पारस्परिक विपरित चरित्रको भएको, एमालेले मधेशमा गराएको नरसंहार, विध्वंशबाट मधेश पूर्णतया वाकिफ छ । यस गठबन्धनबाट जसपाका नेता कार्यकर्ता पनि असन्तुष्ट रहेकोले नैतिकता भएको नेता कार्यकर्ताले निर्देशन बमोजिम अनैतिक कार्य गर्न तयार हुँदैन । त्यसकारण एमाले र जसपाको अनैतिक गठबन्धनको दोष यही दुई पार्टीलाई लाग्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ