भारतीय सेनापतिको आसन्न भ्रमण (सम्पादकीय)

सम्पादकीय

11/1/2020

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको मिति टुंगो लागेको छ । उनले कात्तिक १९ देखि २१ गते सम्म नेपालको भ्रमण गर्ने मिति टुंगो लागेको हो । गत वर्षको कात्तिकदेखि बिग्रेको नेपाल–भारत सम्वन्ध पुनस् स्थापित गर्ने लक्ष्यसहित उनले नेपाल भ्रमण सुरु गर्न लागेका हुन ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष राजनीतिक नेता र केही अन्य ब्यक्तिहरुसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम छ । उनको यस अगाडी नै भ्रमण मिति तय भएपनि लकडाउनका कारण स्थगित हुन पुगेको थियो । यो भ्रमणलाई यस अर्थमा पनि महत्वपूर्ण मानिएको छ कि उनले नेपालको भूमि समेटेर भारतले नक्सा जारी गर्दा र सडक मार्ग बनाउदा नेपालले जनाएको आपत्ति र विरोधलाई अन्य कुनै देशको इशारामा विरोध जनाएको भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

तर उनै विवादास्पद सेनाध्यक्षलाई नेपालले स्वागत गर्न लागेको ले पनि यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमणका एजेण्डाहरु पनि तय भएको छ । उनले आफ्नो समकक्षी नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालगायत नेपालका शीर्ष नेता र सेनाका सक्कल दर्जाका अधिकृतहरुसँग छलफल गर्नेछन । जसमा दुई पक्षवीच १८ सय किलोमिटर लामो सीमाको ब्यवस्थापनका पक्षहरुमा महत्वपूर्ण छलफल गर्ने कार्यसूचि बनेको छ । भ्रमणको उद्देश्य रक्षा र सुरक्षाको क्षेत्रलगायत समग्र सम्बन्धलाई अझ सुदृढ पार्ने रहेको छ । १९५० देखि शुरू भएको एक पुरानो परम्पराको निरन्तरताका लागि पनि उनी काठमाडौं आउन लागेका हुन् । त्यसबेलादेखि दुई देशका सेनाध्यक्षलाई एक अर्काे देशको मनार्थ महारथीको दर्जा दिने परम्परा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाको मानार्थ महारथी पदको दज्र्यानी चिन्ह लगाएर सम्मान गर्नेछिन् ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिमा आफनो नक्सामा समेटेर सडक मार्ग खोल्ने सम्मको काम गरेपछि नेपालले प्रतिवाद गदै आएको छ । नेपालले पनि अन्ततः आफनो राजनीतिक तथा प्रसाशनिक नक्सामा ती भूमिलाई समेटेर संविधानमा समेत लिपिवद्ध गरेपछि दुई देशबीच सम्बन्धमा निक्कै ठूलो खाडल परिरहेको छ । त्यसयता दुई देशकाबीचमा उच्चस्तरमा राजनीतिक तथा कुटनीतिक सम्वाद हुन सकेको थिएन । नरवणेको यो भ्रमण त्यसयताकै भारतीयको तर्फवाट उच्चस्तरको भ्रमण हुनेछ ।

केही दिन अगाडी मात्रै प्रधानमन्त्री केपी ओली स्वंमले निम्तो दिएर भारतीय गुप्तचर सस्था रअका प्रमुख सामन्तकुमार गोयललाई वालुवाटारमा भेट गरेका थिए । यो भ्रमण पनि महत्वपूर्ण मानिएको छ , भारतले सेना प्रमुखलाई नेपाल पठाउँदै गरेको निर्णयलाई नयाँदिल्लीले म्यानमार, माल्दिभ्स, बंगलादेश, श्रीलंका, भुटान र अफगानिस्तानसँगको सम्बन्धलाई पुनर्जीवित गर्ने ठूलो अभ्यासको रुपमा लिइएको छ । यस क्षेत्रमा आफनो प्रभाव विस्तारका लागि भारतले सेनाध्यक्षलाई प्रयोग गर्न थालेको अर्थमा पनि लिन थालिएको छ । किनकी यसै महिनाको शुरुमा भारतीय सेनाध्यक्ष नरवणेले विदेश सचिव हर्षवर्धन सँगै म्यानमारको यात्रा गरेका थिए र यस अवधिमा भारतले म्यानमारसँग पनडुब्बी आपूर्ति गर्ने निर्णय गर्नुका साथै सैन्य र रक्षा सम्बन्ध अझ गाढा गर्ने सहमति गरेको थियो  । अहिले भारतसँग राजनीतिक सम्वाद भएको छैन, कूटनीतिक सम्वाद पनि जुन स्तरमा हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यस्तो बेला सेनाध्यक्ष आउनु भनेको नेपालका लागि चासोका विषय राख्ने अवसर पनि हो ।

भारतको कूटनीतिमा सेनाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपालसँग सुरक्षा चासो जोडिने हुँदा सेनाको अझ बढी भूमिका हुनेगर्छ । विगतमा पनि सम्बन्ध खटपट हुँदा सेनाले सम्बन्धलाई सहज बनाउने काम गरेको छ । नेपाल र भारतका सेना प्रमुख एक–अर्का देशको मानार्थ महारथी हुने हुँदा सेनाले केही गर्दैन भन्ने चाहीँ होइन तर भारतीय सेनाध्यक्षको भ्रमणका बेला केही भए यो भ्रमण दुई देशबीचको सम्बन्धमा एउटा ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ