गणतन्त्रमाथि जनताको अविश्वास किन बढ्दै ?

विचार/दृष्टिकोण

पशुपतिनाथ झा मधेशी

साँच्चै भन्नुपर्दा २०८१ साल चैत्र १५ गते भएको राजावादी आन्दोलमा देखिएको दुर्घटना कसरी निम्तियो भन्ने कुरा सबैले सोच्नुपर्ने समय आएकै हो । वास्तवमा राजतन्त्र ल्याउने नाममा कसरी निम्तियो यत्रा जनसभा ? हिंसा, हत्या र लूटपाट त्यसको भित्री कुरा देशका नेतृत्वकर्ताहरुले सोच्ने र आत्मसात गर्ने समय आएकै हो ।

गणतन्त्र माथि जनतामा अविश्वास बढिरहेको देखियो । नेपालका आम जनताले सोचेको जस्तो गणतन्त्र रहेको छैन अहिलेको गणतान्त्रिक व्यवस्था । हामीलाई स्मरण नै छ, विक्रम सम्बत २०४७ मा राजतन्त्र समाप्त पारेको नेपालकै जनताले हो । त्यसपछि विक्रम सम्बत २०६२–६३ को जनआन्दोलन पनि नेपालकै जनताहरुले गरेका हुन् । यो गणतन्त्र नेपालको जनताले नै ल्याएको व्यवस्था हो । जनताकै भरमा गणतान्त्रिक व्यवस्था स्थापित भयो । अब यही जनतामध्ये धेरैले यो गणतान्त्रिक व्यवस्थामा रमाउन छोडिसके । नेपालको जनताले यो व्यवस्थाबाट धेरै नै आशा र अपेक्षा राखेका थिए । एउटा यस्तो सपना आफ्नो मन मस्तिष्कमा पालेका थिए जो अहिलेसम्म पूरा हुन सकेन । त्यो सपना थियो विकासको, सुशासनको, रोजगारको, समृद्धिको, शिक्षा र सम्मानको । तर नेपालका आम जनताले देखेका त्यो सपना, सपना नै रह्यो । केही बुँदागत रुपमा बुझ्ने प्रयास गरौं, आखिर के भयो त गएको विगत २० वर्षको गणतान्त्रिक व्यवस्थामा ?

१. गणतन्त्रको आडमा नेतातन्त्रको वर्चश्व कायमः

हाम्रो देशमा गणतन्त्रको स्थापना त भयो तर यो व्यवस्थामा आम जनताको पहुँच भएन । आम जनताले भोट दिन पाए तर भोट दिइसकेपछि निर्वाचित नेता नै सर्वोच्च हुन पुगे । भोट लिनसम्म मात्रै नेताहरु जनतामाझ पुगे त्यसपछि जनताले जे गरे नि नेतासम्म पहुँच बनाउन सकेन । नेपालको जनता पुरानो नबुझेको जनता रहेन, अब जनता बुझ्ने भइसके । जनता बुझिसकेका छन्, यो व्यवस्थाले पनि हाम्रो जीवनलाई उकास्न सकेन । वडादेखि संघसम्म जनताको कुनै काम परेमा नेताको शरणमा जानै प¥यो । जाबो एउटा वडामा काम परेको बेला जनताले सजिलैसँग कुनै काम गराउन सक्दैन भन्ने प्रदेश र संघको त कुरै नगरौं । तथाकथित नेता कहाँ दौडधुप लगाउनै प¥यो भनेर जनता खिन्न भए । यस्ता अनेकौं व्यथासँग व्यथित भएर नेपालको आम जनताले अहिलेको व्यस्थाको विकल्प खोजेको जस्तो भान हुनु स्वभाविकै हो ।

२. गणतन्त्रका आडमा सत्ता सुखभोगी भए हाम्रा नेताहरुः

हाम्रा नेताहरु सत्तामा जाने बित्तिकै सुखभोगी भइहाले । हाम्रा नेताले चुनाव जितेपछि ठूल–ठूला गाडि र ठूला–ठूला सुख सुबिधा भोगेको कुरा अब जनताले पचाउन सकिरहेका छैनन् । जनताले हेरिरहेका छन्, कसरी हाम्रै मत लिएर चुनाव जितेका नेताहरु हाम्रो जीवन उकास्ने कुनै कार्य नगरी आफ्नै सुख सुविधमा रमाइरहेका छन् । महँगो घडी, महँगा घर, महँगो सुत्ने पलंग, महँगा खानेकुरा, महँगा लुगाफाटा सबै नेताकै लागि हो भन्ने कुराले जनताको चित दुखाइसकेको छ । राजस्व तिर्ने देशका गरीब आम जनता र त्यो राजश्वले रमाउने देशका नेता अब जनताले चाहेका होइनन् । यस्ता सुखभोगी नेताहरुलाई देश सुम्पेको भन्दा अर्को व्यवस्थामै जाऔं भने राष्ट्रका जनता विकल्पतिर मोडिएका हुन् ।

३. गणतन्त्रको आडमा नेताहरुले पाएको अत्यधितक शक्तिः

अहिलेको गणतन्त्रमा नेता सर्वशक्तिमान भएछन् । यिनीहरुलाई जे गर्न पनि छूट छ । कानून व्यवस्था सबै गरीव र असहाय जनताहरुका लागि मात्रै हो । नेपालको आम जनताले सबैलाई एकैनाशको कानून लागोस् भन्ने सोचिरहेका छन् । नेपालको जनताले न्याय पाउन अदालत गए त्यहाँ यस्ता व्यवस्था छ कि उनले न्याय पाउन आफ्ना घर घडेरी समेत बेचेर पनि न्याय पाउन सकिरहेका छैनन् । प्रहरी प्रसाशन जहाँ पनि नेपालको आम जनताले आफ्नो काम गराउन र न्याय पाउन नसकेको कुराले पनि आम जनताको मनमा यो व्यवस्था प्रति खिन्नताको बोध भएको छ । केन्द्रमा रहेका माननीय, मन्त्री र अरूका कुरै छोडौं स्थानीय तहका वडा सदस्यहरुसम्म पनि आम जनताको पहुँच हुन नसकेको कारणले गर्दा पनि आम जनताले अर्को व्यवस्थातर्फ फर्केर हेर्न बाध्य भएका छन् ।

४. गणतन्त्रको आडमा विकास कार्यको नाममा भइरहेको लूटतन्त्रः

अचेल नेपालमा विकासको नाममा नेताहरूको मनपरीले गर्दा पनि नेपालका जनता निरास भएका छन् । नेताहरुले आफ्ना कमिसनको आडमा विकास निर्माण कार्य चलाइरहेका छन् । जनताको आवश्यकता नबूझि जहाँ बढी चलखेल हुनेबाला छ, त्यहीं विकासको योजना चलाइरहेको कुरा देशका जनताहरु बुझिसकेका छन् । मन्त्रालयदेखि वडासम्म यी खेलाहरु हेर्दाहेर्दै जनताहरु चिन्तित भएका छन् । किसानका लागि सुविधाको विकास नभएर, रोजगारका लागि उचित कलकारखÞानाको निर्माण नभएर, शिक्षाको क्षेत्रमा सुधार नभएर, ठूलठूला टाबरको नाममा देश लुटिएको कुरा जनताको मन मस्तिष्कमा खेलिरहेका छन् । जनताले के गरोस् त व्यवस्था परिवर्तनभन्दा अर्को विकल्प के त ?

५. गणतन्त्रको आडमा सिद्धिन लागेको देश र देशको आम जनताः

गणतन्त्र पछि रोजगार पाउन देशका जनता खाडी मुलुकमा रगत र पसीना बगाइरहेका छन् । गतिलो शिक्षा पाउन देशका विद्यार्थीहरु विदेश पलायन गरिरहेका छन् । देशका किसानले मल र बिउका लागि भौतारिरहेका छन् । हाम्रो प्यारो राष्ट्रले आफ्नो खर्च बेहोर्न रेमिटेन्समै निर्भर रहेको छ । नयाँ र निर्यातमुखी उद्योग धन्धाको नाममा शून्यता नै हात लागेको छ । स्वास्थ्य उपचारको नाममा लूटतत्र हेर्न नै परिरहेको छ ।

के गरोस् त देशका जनताले ? जे सोच्यो त्यो पाएन । जनताको सपना सपनै रह्यो । जनताले राणा फाले, पञ्चायतीतन्त्र फाले, अब गणतन्त्र पनि फाल्ने सपना देख्न थाले । वास्तवमा सर्वोच्च त जनता नै हो । जनताले जुन दिन कमर कसेर व्यवस्था फाल्ने निश्चय गर्ला त्यो दिन कसले रोक्न सक्ला । यी कुराहरु राष्ट्रका अगुवाहरुले राम्ररी मनन् गरे राष्ट्र ठूलो दुर्घटनामा पर्नुअघि नै जोगाउनुप¥यो । नत्र अनर्थ हुनबाट कसले रोकला ? हेरौ समयले के लेखेको रैछ नेपालको भाग्यमा....!

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ