मधेशी नेतृत्वको परीक्षा (सम्पादकीय)

सम्पादकीय

10/26/2018

मधेशका राजनीतिक नेतृत्वको भूमिका र दृष्टिकोणले मधेशको दिशा निर्देशित गर्दछ । हरेक राजनीतिक दलले चुनावताका नागरिक सामु मिठो कुरा गर्ने र निर्वाचित भइसकेपछि आफूले गरेका सबै वाचा एवम् प्रतिबद्धता बिर्सने प्रवृत्ति छ । यो अवस्था मधेशी दल र नेतामा पनि छ । घोषणा–पत्रमा विकास, समृद्धि, सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, नागरिकप्रतिको जिम्मेवारी आदि जस्ता विषय प्राथमिकताका साथ उठेका थिए । तर जब राजनीतिक नेतृत्व सत्ता र शक्तिको सामीप्यमा पुग्दछन्, त्यसपछि उनीहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक वा व्यक्तिगत स्वार्थले प्रश्रय पाउँछ र ती प्राथमिकता शनैः शनैः व्यवहारमा देखिँदैनन् । तीतो यथार्थलाई राजनीतिक नेतृत्वले स्वीकार गर्नै पर्दछ । राजनीतिक नेतृत्वमा देखापर्ने यस्ता स्वार्थले आम जनतासम्म पुग्ने गन्तव्यको यात्रामा अवरोध ल्याउँछ । यही क्रम बारम्बार दोहोरिरहँदा आम मानिसमा नेतृत्व वर्गप्रतिको विश्वासमा संकट उत्पन्न भई वितृष्णा एवं नैराश्यको अवस्था सिर्जना हुन्छ । यो प्रवृति मधेशी दल र तिनका नेतामा पनि पाइन्छ ।
अरू दलले जे जस्तो गरे पनि मधेशमा मधेशी दलप्रति मधेशी जनताको फरक धारणा छ तर पनि उनीहरू जनताको सामिप्यभन्दा सत्ता र शक्तिको सामिप्यता रूचाएका छन् । मधेशका राजनीतिक नेतृत्वले बेलैमा सजग, सचेत र गम्भीर भइ मधेशी जनताको चाहनालाई पूरा गर्नुपर्छ ।
मधेशको एक घटक संघीय समाजवादी फोरम संविधान संशोधनको नाममा अहिले केन्द्रीय सरकारमा सहभागी छ । प्रदेश २ मा उ राजपासँग सत्ता चलाइरहेको छ । अर्थात् फोरम केन्द्रदेखि प्रदेशसम्म सत्तामा छ र उसको दोहोरो जिम्मेवारी छ । तर पनि उसले आफनो भूमिकालाई निर्वाह गर्न सकिरहेको छैन । जिम्मेवारी लिएर मात्र हुँदैन, त्यसलाई पूरा गर्न सक्नुपर्छ । यदि पूरा गर्न सकिँदैन भने अरूका लागि मार्ग प्रसस्त गर्नुपर्छ ।
संविधान संशोधनको नाम जपेर केन्द्रीय सत्तामा पुगेको फोरमले अहिलेसम्म संशोधनको लागि सिन्को भाँचेको छैन । यसले केन्द्रीय सरकारलाई कुनै प्रकारको दबाब पनि दिएको छैन । न त यससम्बन्धी प्रस्ताव नै उसले मन्त्रिपरिषदमा प्रस्तुत गरेको छ । फोरमबाट मन्त्री बनेका अध्यक्ष उपेन्द्र यादव संविधान संशोधनभन्दा पनि विदेश भ्रमणलाई बढी प्राथमिकता दिएका छन् । उनी किन सरकारमा गए भन्ने कुरा विस्तारै खुल्दैछ । फोरमका लागि संशोधन होइन सत्ता नै मुख्य चासोको विषय त होइन भन्ने आंकलन पनि गरिँदैछ ।
यसले के देखाउँछ भने मधेशी दल सत्ताका लागि आफ्नो एजेन्डा, मुद्दा र राजनीतिक आदर्श परित्याग गर्न सक्छन् । मधेशका राजनीतिक नेतृत्वको यहीं संकीर्ण सोचले मधेशको विकास एवं समृद्धिको आशा र विश्वासलाई निराशामा परिणत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ