सत्तामा अल्झिएको मधेशी राजनीति

सम्पादकीय

2/6/2020

राजनीतिक दल भनेको विचार, सिद्धान्त र वादमात्रै होइन, आन्दोलनको निरन्तरता समेत हो । नेपालमा केही राजनीतिक दलहरू विचार सिद्धान्तले स्थापित भए भने केही आन्दोलनको निरन्तरताले गर्दा राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने शक्तिको रूपमा उदाए । दुई तिहाई भन्दा बढी बहुमतको सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले समाजवादी पार्टी (तात्कालीन संघीय समाजवादी फोरम)लाई सरकारमा सहभागी गराएर आफू अझ बलियो बन्ने प्रयास गरे पनि सफल हुन सकेन र अन्ततः उक्त पार्टी सरकारबाट बाहिरिएको छ । समाजवादीको वहिर्गनपछि मधेशको अर्को मुख्य दल राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउन पहल भइरहेको छ ।


नेपालकै राजनीतिक इतिहासमा सबभन्दा शक्तिशाली पार्टीको नेतृत्वमा सबभन्दा शक्तिशाली सरकारको निर्माण भएको छ । यो सरकारले चाहेमा संविधान संशोधनका लागि कुनै अप्ठयारो छैनन् र यसका लागि उसले मधेशी दललाई सरकारमा ल्याउनै पर्छ भन्ने छैन । त्यसमा पनि नेपाली कांग्रेसले पनि संविधान संशोधनको लागि आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । सरकारसँग प्रचण्ड बहुमत हुँदाहुँदै पनि संविधान संशोधन गरेर मधेश र देशका सम्पूर्ण समस्याहरू सम्बोधन गर्ने तिर सरकारको पहल देखिएको छैन । यी र यस्ता क्रियाकलापहरूले गर्दा संशोधनका कुरा उठाउने, सरकारमा जाने र सरकारको भाषण मात्र आइरहने प्रवृत्तिले गर्दा मधेशको माग सम्बोधन हुन्छ भन्नेमा आशंका देखिन थालेको छ ।


देश संघीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने सुनेका जनताले संघीय सरकारमाथि धेरै आशा र भरोसा गरेका छन् । तर, मधेशी जनताको लागि राजनीति गछौं भन्ने दलहरूकै सरकार भएको प्रदेश नम्बर २ को संघीय सरकारले जनताको आशा अनुरूप काम गरेको पाईदैन । भाषण र आश्वासन एकातिर, काम गराई अर्कोतिर हुँदा ती राजनीतिक दलहरू माथि मधेशी जनताको विश्वास कम हुँदै गएको पाइन्छ ।


विभिन्न मुद्दाहरू उठाई राजनीतिमा आफ्नो पहिचान बनाउन खप्पिस भईसकेका दलहरू हरेक समयमा आन्दोलनका लागि मधेशी जनतालाई प्रयोग गर्ने र अन्तिम अवस्थामा मधेशको मुद्दालाई सरकारसँग बेचेर आफू सत्तामा जाने गरेको यर्थात अब मधेशी जनतबाट लुक्न सक्दैन । छुट्टा–छुट्टै दल हुँदा होस् वा एकीकरण भएपछि होस्, मधेशका राजनीतिक दलहरूको उद्देश्य मधेशको मुद्दा लिएर सत्ता प्राप्त गर्नु नै हो ।


यर्थाथमा समाजवादी र राजपा दुवै पार्टी सत्ता समर्पण र मुद्दा विसर्जनका पात्रहरू हुन् । उनीहरूको मूल ध्येय नै जसरी भए पनि मधेशको नारामा, मधेशी जनताको मागको नाममा संसदमा जाने र सत्ताको खेल खेल्ने नै हो । मधेशमा भएका दलहरूको वैचारिक अडान नहुँदा, व्यक्तिगत स्वार्थ र दलाल मानसिकताले गर्दा मधेशमा राजनीतिक दलहरूले पार्टीको संस्थागत विकास गर्न असफल भएका हुन । समाजवादी दुवै पार्टी मधेश मुद्दालाई छाडी सरकारमा सामेल भएपछि मधेशको राजनीतिक धरातल पूर्ण रूपमा खाली भएको छ ।


मूलधारका राजनीतिक दलहरूले पनि अब मधेशको मुद्दा सम्बोधनमा ध्यान दिनुपर्छ । राष्ट्रिय अखण्डतालाई कायम राख्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान अघि बढाउने हो भने मधेशको मुद्दालाई छाडेर अगाडि बढ्न सकिन्न । मधेशमा बढ्दै गएको अलगाववादी राजनीतिलाई हटाउन मधेशको मागहरू समयमा नै सम्बोधन गराउन आवश्यक छ किनकी मधेशमा अब जन्मिने वैकल्पिक शक्ति राज्यसँग वार्ता वा सहमति सम्झौतामा अल्झिदैंन उनीहरूको आन्दोलनले अलगाववादीलाई बल पु¥याउँछ जसले गर्दा अहिले मधेशको मुद्दालाई लिएर राजनीति गरिरहेका दलहरू अस्तित्व समाप्त हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ