मधेश : बलिदानी भूमि

विचार/दृष्टिकोण

सन्तोष मेहता

प्रथम मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहीद भएका थिए । दोस्रो जनआन्दोलनको सफलतापछि २०६३ माघ १ मा अन्तरिम संविधान जारी भयो । अन्तरिम संबिधान मस्यौदा हुदै गर्दा सदभावना पार्टीले संघियता समावेसिता आदि बिषयमा संविधानमै नोट अफ डिसेन्ट लेखे तत् पश्चात पनि अन्तरिम संसदद्वारा अन्तरिम संबिधान जारि भै रहदा तत्कालिन सद्भावनाक नेता राजेन्द्र महतोले अन्तरिम संबिधानमा स्पस्ट देश अब संघिय मुलुक हुने कुरा नलेखिएकोले अब मधेशमा आगो लाग्ने र उक्त आगो कुनै दमकलले पनि निभाउन नसक्ने बताएका थिए ।

केहि दिन अघि मात्र नेपालगन्जमा मधेशी उपर भएको लुटपाट र आतंकका भिडिओ पनि स्वतस्फुर्त गाउ गाउमा देखाइदै थियो यसै बखत महतोको एतिहासिक संसद सम्बोधन बिभिन्न मिडियाबाट लाइभ भएको हुनाले देशभर खासगरी मधेशमा उक्त सम्बोधनले उद्देलित गराएको थियो ।

नभन्दै तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (एउटा गैरसरकारी संस्था) का उपेन्द्र यादब सहित किशोर विश्वास, रामकुमार शर्मा, रामकिशोर सिंह, उपेन्द्र झा, विपी यादवसहितल केही कार्यकर्ताहरूले माघ २ मा राजधानीस्थित माइतीघर मण्डेलामा अन्तरिम संविधानको प्रति जलाए । त्यसपछि नेताहरूमाथि प्रहरीले धरपकड गर्यो । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा दायर गर्ने तयारी गर्दै तत्कालीन सरकारले संविधान जलाउने कार्यमा संलग्न आरोपमा झन्डै दर्जन बढीलाई प्रहरी हिरासतमा राखेर निगरानी बढायो ।

मधेशी नेताहरूमाथि प्रहरीले दमन गरेको भन्दै फोरमका कार्यकर्ताहरूले माघ ३ मा तराई–मधेश बन्दको घोषणा गरे । हुस्सु र कुहिरोसँगै चिसो हावाले सबैजना काँपिरहेका थिए । त्यहीबेला केही युवाले फूर्तिका साथ पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरे । सप्तरीको कञ्चनपुर बेरियर (हाल कञ्चनरुप नगरपालिका ५) मा लगभग तीन घण्टा चक्काजाम भयो ।

त्यसको भोलिपल्टै सिरहाको लहान तनावग्रस्त बन्यो । लहानमा चक्काजाम गरी बसेका युवामाथि प्रहरीले अत्यधिक बल प्रयोग गर्यो । यसको जवाफमा चक्काजामका कारण रोकिएका दर्जनौं सवारी साधन खरानी बने । यही तनावका बीच गोली चल्यो र गोलीको शिकार बने सिरहा मझौराका रमेश महतो । उनी तत्कालै ढले । महतो ढलेलगत्तै उनको लास लुकाउने प्रयास भयो । यो घटनाले उग्र रुप लियो र तराई÷मधेशका सबै जिल्लामा आन्दोलन फैलियो । राजमार्गको दुबै छेउमा रहेका मोटामोटा रुखहरु ढालेर सडक अवरुद्व गरियो ।

आन्दोलनले चर्को रूप लियो । झन्डै २४ दिनसम्म जारी आन्दोलनले दुई दर्जनभन्दा बढीले सहादत प्राप्त गरेपछि तत्कालीन सरकार आन्दोलनरत पक्षसँग वार्ता गर्दै सहमतिमा पुग्यो, त्यसपछि आन्दोलनले विराम लिएको थियो । तर फोरमकै केही कार्यकर्ताले सरकारसँग आफ्नो संगठनले गरेको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरे, संस्थापन फोरमबाटै अलग हुने निर्णय पनि गरे । किशोर बिश्वास र भाग्यनाथ गुप्ताको नेतृत्वमा छुट्टै संगठनको घोषणा गर्दै केही नेताहरू फेरि पनि आन्दोलनकै मुडमा देखिए । तर तत्काल आन्दोलनले निरन्तरता पाउन सकेन ।

सद्भावना पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी र फोरम नेपाल मोर्चाबन्दी गर्दै फेरि तराई–मधेशमा आन्दोलनको थालनी गर्यो । जनधनको क्षति रोकिएन, आन्दोलनकारीले सरकारी कार्यालयहरूमा ’मधेश सरकार’ लेख्ने कार्यसमेत गरे । सरकार फेरि आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गर्यो । त्यसपछि मधेशी मोर्चा र सरकारबीच आठबुँदे सहमति भयो । उक्त सहमतिपछि मुलुक संघीयतामा गएको हो ।

मुलुकलाई संघीयतातर्फ डोहोर्याएको श्रेय मधेश आन्दोलनलाई नै जान्छ । मधेश आन्दोलनकै देन हो, मुलुकमा संघीयता र समावेशिकता । पहिलोपटक मुलुकको मूल कानुनमा संघीयता भन्ने शब्द मात्रै थपिएन, मधेशीको पहिचानसमेत कायम भयो, सरकारी दस्ताबेजहरूमा मधेशी शब्दले स्थान पायो । आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेशी मोर्चासँग सम्झौता गरेको थियो । हुन् त ति १६ बुंदे सम्झौता अनुसार अझै माग पूरा भएको छैन ।

यो आन्दोलन चलिरहँदा ५४ जनाले ज्यान गुमाए । धेरै अंगभंग भए । यसै दिन अर्थात् माघ ५ गतेको दिनलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ । यसवीचमा तीनवटा मधेश आन्दोलन भइसकेका छन् ।मधेश आन्दोलनबाट केही प्राप्त नभएको पनि होइन । संघीयता, जनसँख्याको आधारमा प्रतिनिधित्वको सवाल, नागरिकता, पहिचान गायतका कुरा त्यहीँ आन्दोलनबाट प्राप्त भएका हुन् । तर, आन्दोलनको अझै टुगों लागेको छैन ।

राज्यको चरित्र मधेशप्रति दमनात्मक छ । आन्दोलनलाई सेटलमेन्ट गर्नुको सट्टा झन् उत्तेजित बनाउने काम सरकारबाट भइरहेको छ ।’पहिलो मधेश आन्दोलन राज्य विरुद्धको आन्दालन थियो । त्यो आन्दोलनलाई समाप्त कसरी गर्न सकिन्छ भनेर राज्यले सोच्यो । तर, मधेशले त्यसको प्रतिरोध गरिरह्यो । अहिले पनि राज्य र मधेशबीच त्यसैका लागि लडाई भइरहेको छ । मधेशले मात्र आठ जिल्लाको प्रदेश पाएको छ, आफ्नो राजधानी पाएको छ, तर यो आंशिक उपलब्धि मात्रै हो । मधेशले स्वायत्तता, आत्मनिर्णयसहितको प्रदेश खोजेको थियो तर त्यो हुन सकेन, प्रशासनिक ढाँचाका रूपमा प्रदेश र राजधानी मात्रै पाएको छ ।

अधिकार प्राप्तिको लागि मधेश आन्दोलनको विगुल फुकेर अग्र स्थानमा रहेका युवाहरु अहिले ओझेलमा परेका छन् ।मधेशमा भएको तीनवटै मधेश आन्दोलनमा दर्जनौं मधेशी जनताले सहादत प्राप्त गरे । कयौं घाइते भए, अशक्त भए । कयौंमाथि राजनीतिक मुद्दा लगाइयो । सोही आन्दोलनमा होमिएका कारण कयौं नागरिक अहिले पनि आन्दोलनकै कारण जेलमै छन् ।

२००८ साल देखि २०७९ सालसम्म मधेशी समुदायले लगातार कुनै न कुनै रुपमा संघर्ष गरिरहेको छ। तर उपलब्धि खासै देखिदैन। बलिदानी दिवस को अवसरमा संकल्प गरौ, मुख्य मधेशी शक्ति (थारू+बाजी, हिन्दू +मुश्लिम) हरु ति वीर शहीदो का सपना पुरा गर्नको निम्ति संघर्षको निम्ति तयार होउ । प्रतिक्रान्तिको दौर शुरु भैसकेको छ अब आन्दोलनको नेतृत्व गर्नेहरुलाई गौर हत्या काण्ड, टिकापुर विद्रोह उक्साउने, स्वतन्त्र मधेश उक्साउने आदि नाममा फसाउने षड्यंत्र हुन् सक्छ ।

अब आगामी संघर्ष मधेशी, आदिवासी जनजाति , उत्पीडित खस आर्य, महिला ,दलित लगायत सवै उत्पीडित जातजाति र समुदायको हकहितको लागि समर्पित भै अधिकार समपन्न गराउन तर्फ दृढ संकल्पित भएर लाग्नुको विकल्प छैन। हाम्रो देशमा आजसम्म कुनै पनि परिवर्तन सदनबाट भएको छैन, सडकलाई नै बलियो बनाउनु पर्दछ । मधेश क्रान्तिको भूमि हो, बलिदानीको भुमि हो, पात्र बदलेला तर क्रान्तिकारी चेत जीवित रह्नु पर्दछ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ