लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लविङ् सुरु गरेको छ । राष्ट्रपतिको प्रस्ताव लिएर लोसपाका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई, नेकपा एमाले का अध्यक्ष केपि ओलिलाई, नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा एवं पदाधिकारीलाई छुट्टाछुट्टै भेटेका छन् ।
फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन तालिका रहेको छ । अव सबैको ध्यान राष्ट्रपति निर्वाचन तर्फ केन्द्रित छ । निर्वाचन आयोग फागुन १३ गते मनोनयन र २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजानिक गरिसकेको छ । राष्ट्रपति निर्वाचनले वर्तमान सत्ता गठबन्धनको मात्र होइन देशकै राजनितिक बाटो तय गर्ने निश्चित छ । राष्ट्रपति निर्वाचनमा पनि निर्णायक देखिएको वर्तमान सरकारको नेतृत्वकर्ता माओवादीमा अहिले के गर्ने ? भन्ने नै गम्भिर विषय हो ।
राष्ट्रपति, सभामुख, महत्त्वपूर्ण मन्त्रालयसहितका शक्तिशाली पदमा एमाले पुग्दा जोखिम हुने बुझाइ माओवादीको छ । यसैले उसको प्राथमिकता सकेसम्म राष्ट्रिय सहमति होस् भन्नेमा छ ।यस्तोमा माओवादी बाहेकका दल पनि निर्णायक मत लिएर बसेका छन् । २ हजार ४९४ मत भएको नेकपा एस, २ हजार १४५ मत भएको जसपा, १ हजार २४२ मत भएको जनमत, १ हजार ०१९ मत भएको लोसपा र ८९२ मत भएको नागरिक उन्मुक्ति पार्टीको मत राष्ट्रपतिका लागि निकै महत्त्वपूर्ण रहेको देखिन्छ ।
यी दलको कुल मत ७ हजार ७९२ छ । जुन माओवादीको भन्दा ३२ मतले कम हो । यी दलले मत नदिए कांग्रेस र माओवादी वा एमाले र माओवादी मात्रै मिल्दा पनि राष्ट्रपति जित्ने अवस्था हुँदैन । राजतन्त्रको वकालत गरिरहेको राप्रपालाई यो चुनाव बहिष्कार गर्ने वा भोटिङ गर्नेमा असमन्जसमा छ । एमाले नजिक रहेको राप्रपा राष्ट्रपति बारे अनिणित रहे माओवादी एमाले एकै ठाउँमा रहे पनि वा माओवादी काङ्ग्रेस मिले पनि जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा नचाहे सम्म राष्ट्रपति टुङ्गो लाग्नेवाला छैन ।
एमाले र रास्वपाको मतमा यी नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा आवश्यक मत पुग्ने देखिन्छ । साना दल सङ्ग एमाले मिल्न सके कांग्रेस र माओवादी विना नै राष्ट्रपतिको चुनाव जित्न सक्ने देखिन्छ । त्यसैगरी साना दल बिना काङ्ग्रेसको उम्मेदवार पनि जित्न सक्ने अवस्था छैन ।
कस्तो राष्ट्रपति
नेपालको राजनीतिक प्रणालीअनुसार राष्ट्रपतिको भूमिका आलंकारिक रहे तापनि नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालना गर्ने र संरक्षण गर्नु राष्ट्रपतिको मुख्य कर्तव्य हुनेछ भनी नेपालको संविधानको धारा ६१ को (३) र (४) मा उल्लेख छ। अभिभावकको कर्तव्य अन्य दायित्वमा रहेका नागरिक भन्दा पृथक र अहम् हुन्छ। देश र जनताप्रति उत्तरदायी मात्र नभई राष्ट्रपति पदमा विराजमान हुने पात्र आफैँमा एउटा अभूतपूर्व सन्देश हुनुपर्छ।
हामी संघीय लोकतान्त्रिक गणतान्तिक राजनीतिक प्रणालीको अभ्यास र संविधान कार्यान्वयनको प्रक्रियामा छौँ। हरेक राजनीतिक उपलब्धिलाई बडो सजगतापूर्वक संविधानको मर्मानुरूप गाँस्ने कर्मलाई राष्ट्रपतिको भूमिकाले थप मजबुत बनाउनुपर्छ।
नेपाल जस्तो देश जसको कडा (सैन्य र आर्थिक) शक्ति छैन तर आफूसँग रहेको सौम्य शक्तिको मद्दतले विश्व राजनीतिक व्यवस्थामा आफ्नो अस्तित्वलाई मजबुत बनाउनुपर्छ। त्यो भुमिका पनि राष्ट्रपतिको हो । नेपाल जस्तो भूराजनीतिक अवस्थितिमा रहेको मुलुकले अझै बढी सौम्य शक्तिको वृद्धि गर्दै राष्ट्रिय स्वार्थको संवर्द्धन गर्नुपर्छ।
हामीले अवलम्बन गर्ने राजनीतिक अभ्यासले आमरूपमा कस्तो सन्देश प्रवाह गर्छ भन्ने कुराले हाम्रो राष्ट्रिय अवस्थालाई विश्व राजनीतिक व्यवस्थामा प्रतिविम्बित गर्छ। हामीले आठ दशकमा अवलम्बन गरेका चारवटा राजनीतिक व्यवस्थाले शायदै विश्वमा बिरलै रहेको हुनुपर्छ, हामीले शैन्य शक्तिको अवस्थालाई बलियो बनाउन सकेको छैन भने सौम्यसमेत वृद्धि गर्न सकेको छैन।
राज्यको संरचनाबाट लामो समयदेखि पछाडि पारिएको र सामाजिक बहिष्करणमा परेको समुदायको प्रतिनिधित्व गर्ने राजनीतिक पात्रलाई २५ गते हुने राष्ट्रपतिको निर्वाचनमार्फत राष्ट्रपतिमा निर्वाचित गराउन सके नेपालले विश्व राजनीतिक परिवेशमा अभूतपूर्व सन्देश प्रवाह गर्न सक्नेछ र सौम्य शक्तिलाई मजबुत बनाउने कडी थपिनेछ।
राजनीतिक दल र राज्यका अङ्गबीच शक्ति सन्तुलन कायम राख्नलाई राष्ट्र अध्यक्षको अभिभावकत्व अपरिहार्य हुन्छ। अभिभावक समेत दलगत स्वार्थबाट प्रभावित हुन थाल्यो भने राष्ट्रिय स्वार्थ र मुलुकको सार्वभौमिकता समेत संकटमा पर्न जान्छ। राष्ट्र प्रमुखको भूमिकाले राष्ट्रको कूटनीतिक मर्यादालाई थप मजबुत र फराकिलो बनाउन मद्दत पु¥याउने हुनुपर्छ तर गणतन्त्र स्थापनापछिको कालखण्डका दुवै राष्ट्रपतिको उक्त क्षेत्रमा योगदान औसतभन्दा कम नै रहेको पाइन्छ। किनभने उनीहरु सम्भावित प्रधानमन्त्री हुनसक्ने शक्तिशाली दलबाट त्यस भुमिकामा पुगेका थिए ।
राष्ट्रपतिले विभिन्न अभियानको नेतृत्व गर्दै राष्ट्रमा विदेशी अनुदान भित्र्याउने सौम्य शक्तिको प्रतिविम्बित हुनुको साथै लगानीमैत्री वातावरण निर्माणमा ठूलो योगदान पु¥याउनुपर्छ। देशमा प्राकृतिक प्रकोप या कुनै अप्रिय घटना भइरहँदा केवल विज्ञप्ति निकालेर कर्मकाण्डी बन्ने मात्र होइन, स्वयं आफैं पहलकदमी लिइ सरकारका तत्तत् निकायलाई कडा निर्देशन र अभिभावकत्व प्रदान गर्नुपर्छ। त्यसैले, समस्त राजनीतिक परिस्थिति, देश र जनताको सामूहिक मुद्दाको साझा प्रतिनिधित्व हुनुपर्छ ।
राष्ट्रपति दलीय र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हुनुपर्छ भन्ने भाव संविधान र परिवर्तित व्यवस्थाले परिकल्पना गरेको छ। राष्ट्रपतिमा जनताको साझा भावना झल्किनुपर्छ। ‘हिमाल, पहाड, तराईः कोही छैन पराइ’ भन्ने भावनाको जगेर्ना गर्ने कर्म राष्ट्रको प्रमुखबाट हुनुपर्छ। अनि मात्र कर्तव्यनिष्ठ अभिभावकीय भूमिका जनताले अनुभूत गर्नेछन्। मुलुक शोकमा हुँदा र जनतालाई पीडा हुँदा राष्ट्र प्रमुखलाई दुख्नुपर्छ। अनि मात्र सही अर्थमा उक्त दुःखाइले मलम पाउन सक्छ। समाजको पिँधमा रहेका जनताको मर्मको भावनाको अनुभूत गर्ने र सदियौँदेखि उत्पीडन र पीडामा रहेका समुदायको पीडालाई बोध गर्दै विभेद मुक्त समतामूलक समाज निर्माण अभियानको नेतृत्वदायी भूमिकामा राष्ट्रपति हुनुपर्छ।
राष्ट्रपति पदको गरिमा र मर्यादा कायम राखिरहन त्यो पदमा कस्तो व्यक्तिलाई आसीन गराइन्छ भन्नेले पनि ठूलो भूमिका खेल्छ। सर्वमान्य, विवादरहित, सक्षम र देशप्रति बफादार व्यक्ति राष्ट्रपति हुँदा उसको नरम शक्ति जहिले पनि औपचारिक शक्तिभन्दा धेरै गुणा बढी हुन सक्छ। उसका दृष्टिकोणले देशलाई बलियो संगठनमा रूपान्तरण गर्न सक्छन्।
हाम्रो संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षकसँगै राष्ट्रिय एकताको प्रवर्द्धक पनि मानेको छ। त्यो पदमा वञ्चितीकरणमा परेका आदिवासी जनजाति, मधेशी, महिला, दलित तथा अल्पसंख्यक लगायत समुदायबाट सक्षम र स्थापित व्यक्तित्वलाई पु¥याउन सके राष्ट्रिय एकताको प्रवर्द्धन हुन्छ। अहिले चर्चा भइरहे जस्तो पूर्व प्रधानमन्त्रीलाई राष्ट्रपति बनाउँदा एक त बन्चित समुदायबाट हुने सम्भावना हुन्न अर्को महत्वपूर्ण कुरा के हो भने कार्यकारी प्रमुख भैसकेको ब्यक्ति कार्यकारी भुमिका नभएको पदमा पुग्दा शक्ति केन्द्र स्थापित हुने र कुन्ठा एवं द्वन्द सृजनाको सम्भावना पनि त्यतिकै हुनेछ ।
नेपालको प्रथम राष्ट्रपतिमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व भयो, दोस्रो राष्ट्रपतिका रूपमा कम्युनिस्टको प्रतिनिधित्व भएको छ। अब स्वाभाविक रूपमा मधेस केन्द्रित दलबाट आएका योग्य ब्यक्तिलाई राष्ट्रपति बनाउँदा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गतिलो सन्देश प्रवाह गर्न सक्नेछ। यो निर्णयले साँचो अर्थमा सबै राजनीतिक दलको उद्दश्यले विजय प्राप्त गर्नेछ। सच्चा अर्थमा राष्ट्रिय एकता पनि झल्कने छ ।
संविधान निर्माण प्रक्रियामा किनारिकरण गरिएर असन्तुष्ट रहेका बखत यो निर्णयले महलमको काम गर्ने छ । विभेदरहित समतामूलक समाज निर्माण, उत्पीडन र बहिष्करणको आमूल निर्मूलीकरण सबै राजनीतिक दलको साझा संकल्प हुन् र यी सबै मुद्दा मधेसी समुदायले सदियौँदेखि भोग्दै र त्यस विरुद्ध लडदै आइरहेका छन्। उत्पीडन र बहिष्करणको भोगाइले गर्दा उक्त समुदायले सूक्ष्म रूपमा पीडाहरूको साझा अनुभूति गर्न सक्छ र निराकरणका लागि उपयुक्त पहलकदमी लिन तत्परता देखाउन सक्छ।
ठाकुर सबैका लागि सरल र सहज विकल्प बन्ने आधार
नरम, शिष्ठ, सालिन र बयोवृद्व अवस्था भएको महन्त ठाकुर राणा विरुद्धको आन्दोलन, पन्चायत विरुद्धको आन्दोलन, गणतन्त्र प्राप्तिको आन्दोलन र संघीयता प्राप्तिको निम्ति भएको मधेस आन्दोलनमा समेत नेतृत्व प्रदान गरिसकेका छन । महन्त ठाकुर कम मतदाता भएको लोसपाको अध्यक्ष मात्र होइन सिङ्गो राजनैतिक परिवर्तन आन्दोलनको इतिहास हो, हरेक राजनैतिक परिवर्तनको आन्दोलनका अगुवा हुन ।
अहिलेको राजनीतिक ब्यबस्था अर्थात् लोकतन्त्र, संघीयता, गणतन्त्र ल्याउन उनले खेलेको भुमिका अतुलनीय छ । उहाँको यहि भुमिकालाई कदर गर्दै राष्ट्रिय सहमतिको अधारमा राष्ट्रपतिको भुमिका उहाँलाई दिदा राष्ट्रकै गौरव बढने छ । उनले संगालेको राजनितिक अनुभवका हिसावले पनि सानादलको शुभेच्छा सहित ठाकुर राष्ट्रपतिका उपयुक्त दावेदार हुन ।
कांग्रेसमा दशकौं दशकको राजनिति जिवन, कांग्रेस छोडदा पनि कांग्रेस विरुद्व दुष्ट र आक्रमक नहुनु कांग्रेसका लागि र एक्लै संसद विघटन गर्दा विषम परिस्थतीमा पनि दिल खोलेर एमालेका अध्यक्ष केपि ओलीलाई ठाकुरले सघाएकाले बाध्यात्मक परिस्थतीमा ठाकुर कांग्रेस र एमालेका लागि पनि कमन व्यक्तित्व हुन जानेछ र ठाकुरको पलरा भारी हुनेछ ।
एता पटक पटक संगै मोर्चा बन्दी गरि मधेशमा आन्दोलन गरेको, पार्टी एकता गरि ठाकुरलाई पहिलो अध्यक्ष मानेर काम गरेकोले जसपा अध्यक्ष उपेन्द्र यादवका लागि पनि ठाकुर उत्तम उम्मेदवार हुनेछ । मधेस केन्द्रित दलबीच राम्रो सम्बन्धको चाहना राखेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि ठाकुरको विरोधमा जादैन गए मधेशमा त्यसको प्रभाव जनमतलाई नराम्रो पार्न सक्ने छ ।
नागरिक उन्मुक्ति पार्टीका सुप्रिमो जेलमा रहेका रेशम चौधरीले ठाकुरलाई स्पष्ट रुपमा भिष्म पितामाह भनिसकेका छन् । उनको ठाकुर प्रतिको सम्मान अपार छ भन्नेमा दुईमत छैन ।नेकपा एसका माधव कुमार नेपालका लागि पनि ठाकुर असहज पात्र होइनन । वर्तमान सत्ता गठबन्धन पछि झस्किएको भारत र अमेरिका लगायत लोकतान्त्रिक बिश्व ठाकुर राष्ट्रपति भए सहज महशुस गर्ने भएकाले समेत ठाकुर राष्ट्रपतिमा बलियो उम्मेदवारको रुपमा प्रस्तुत हुने सम्भावना छ ।
तपाईको प्रतिक्रिया