सनातन धर्मका मठ, मंदिर, देवस्थल आदि हरेक गाउँ, टोल, समुदायमा भेटिन्छन्, तर सनातनी तीर्थहरु प्रायः दुर्गम पर्वतमालाहरुमा नै रहेको पाइ्रन्छन् । तीर्थहरु दुर्गम स्थानमै स्थापित तथा विकसित हुनुको कारणहरु अनेक हुन सक्छन् तर पहिलो वा प्रमुख कारणको रुपमा ती तीर्थस्थलहरु ती सन्त, सन्यासी, योगी, वैरागी, ऋषि, मुनि, महात्माहरुले निर्माण गरेको हुनुपर्छ, जो परिवार, समाज र मानिसहरुको भीडभाडबाट अलग्ग गएर सुदूर विकट अन्कन्टार ठाउँमा बसेर साधना र तपस्यामा जीवन समर्पित गर्दथे भनी भन्न सकिन्छ ।
कालान्तरमा धर्मानुरागीहरुमा तीर्थयात्राको रहर र लहर बढ्दै, तीर्थस्थल वरपर तीर्थालुको सेवा र सुविधाको मतलबले बजार र बस्ती बन्दै बढ्दै तथा यातायातको विकास र विस्तार हुँदै दुर्गम स्थानहरु सुगम बन्दै गएका हुन् । यसरी हेर्दा सप्तरीको चुरे वन फेंदीमा पनि एक दशक यता एउटा नयाँ तीर्थ विकसित हुँदै आएको छ, जसलाई शिव शनि धाम भनेर पुकारिन्छ । चुरिया पर्वतमालाको यस भूभागमा रुपनीमाई, अग्निसाईर, कृष्णाराम मरौटी जस्ता देवस्थल र लोकदेवस्थलहरु धेरै पहिलेदेखि नै रहेका छन्, जहाँ भक्तजनहरुको आवागमनको धेरै पुरानो परम्परा छ । तर शिव शनि धाममा भक्तजनको भीड त दिन दुई गुना रात चौगुना झैं बढेको देख्रिन्छ ।
सप्तरीको मध्य उत्तरी क्षेत्र साविकको तेरहौता गाउँ विकास समितिको वडा नं. ५ र हालको रुपनी गाउँपालिकाको वडा नं. ६ अन्तर्गत पर्ने चुरे फेदी दुधैला खोलासँगैको डाँडामा शिव शनि धाम स्थापित छ । पूर्व–पश्चिम राजमार्गमा रुपनीदेखि पूर्व ५ किलोमिटर गएपछि विरेन्द्रबजार आउँछ । विरेन्द्रबजारको पश्चिमी भाग र मध्य भागबाट गरी दुई वटा बाटो शिव शनि धामतर्फ गएको छ, जुन दुधैला खोला किनार पुगेर आपसमा गासिन्छ ।
दुधैला खोलालाई पटक पटक पार गर्दै वा खोलैखोला भएर तीन चार किलोमिटर हिँडेपछि शिव शनि धाम पुग्ने गरिन्छ । दुधैला खोला कहिल्यै सुक्दैन; धेरथोर पानी जहिले पनि रहन्छ, अत्यन्त शीतल र मीठो । वर्षाको भेल नरहेको बेला मोटरसाइकलमै पनि शिव शनि धामसम्मै पुगिन्छ । विरेन्द्रबजारबाट शिव शनि धामतर्फ जाने दुइटै बाटाको मुखमा ठूलो पक्की द्वार निर्माण गरिएको छ । पूर्वका आगन्तुक पूर्वीद्वार र पश्चिमका आगन्तुक पश्चिमीद्वारबाट गन्तव्यतर्फ पाइला सार्छन् ।
चुरियाको फेद र दुधैला खोला र धारा खोलाको संगममा गजबको डाँडो छ, हुबहु कैलाश पर्वतको जस्तो । फरक यति कि कैलाश हिउँले ढाकिएको हुन्छ भने यो डाँडो नानाथरिका वृक्ष वनस्पतिले ढाकिएको छ । कैलाशको झैं चारैतिर चार टुक्रा पर्वत र केन्द्रमा टाकुरा । यसै टाकुरामा तलदेखि माथि टुप्पोसम्म ठाउँ ठाउँमा देवीदेवताका आकृतिहरु स्थापना गरिएका छन् । बिल्कुलै माथि शिवको प्रतिमा र वृताकारमा १०८ वटा शिवलिंग स्थापना गरिएका छन् भने त्यसमुनिको स्थानमा शनिदेवको प्रतिमा स्थापित छन् । त्यस्तै पार्वती, गणेशसहितको पूर्ण शिव परिवार, नन्दी, भैरव, आदि देवता छन् ।
यहाँ पञ्चमुखी हनुमान, गोरखनाथ, प्रेतराज, नागराज, नवग्रह, महाकालेश्वर, शिव परिवार देवताहरु पनि विराजमान छन् । राजा शलहेश, दिनाभद्रीजस्ता लोकदेवलाई पनि समावेश गरिएको पाइन्छ । दुधैला खोलालाई नाघेर नै शिव शनि धामको द्वार र परिसरमा प्रवेश गर्न सकिन्छ । द्वारमा प्रवेश गरी माथि उक्लिएपछि दुईवटा टहरो बनाइएको पाइन्छ, जसमा यहाँका तीन जना पुजारी सन्यासीहरु विश्राम गर्दछन् ।
केही समयअघि पुजारी बस्ने टहरा बन अतिक्रमण गरी बनाएको भन्दै सामुदायिक बन उपभोक्ता समितिका सदस्य र शम्भुनाथ सबडिविजन वन कार्यालय, रुपनीका कर्मचारीहरुले हटाई दिएका थिए । तर पुजारी बस्ने अर्को विकल्प नभएकाले पछि फेरि टहरा निर्माण गरियो । सामुदायिक बन उपभोक्ता समितिका बोलबाला भएका दुईचार जना मानिस त्यहाँ पुजारी सन्यासी बसेको रुचाउँदैनन् । तीर्थस्थलमा नियमित पूजापाठका लागि पुजारीको विकल्प हुँदैन । तर यहाँ बस्ने पुजारीहरुले आफूहरुको खानपानको व्यवस्थाको अभाव रहेको दुखेसो गर्दै धाममा भक्तजनले चढाउने भेटी वन उपभोक्ता समितिका दुईजना मानिसले जहिले पनि हसुरेर लैजाने गरेको बताएका थिए ।
शिव शनि धाममा हरेक सोमबार र शनिबार भक्तजनको भीड हुन्छ । शनिबार त हजारौं मानिस पुग्दछन् । चाड पर्वहरुमा पनि आगन्तुक दर्शनार्थीको कमी हुँदैन तर शिवरात्री र शनि जयन्तीका अवसरमा विशेष मेला लाग्ने गर्दछ । शनिदेवको दर्शन गर्नाले ग्रहशान्ति हुने विश्वास छ । विरेन्द्रबजारदेखि करिब तीन चार किलोमिटर उत्तर दुधैला खोला र धारा खोलाको संगममा अवस्थित प्रसिद्ध शिव शनि धाममा दर्शन गर्नका लागि सप्तरी, सुनसरी, सिरहा जिल्लाहरुबाट ठूलो संख्यामा भक्तजन दर्शनार्थी आउँछन् ।
प्रत्येक शनिबार र महाशिबरात्रीमा बढी भीड रहने हुँदा भक्तजनको सुविधाका लागि पूजासामग्रीका स्टलहरुसमेत राखिन्छन् । देशकै ग्रहदशा शान्त गर्न र मानव जीवनको कल्याणका लागि समय समयमा यज्ञ, अष्टयाम लगायतका अनुष्ठानसमेत आयोजन गरिन्छन् । उक्त स्थानमा शमि, बेल, वर, पिपल, रुद्राक्ष, चन्दन, सडर जस्ता धार्मिक मान्यता भएका सातवटा वृक्ष रहेको किंवदन्ती सुनेर शिवजी यादव भनिने एक सरकारी कर्मचारीले उक्त स्थानमा गई खोजबिन गर्न थालेपछि यदा कदा पूजा गरिएको जस्तो तिलक चन्दन लागेको एक शिला देखे ।
२५ वर्ष अघि सत्य नारायण साह नामक एक धर्मभिरुले शनिदेवको उक्त शिला स्थापना गरेको बताइन्छ । उक्त शिलाको कारणले उनले उक्त स्थानको नाम शिव शनि धाम भनी प्रचार गर्न थाले । उनी त्यहाँ आवत जावत गर्न थाले र पटक पटक दिन रात गरेर पनि बस्न थाले । यो ठाउँ तीर्थस्थल हो भन्ने अनुभूति उनलाई भयो । उनले सन्तोष चौधरी नामको एक पत्रकारलाई त्यहाँ लगे । धार्मिक प्रवृत्तिका ती पत्रकारले त्यहाँ पटक पटक हवन आदि गर्नुका साथै शनिदेवका ग्रन्थ पनि त्यहाँ पु¥याए ।
उनले उक्त धार्मिक स्थानबारे लेख समाचारादि पनि प्रकाशित गरे । विस्तारै उक्त स्थान चर्चामा आउँदै जिज्ञासुहरुको चहल पहल पनि बढ्न थाल्यो । विरान जंगलमा मानिसको चहल पहल देखिएपछि आर्मीहरुको दृष्टि त्यसतर्फ गयो । उक्त रमणीय स्थानले मोहित तुल्याएका कारण उनीहरु त्यहाँको पर्यटकीय विकासको चाहना गर्न थाले । पछि शिवजी यादवकै माध्यमले भुपेन्द्र यादव नामक एक युवक पनि त्यस स्थानमा जोडिन पुगे । त्यस स्थानको विकासका लागि भुपेन्द्र यादवको सक्रियता देखेर ती पत्रकारले भुपेन्द्रको अध्यक्षतामा शिव शनि धाम नामक एक समितिको विधान बनाई सप्तरी जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गराई दिएका थिए ।
शिव शनि धामको समिति दर्ता भएपछि मानिसहरुले धेरथोर आर्थिक सहयोग गर्न थाले । त्यस सहयोग तथा आर्मीको श्रमदानले त्यहाँ माथि उक्लिने सिँढी बनाइनुका साथै केही अन्य संरचनाहरु पनि बने । शनिबारका दिन विशेष पूजापाठका साथै यज्ञ र अष्टयाम आयोजन गरी एफएम रेडियो र स्थानीय पत्रिकामा विज्ञापन दिइयो । यी कामकुरा हुन थालेपछि भक्तजनको उपस्थिति बढ्दै गयो । शिव शनि धाम चर्चामा आएपछि राजमार्ग छेउका ग्रामीण पनि जागे । त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समिति पनि सक्रिय भए । त्यसपछि शिव शनि धाम समिति र सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुबीच केही समय द्वन्द्व नै चल्यो ।
सामुदायिक वन अधिकार क्षेत्रको दाबी गरेर उपभोक्ता समितिले भेटी लैजाने गरे पनि धामको विकासमा चासो देखाउने गरेको छैन । शिव शनि धाम समितिका सदस्यहरु अझै पनि त्यस क्षेत्रको विकासका लागि पहल गर्दै आएका छन् । शिव शनि धाम भविष्यको एक महत्वपूर्ण धार्मिक गन्तव्य हो । धाममा धार्मिक पर्यटकको वृद्धिका लागि अहिले हुँदै गरेको पूर्वाधार विकासको कार्यलाई निरन्तरता दिनाले धार्मिक पर्यटकहरु बढ्दै जाने र धार्मिक पर्यटक बढ्दै जानाले आसपासको क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।
यस क्षेत्रको पूर्वाधारको विकासमा पूर्व–पश्चिम राजमार्ग तथा रुपनी–राजविराज सहायक मार्गको त ठूलो योगदान रहने नै छ त्यसमा विरेन्द्र बजार–तेरहौता–राजविराज–फकिरा हुँदै भारतीय सीमासम्म बन्ने सडकले समेत ठूलो सहयोग गर्ने देखिन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा डिभिजन सडक कार्यालय लहानको रेखदेखमा ११ करोडभन्दा बढीको लागतमा सो सडक बन्दै गरेको छ । उक्त सडक निर्माण भएपछि राजविराजबाट १० कि.मि. टाढा रहेको पूर्व–पश्चिम राजमार्गसँगको दूरी घटेर ६ कि.मि.मा पुग्ने बताइन्छ ।
सूचना प्रविधिको विकासले धार्मिक जागरुकतामा समेत सहयोग पु¥याएको छ । भगवान शिवको महिमाबाट मानिसहरु पहिले देखि नै परिचित छन् । पछिल्लो समयमा नवग्रहमध्येका एक देवता शनिदेव (शनिग्रह) को उपासनाको आधार र कारणबारे पनि परिचित हुन थालेका छन् । शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । मानिसको जन्मकुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ भने एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ ।
त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण मानिन्छ । शनिदेवलाई न्यायको देवता मानिन्छ । शनिदेवले राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिन्छन् । दोषपूर्ण कर्मका कारण मानिसको जीवनमा शनिदोष प्रत्यक्ष हुन्छ । शनिदोष भएका व्यक्तिले शनिदेवको उपासना गरी आफ्नो जीवनलाई दोषरहित बनाउन सक्छन् । शनिदेवको पूजा पश्चात भगवान हनुमानको पूजा गर्ने चलन छ ।
जुवा खेल्ने, सट्टेबाजी गर्ने, रक्सी पिउने, ब्याज दिने, व्यभिचार गर्ने, अप्राकृतिक यौन सम्बन्ध राख्ने, झुट्टा गवाही दिने, निर्दोष मानिसलाई यातना दिने, माता, पिता र गुरुको अपमान जस्ता कार्य गर्नाले शनिदोष उत्पन्न हुन्छ । शनिदोष भएका व्यक्तिले जीवनमा दुःख, कष्ट, क्षति, विफलता आदिको सामना गर्नुपर्छ । त्यसैले आम मानिस शनिदेवसँग भयभित रहन्छन् । तर जागरुक मानिस शनिदेव प्रति श्रद्धा र विश्वास राखेर उनको उपासना गरेर आफ्नो नराम्रा कर्मप्रति प्रायश्चित गरेर दोषमुक्त भएपछि शनिदेवको कृपा प्राप्त गर्छन् । जीवन दुःख, कष्ट, पीडा, विफलताबाट मुक्त हुन्छ ।
नवग्रहहरुको कक्ष क्रममा शनि सूर्यदेखि ८८ करोड ६१ लाख माइल दूरीमा पर्दछ । पृथ्वीदेखि शनिग्रहको दूरी ७१ करोड ३१ लाख ४३ हजार माइल छ । शनि ग्रहको व्यास ७५ हजार १०० माइल छ । शनिग्रह ६ माइल प्रति सेकेण्डको गतिबाट साढे २१ वर्षमां आफ्नो कक्षामा सूर्यको परिक्रमा पूरा गर्दछ । शनिग्रहको सतहको तापमान २४० फÞोरनहाइट छ । शनिग्रहको चारैतिर सातवटा वलय (ग्यासका घेरा) छन् । शनिग्रहको १५ वटा चन्द्रमा छ, जसको प्रत्येकको व्यास पृथ्वीभन्दा निकै बढी छ ।
शनिदेव भगवान कि ग्रह भन्ने विषयमा प्रत्येक मानिस भ्रमित रहन्छन् । शनि मूल रुपमा ग्रह नै हो, जसलाई हामी भगवान मान्दछौं । जसरी सूर्यलाई पनि हामी भगवान मान्दछौं तर भगवान हो कि तारा हो भन्ने विषयमा भ्रमित हुँदैनौं । त्यसैगरी शनिदेव (ग्रह) मा पनि भ्रमित हुनु गलत हो । ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमिसुतो बुधश्च । गुरुश्च शुक्र शनि राहुकेतवः कुर्वन्तु सर्वे मम सुप्रभातम् ।। भनेर नवग्रहकै पूजा गरिन्छ । नवग्रहमा सूर्य, बुध, शुक्र, पृथ्वी, चन्द्रमा, मंगल, गुरु, राहु, केतु पर्दछन् ।
चन्द्रमा, राहु र केतुलाई ग्रहको वैज्ञानिक परिभाषा अनुसार ग्रह मानिदैन । तर यहाँनिर के बुझ्न योग्य कुरा छ भने मानिसको जीवनमा चन्द्रमा, राहु र केतुको पनि विशेष प्रभाव पर्दछ । तसर्थ तिनलाई पनि ग्रहकै श्रेणीमा राखी मानिसको जीवनमा आरोह अवरोहको विचार गरिन्छ । मानिसले मानिसकै आकृति वा स्वरुपमा देवी देवताको कल्पना गरेर उपासना गर्न थालेका कारण यस प्रकारको भ्रम उत्पन्न हुने गरेको हो । सनातन धर्मको यो विशेषता हो कि उसले सम्पूर्ण प्रकृतिलाई समग्रमा र प्रकृतिका हिस्साहरुलाई अंशको रुपमा पृथक पृथक अस्तित्व स्वीकार गर्दछ र उसको विशिष्ट स्वभावको आधारमा उसको उपासना गर्दछ ।
दश वर्षअघि विराटनगरमा मात्र शनि मंदिर रहेको देखिन्थ्यो । तर अहिले ठाउँ ठाउँमा शनि मंदिर निर्माण हुन थालेको पाइन्छ । राजविराजमा मात्र तीन स्थानमा शनि मंदिर छन् । सखडाको छिन्नमस्ता मंदिर परिसरमा पनि शनि मंदिर निर्माण गरिएको छ । लोहजारा, बेल्हीचपेनामा पनि शनि मंदिर निर्माण गरिएको छ । शिव शनि धाममा शनिको प्रतिमा त स्थापित छ तर व्यवस्थित छैन । सरोकारवालाले शनिदेवको प्रतिमाको उचित व्यवस्था मिलाउनु आवश्यक छ । शिव शनि धाम समिति र वन उपभोक्ता समितिको बीचको विवादले पनि धामको विकासमा अवरोध पैदा गरेको छ । सामुदायिक वन उपभोक्ता समितिको वनजन्य सम्पत्तिमा अधिकारको सीमा छ, उसको अधिकारको सीमा असीमित छैन । धाममा भक्तजनद्वारा चढाइने भेटी धामकै विकासको स्रोत पुँजी हो । रुपनी गाउँ पालिकाले शिव शनि धामको विषयमा उपयुक्त व्यवस्था गर्नु आवश्यक छ ।
शिव शनि धाम प्राकृतिक रुपमा नै धरतीको अद्वितीय अंश हो । कैलाश सदृश्य चुरिया पर्वतको यो शृंखला वानस्पतिक विज्ञानको दृष्टिले पनि महत्वपूर्ण छ । चुरिया वनको यस क्षेत्रमा धार्मिक महत्त्वको वृक्षहरुको उपस्थिति पर्यटनको नौलो विषय बन्न सक्दछ । पूर्व–पश्चिम राजमार्ग (बिरेन्द्रबजार) र आसपासमा होल्टेज इनफ्रास्टकचर बन्ने हो भने त्यसै पूर्वाधारका कारणले पनि यस धाममा पर्यटक बढेर जानेछ । त्यहाँ पुग्ने पर्यटकका लागि पनि केही पूर्वाधार आवश्यक छन् ।
धाम वरपर सरसफाइको समस्या छ । राजमार्गदेखि जुन स्तरको सडक र पुलको निर्माण हुँदैछ, त्यसले ठूलै आकारमा पर्यटक भित्र्याउने देखिन्छ । पर्यटन क्षेत्रमा स्थानीय तहलाई प्राप्त हुने शुल्कहरुको विद्यमानता भए पनि स्थानीय तहले शुल्क दस्तुर संकलनमा चासो नलिएकोले स्थानीय जनताको भाग्यको रकम हराइरहेको देखिन्छ । एकातिर यी कुराहरु छन् भने अर्कोतिर शिव शनि धामको जरोमा रहेको सरकारी वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति तथा शिव शनि धाम नामको समाजसेवी संस्थाको बीचमा असमन्वय र पुजारीलाई धामबाट भगाउने नियतले टहरा भत्काएको घटनाको पृष्ठभूमिमा रहेको परस्पर विवाद र द्वन्द्व र त्यस द्वन्द्व सरकारी अड्डाले तटस्थतापूर्वक खेल्नुपर्ने भूमिकाको सट्टा वन उपभोक्ता समितिसँग मिलेर पुजारीको घर नै भत्काउने कारबाही गरेको देखिन्छ ।
शम्भुनाथ सबडिविजन वन कार्यालय, रुपनीले यसलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ । मुख्य कुरा स्थानीय तहले कार्यपालिका स्तरबाट आर्थिक व्यवस्थापनको लागि समिति गठित गरी दिएमा विवाद पनि समाधान हुने र सरोकारवाला निकाय, संस्था, समुदायले पनि आआफ्नो सीमामा रहेर शिव शनि धामको विकास सहज हुनेछ । रुपनी गाउँपालिकाले शिव शनि धामको हालसम्मको भेटी चढौवाको पनि छानबिन गर्नुपर्छ र को कसको जिम्मामा छ, त्यसको खोजविन गरी असुली गरी संचित कोषमा आमदानी बाँध्नुपर्छ ।
साथै रुपनी गाउँपालिकाले शिव शनि धामको सुरक्षा, संरक्षण, व्यवस्थापन र पुजारीको सुनिश्चितता तथा सेवा सुविधाको पनि व्यवस्था गर्नु आवश्यक छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२(२)ख(२) ले धार्मिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । त्यस्तै वन उपभोक्ता समितिको अधिकार धार्मिक सम्पदामा छैन । त्यस्तै सामाजिक संस्थाको कार्य धामको प्रचार प्रसार, विकासको लागि पहल र श्रमदान, स्वयंसेवाजस्ता कार्य हुन् । यसरी सबै पक्षले आआफ्नो दायित्व, कर्तव्य र अधिकारलाई खुट्याउने हो भने विवादको नामोनिशान रहँदैन ।
तपाईको प्रतिक्रिया