राजपामा नयाँ संयोजकको चुनौती

(सम्पादकीय)

सम्पादकीय

1/27/2019

पूर्व सहमतिअनुसार चक्रीय प्रणालीको आधारमा राजपाले फेरि अध्यक्षमण्डलको नयाँ संयोजक पाएको छ । पार्टी गठन भएयता राजपाभित्र यो तेस्रो संयोजक हो ।

मंसिर पहिलो साता संयोजकबाट महन्थ ठाकुरलाई विस्थापन गरेर राजेन्द्र महतो संयोजक बनेका थिए । पार्टीका ६ अध्यक्षमण्डलका सदस्यहरूबीच हरेक दुई महिनामा संयोजक फेरिरहने सहमति भएकाले महतो आफ्नो दुई महिने कार्यकाल पूरा गरी महेन्द्र राय यादवलाई पद हस्तान्तरण गरेका छन् । ठाकुरले पूर्व सहमतिअनुसार संयोजक पद हस्तान्तरण गर्न नमानेका आरोप महतोले लगाउँदा उनीमाथि नै पदलोलुप भएको आरोप लागेको समयमा उनले बडो इमान्दारीपूर्वक पद हस्तान्तरण गरेका हुन् । यसअर्थमा उनको कदमलाई सर्वत्र प्रशंसा पनि गरिएको छ ।

महतोको दुईमहिने अवधिमा पार्टीभित्र कुनै उल्लेख्य उपलब्धी नभए पनि जेलमा रहेका रेशम चौधरीको शपथ उनकै अवधिमा भएको छ । राजपाले आगामी बैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निधो गरेको छ । त्यसो हुँदा अब महतोपछि यादव हुँदै संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीले पाउने छन् र सम्भवतः उनले नै महाधिवेशन गराउने छन् । बैशाखमा महाधिवेशन भए त्यतिबेला भण्डारी संयोजक रहनेछन् । अब नयाँ संयोजकलाई आगामी दुई महिनामा महाविधेशनको अभूतपूर्व तयारी गर्नुपर्छ भने त्यसका लागि पार्टी भित्र रहेको विवादलाई समाधान गरी अगाडि बढ्नु पर्नेछ । संयोजकबाट ठाकुर विस्थापित भएपछि रूष्ट बनेका अनिल झासहितलाई विश्वासमा लिएर महाधिवेशनको माहोल पनि बनाउनुपर्ने थप जिम्मेवारी नयाँ संयोजकको काँधमा थपिएको छ ।

यसका साथै राजपाले उठाउँदै आएको संविधान संशोधनको मुद्दालाई थप बलियो बनाएर सरकारलाई दबाब दिन पार्टीले निर्वाह गर्नुपर्ने भूमिकालाई झन् फराकिलो बनाउनुपर्ने अर्को चुनाती त छदैछ, सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको स्पष्ट धारणा आउनु जरूरी छ । राजपालाई ‘थर्ड पावर’ निर्माण गर्नु पनि जरूरी छ र यसका लागि पालैपालो संयोजक बन्ने सबैको भूमिका अहम् छ । राजपालाई मधेशको ‘थर्ड पावर’ निर्माण गर्नुपर्ने आवश्यक्ता र बाध्यता दुबै छ, त्यसैले उसले कसरी काम गर्छ, त्यो कस्तो शक्ति बन्छ भन्ने कुरा नयाँ संयोजकले तय गर्नु पर्नेछ ।

सत्ता स्वार्थ, दलीय राजनीति, मधेशका मुद्दा र देशको चिन्ता यी विषयमा पार्टी अझै अलमलमा छ । विभिन्न कारणले राजपाले आफ्नो हैसियत बढाए पनि अहिले त्यसलाई धान्न सकिरहेको छैन । नयाँ संयोजक बनेपछि यादवमाथि यस्ता–यस्ता समस्याहरू थपिएका छन् । पार्टीभित्र पनि समस्याको चाँग रहेको छ । यदि पार्टीको आन्तरिक विवाद र द्वन्द्व समयमै समाप्त भएन भने पार्टीले गतिलो बाटो लिन सक्दैन । किनभने राजपा गठन भएदेखि नै यसले पूर्ण आकार ग्रहण गरिसकेको छैन । केन्द्रमा राजपा नामको पार्टी भए पनि गाउँ, जिल्ला र प्रदेश स्तरमा यसको संगठन बनि सकेको छैन । देश संघीय संरचनामा भए पनि पार्टीले संघीय आकार लिएको छैन । पार्टीलाई गतिशील र संगठित बनाउनु पर्ने पनि जिम्मेवारी यादवमाथि छ ।

यसका साथै पार्टीले उठाउँदै आएको संविधान संशोधनसहितका मुद्दाहरूलाई कसरी व्यवस्थापन गराउन सकिन्छ भन्ने विषयमा पनि उनको भूमिका महत्वपूर्ण छ । यसका लागि पार्टीले संघीय संसदमा विशेष भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

राजपाले अब के गर्ने र उसले कस्तो बाटो लिने भन्ने जिम्मेवारी पनि यादवको काँधमा थपिएको छ । राजपाको अबको प्राथमिकता भनेको ती चुनौतीहरूलाई सही ढंगले व्यवस्थापन गर्नु हो । तर राजनीतिमा आफ्नो अस्तित्वलाई जीवित राख्नका लागि केही मुद्दाहरूलाई जीवितै राख्नुपर्ने हुन्छ । अबका मधेश मुद्दाले राजनीतिमा मधेशी दललाई चिनाउने शिवाय जनताको जनजीवनमा कुनै उल्लेख्य प्रभाव पार्न सक्दैन भन्ने कुरालाई पनि नयाँ संयोजकले बुझ्नु जरूरी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ