सत्तारुढ नेपाली काँग्रेस चौधौं माहाधिवेशनको पूर्वसन्ध्यामा छ । पार्टी भित्र देखिएको विवाद र कोरोनासमेतका कारणले काँगे्रसलाई यो महाअधिवेशन गर्न चुनौती बनेको छ । नेपाली काँग्रेस चौधौँ महाधिवेशनको सँघारमा पुगिसक्दा पनि अझै अन्योलबीच नै खडा छ ।
यसका अधिकांश नेताले अधिवेशनलाई केवल पार्टीसत्ता कब्जा गर्ने बाटोका रूपमा मात्र बोध गरेको कुरा स्पष्टतः सामाजिक सञ्जालहरूमा व्यक्त भइरहेका छन् । यदाकदा केही नेताले नेपाली काँगे्रसको नेतृत्वमा चुस्तता नभएकै कारण काँग्रेसको विचारमा सुस्पष्टता नआएको हो पनि भनेका छन् ।
पार्टी भित्र क्रियाशील सदस्यताको विवाद छ भने बाहिर कोरोना संक्रमणको महामारी फैलिएको छ । त्यसैले भदौमा तोकिएको महाधिवेशन हुने वा नहुने अनिश्चित छ ।
पार्टी जीवनमा महाधिवेशनको ज्यादै ठूलो महत्व रहन्छ । कुनै पनि राजनीतिक दलले आफ्नो ऐतिहासिक कार्यभारको समीक्षा, आत्मालोचना, वर्तमान जीवनको सजीव चित्र र भविष्यको जीवनको सुस्पष्ट चित्र कोर्ने साधनका रूपमा महाधिवेशनलाई अख्तियारी गरिएको हुन्छ ।
महाधिवेशन पार्टीको विद्यमान विचार, विमर्श तथा नीतिको गहन छलफल गर्ने र जनताको राष्ट्रिय जीवनमा परेका सकारात्मक, नकारात्मक भावको समीक्षा गर्ने थलो पनि महाधिवेशन हो ।
यही थलोबाट पार्टी जीवनलाई पुनर्ताजगी गरी जनउपयोगी र सान्दर्भिक बनाउने विचारको अनुमोदन र सोहीअनुरूपले नेतृत्व चयन गरिने परिपाटीको विकासका लागि महाधिवेशन महन्वपूर्ण थलो हो ।
महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वको लागि नेताहरुको दौड र चासो पनि बढेको छ । काँग्रेसमा नीतिभन्दा नेतृत्व चयनमा अहिले सबैको ध्यान केन्द्रित छ ।
नयाँ नेतृत्वले नयाँ सोच र शैलीका साथ काम गर्ने दृढ अठोटका साथ चुनावी तयारी गर्ने हो भने मात्र काँग्रेसलाई पुरानो अवस्थामा लैजान सम्भव हुनेछ छ । काँग्रेस नेतृत्वले साझा रूपमै सुझबुझका साथ चुनावी मैदानमा जान आवश्यक छ ।
पार्टी दृष्टिकोणमा समय सन्दर्भले ल्याएको परिवर्तन र उक्त परिवर्तनमा जनताको भूमिका एवं पार्टीको अवस्थितिलाई परिभाषित गर्न सक्नुपर्छ । यसो गर्दा मात्र पार्टीले समय सन्दर्भ र आवश्यकताअनुसार आफूलाई ढाल्दै जनताको उपभोग्यताको आवश्यकतालाई समेत सम्बोधन गरी आफ्नो सार्थकता पुष्टि गर्न सक्छ । यी सबै कुराको विशेष छलफल, विचार, विमर्श गर्ने सबैभन्दा उपयुक्त र सान्दर्भिक थलो भनेको पार्टीको महाधिवेशन नै हो ।
चौधौँ महाधिवेशनको पूर्वसन्ध्यामा काँग्रेसका विभिन्न नेता, कार्यकर्तामा बढ्दै गइरहेको क्रियाशीलता, व्यक्त विचार आदिलाई विश्लेषण गर्दै काँग्रेस पार्टीको पुनर्जीवन के कसरी हुन्छ भन्ने विषयमा धेरैको ध्यान केन्द्रित छ ।
युवापुस्ताका नेताहरू अब काँग्रेस राजनीतिमा पहिलो पुस्ताका नेताले अभिभावकत्वको भूमिका निर्वाह गरी युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनिरहेका छन् ।
अर्कोतर्फ आफूलाई दोस्रो पुस्ताका शास्त्रीय उत्तराधिकारी मान्दै आएकाहरूले पन्ध्रौँ महाधिवेशनमा क्षमताबाट माथि उठेको पुस्ताले नेतृत्व हत्याउन सक्ने आकलनसाथ यो पुस्तालाई रोक्नकै लागि आसन्न चौधौँ महाधिवेशनलाई कुनै न कुनै रूपमा प्रभावित पारी काँग्रेसको भावी नेतृत्वमा आफ्नो हिस्सा सुरक्षित गर्न चाहिरहेको देखिन्छ ।
नेपाली काँग्रेस चौधौँ महाधिवेशनमा के कस्ता एजेन्डा लिएर जाँदैछ र ती एजेन्डाले प्रत्यक्ष रूपमा जनतामा कस्तो उत्सुकता पैदा गर्न सक्छ, गाउँदेखि केन्द्रसम्म कत्तिको तरङ्गित गर्ला भन्ने कुरालाई खासै ध्यान पु¥याउन सकेको जस्तो देखिँदैन ।
महाधिवेशन ज्यादै सन्निकट भइसक्दा पनि केवल नेतृत्वकै बहस मात्र हुनु काँग्रेसको भविष्यको सुनिश्चिताका लागि पनि दुर्भाग्यपूर्ण हो भन्ने नेपाली काँग्रेसले वर्तमान संविधानमा रहेका विवादित धाराको सुधार तथा खारेजीका सम्बन्धमा वर्तमान काँग्रेसको धारण के हुने भन्ने स्पष्ट दृष्टिकोण पनि यो महाधिवेशनबाट आउनु आवश्यक छ ।
यसले विभिन्न समुदायको चासो सम्बोधनमा काँगे्रसको संवेदनशीलतालाई उजागर गर्नेछ । सङ्घीयताको सबालमा धेरै चुनौती र प्रश्न खडा भएका छन् । यसको औचित्य पुष्टि गर्न आवश्यक देखिएको छ ।
तपाईको प्रतिक्रिया