सदियौंदेखि राज्यसत्ताको थिचोमिचोमा परी अधिकारविहीन भई दोस्रो÷तेस्रो दर्जाको नागरिकसरह जीवन बिताइरहेका नेपालका भूमिपुत्रहरुको आशा र भरोसाको केन्द्रको रुपमा भनिएका जनता समाजवादी पार्टी नेपाल अहिले विभाजनको अन्तिम चरणमा पुगेको छ । जनतालाई ठूलठूला सपना देखाई जनमत प्राप्त गर्दै हालका जसपाका नेताहरु पटक–पटक महत्वपूर्ण मन्त्रालयहरुमा नेतृत्व गर्न सफल भए तर जनताको वास्तविक माग र मुद्दा सम्बोधन गराउन कहिल्यै पनि इमान्दारी प्रयास गरेको देखिएन ।
अहिले जसपाका दुई महत्वपूर्ण पात्र एक जना सन्त–त्यागी नेता र अर्का मधेशको मसिहाको रुपमा छवि बनाएका छन् । तर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, महिला लगायत उत्पीडित जनताको माग र मुद्दालाई जहिले पनि भजाउने काम गर्दै आएको आरोप सर्वविदित नै छ । सन्त नेता भनेर छवि बनाएका महन्थ ठाकुर जो जसपाका पहिलो वरियताका अध्यक्ष हुन् । उनको आचरण वा कार्यशैलीमा प्रश्न उठाउनु उपयुक्त हुँदैन । किनभने उनी मधेशको राजनीतिमा आएदेखि एकपटक पनि सत्तामोह फसेन । तर उनी माथि जातिवाद, परिवारवाद लगायतको आरोप अवश्य लागेकै हो ।
अर्कोतिर मधेशको मसिहा भनेर प्रचार गरिएको उपेन्द्र यादवमाथि लाग्दै आएको आरोपहरुबारे अध्ययन र अनुसन्धान गर्दा उनी माथिको आरोप झुठो प्रमाणित गर्न मुश्किल छ । उपेन्द्र यादव भनेको मधेशीको पहिचान र अधिकारका लागि फोरमको गठन गरे तर आज उनको परिचय अहिले फेरिएको छ ।
मधेशको मुद्दालाई भ¥याङ बनाए राष्ट्रिय राजनीतिमा मात्रै नभई अन्तर्राष्ट्रिय जगतमा समेत आफ्नो पहिचान स्थापित गरे र मधेशको मुद्दालाई चिनाए । तर अहिले उनी उपेन्द्र मधेशमा बदनाम भइरहेका छन् । उनीमाथि थुप्रै आरोप र शंकाहरु भइरहेका छन् ।
उपेन्द्र यादवको राजनीतिक पृष्ठभूमिलाई केलाउने हो भने उनी कहिल्यै पनि एउटा स्थिर राजनीतिज्ञको भूमिका देखिएनन् । यसका प्रशस्तै उदाहरणहरु दिन सकिन्छ । जस्तै, उपेन्द्र यादवले उठाउँदै आएका माग र एजेन्डाहरु समग्र मधेश एक प्रदेश, संविधान पुनर्लेखन, संविधान संशोधन नभएसम्म चुनावमा नजाने लगायत थुप्रै छन् ।
पछिल्लो समय यही केपी शर्मा ओलीको सरकारमा दुई सहमति गरेर उपेन्द्र सरकारमा गए, अधिकांश समय विदेश भ्रमणमा रमाए । तर एकचोटिक पनि मन्त्रिपरिषद्को बैठकमा आफ्नो एजेन्डाबारे एक शब्द पनि नबोलेको उनीसँगै मन्त्रिपरिषद्का रहेका नेताहरु बताउँछन् ।
मधेशको राजनीतिबाट उदाएका उपेन्द्र यादवले मधेशवाद आफूलाई थाहा नभएकोसम्म प्रतिक्रियाहरु दिन भ्याए । उनी आफूलाई अहिलेसम्म मधेशवाद के हो भन्ने थाहा नभएको र हुँदै नभएको बताउँदै आएका छन् । उनी कम्युनिजम, सोसलिजम बाहेक मधेशवाद कहिल्यै पनि नपढेको बताउँछन् । यस्ता अभिव्यक्तिबाट मधेशमा मसिहा भनिएका उपेन्द्रप्रति आक्रोश र अविश्वासको वातावरण सिर्जना भएको छ ।
उपेन्द्र यादव र महन्थ ठाकुरको विगतलाई खोतल्नुभन्दा वर्तमानको अवस्थालाई हेर्नुपर्ने उपयुक्त हुन्छ । विगतमा जेजति कमीकमजोरी गरेपनि वर्तमानमा शोषित, उत्पीडित र उपेक्षित जनताको आशा र भरोसाको केन्द्रमा उदाउँदै गारेको महन्थ र उपेन्द्र नेतृत्वको जसपा अहिले विभाजनको औपचारिकताका लागि मात्रै कुरिरहेको छ । एउटा पक्षको नेतृत्व महन्थ ठाकुरले गरिरहेका छन् भने अर्को उपेन्द्र यादव । दुवै जनाले आफूलाई आधिकारिक भनेर दाबी गरिरहँदा निर्वाचन आयोगले अन्तिम पटक दुवै पक्षलाई बोलाएको हो ।
अब यो जसपालाई एक राख्ने कि अलग–अलग बाटो लाग्ने यी दुई अध्यक्षकै हातमा रहेको छ । यदि जसपा विभाजित भयो अथवा महन्थ र उपेन्द्र अलग–अलग बाटो लागे भने नेपालको राजनीतिक इतिहासमा यी पात्रहरु लगायत हजारौं इमान्दार मधेशी नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य अन्धकारमा फँस्ने निश्चित छ । यी दुवै अध्यक्षले आफ्नोभन्दा पनि मधेशको र उपेक्षित वर्ग समुदायको हकअधिकार सुनिश्चितताका लागि सोच्नैपर्ने हुन्छ ।
यो जसपा एउटा पार्टी मात्र नभएर नेपालका करिब दुई तिहाइभन्दा बढी उपेक्षित, अपहेलित, उत्पीडित जनसमुदायको आशाको केन्द्र हो । कुनै पनि बहानामा जसपा विभाजन हुनु भनेको मधेशको पृष्ठभूमिबाट उदाएका नेताहरुको राजनीतिक भविष्य इतिहासमा सीमित त हुन्छ नै अर्कोतिर अन्य समुदाय जो उत्पीडित छन् तिनीहरुको हक अधिकारको मुद्दा एक दशक पछाडि धकेलिने पक्का छ । तर त्यो अधिकारको लडाई त्यतिकैमा रोकिँदैन ।
यी शीर्ष नेतृत्वले बिर्सिनु हुँदैन कि कुनै पनि कुरा निर्विकल्प हुँदैन । त्यसपछि विल्पहरु आफै आउँछन् । तसर्थ, जसपाको एकता कायम राख्न दुवै अध्यक्षले आत्मसमीक्षा गर्नैपर्ने हुनछ । नभए ‘भाई फुटे गवार लुटे’ झैं हुनेछ । चेतना भया ।
तपाईको प्रतिक्रिया