मधेशमा नेतातन्त्र

विचार/दृष्टिकोण

हामीलाई स्मरण भएको हिसाबमा विक्रम सम्बत २०४७ सालपछि हामी मधेशको वासी मधेशी हौ भन्ने कुरा बुझ्यौं । तत्पश्चात् गजेन्द्र नारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टीको गठनसँगै मधेश र मधेशीको हकहितको नाममा चरणबद्ध रुपमा मधेश आन्दोलनको सुरुवात भयो ।

विस्तारै विस्तारै मधेश र मधेशी चर्चामा आउँदै आफ्नो स्थान लिँदै गयो । मधेशका नेताहरु पनि बलिया हुँदै गए । आम जनताले मधेशका नेताहरुसँग राम्रै व्यवहार गरे । हाम्रै नेता भनेर चाहिएको बेला भोट पनि हाले । हालसम्म जिताउँदै आए । कति सांसद भए, कति मन्त्री भए, के–के नै भागबण्डा पाए.। तर सबै ठाउँमा मधेश र मधेशी जनतासँग धोका नै भए ।

मधेश चर्चामा आउँदै ठाउँ–ठाउँमा सानो–सानो विरोध हुँदै पछि त ठूल–ठूला आन्दोलनहरु हुँदै गयो । मधेश र मधेशीको नाममा नेपाल सद्भावना पार्टी लगायत मधेशबाट अन्य पार्टीहरुको पनि मधेशी उम्मेद्वारहरु चुनाव जित्दै गयो । राजनीतिक रुपमा पिछडिएको मधेश बल्ल राजनितिक रुपमा चाही बलियो हुन थाल्यो । मधेशमा नेताको अकाल परेकोमा मधेशका आम जनताले नेता पाए । तर ती नेताहरु गतिला भएन । ठग भए ती नेताहरु । सबैले मधेश र मधेशी आम जनताहरुलाई ठग्नसम्म ठगे । आजसम्म पनि मधेशका ती जनताहरु ठगिदै आएका छन् र यस्ता नेताहरु रहूञ्जेल ठागिदै नै रहने हो ।

उता राजनीतिक रुपमा बढ्न थालेको मधेश माओवादी जनयुद्ध र मधेशमै पलाएको सशस्त्र आन्दोलनको कारण मधेशमा डर त्रास हत्या हिंसाको कारण आर्थिक र सामाजिक रुपमा पछि पर्दे गयो । सयौं मधेशी युवा मारिनुको साथै धेरै जेल र प्रहरी हिरासतमा बस्न बाध्य भए । त्यसपछि २०६२–६३ को आन्दोलन पश्चात मधेशले आफ्नो पहिचानको स्थापना गर्न सफल भयो । त्यो स्थापना त्यति सजिलो चाही आएन । सयौं मधेशी जनताले सहादत दिएकै हुन् । कयौं आमाको कोख उजाड भयो, कयौं बहिनीले आफ्नो भाई गुमाए, कयौंले आफ्नो सिउँदोको सिन्दुर गुमाए । त्यो पहिचान स्थापना त्यति सजिलो कहाँ थियो र !

मधेशको पहिचान त स्थापित भयो तर त्यसपछि मधेशी नेताहरुको नियत बदलियो । मधेशी नेताहरु चुनाव त जित्दै गए तर मधेशी आम जनता त्यहाँको त्यहीं । पहिला शोषण, विभेद र अन्यायको विरुद्ध संघर्ष गरेका मधेशी आम जनता मधेशी नेताहरुको नेतातन्त्रबाट पनि त्यत्तिकै पीडित हुन पुगे । अब त जहाँ मधेशी नेताहरु पार्टीवादी आफ्न्तवादी र जातिवादी हुन पुगे । आफ्ना पार्टी कार्यकर्ताबाहेक कोही पनि नजर आउन छोड्यो यी मधेशी नेताहरुलाई । स्थानीय निकायदेखि प्रदेशसम्म यी नेताहरु विफल भए । मधेशका जनता यहीं मधेशी नेताहरु माथि विश्वास गर्न छोडे । आफ्नो सत्ता जोगाउन मधेशका स्मितासँग खेलबाड गरे अहिलेका यी मधेशी नेताहरुले । यिनीहरुले मधेशका मुद्दाहरुलाई विस्थापित गरे । आफ्ना पार्टी र आफ्नै पहुँच बनाउन लागिरहे मधेशका नेताहरु ।

मधेश स्थापित भए पनि मधेशका जनता चाही हारेको छ । चाहिएका जस्ता नेता अहिलेसम्म भेटाए न मधेशका जनताले । मधेशमा शिक्षाको अवस्था खस्किँदै गएका छन् । बेरोजगारी त्यस्तै बढेका छन् । खेतीपाती समाप्त भए । विकासको नाममा केही कंक्रिट बाटो र भवन पाए पनि सुशासनको अनुभूति गर्न पाएन । भष्टाचार बढ्दै गए । विकासका नाममा लूटतन्त्र हावी भए । घूसखोरी त्यतिकै बढे । मधेशका जनता त्राहिमाममा परे । नेता त कोही वैज्ञानिक पाए त कोही मशीहा तर सच्चा मधेशी नेता पाएन । यी मधेशी नेताहरु नेतातन्त्रको आधार बलियो बनाउँदै आम जनतालाई असहाय बनाए । आम जनता चाही बेचाराको बेचारा नै रहे । मधेशी आम जनताको तलाश अहिले पनि तलाश नै रहयो । हेरौं कति वर्ष कुर्नु पर्ला...।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ