महन्थ ठाकुरका अप्ठ्यारा

सम्पादकीय

जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समुहले पाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष राजनीतिक रुपमा किनारामा धकेलिएको छ । यादव पक्ष आक्रामक बन्दै जाँदा ठाकुर समूह अहिले न पार्टीमा मिलेर बस्ने न त नयाँ दल बनाएर संसदमा टिक्न सक्ने अवस्थामा पुगेको  छ । निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत गुहारेपछि पार्टीभित्र भने यो समूह निकै अप्ठ्यारोमा परेको देखिन्छ ।

सत्ता गुमाएको एक महिना नपुग्दै पार्टीमा समेत नराम्ररी धक्का खाएको ठाकुर समुह अहिले दल विभाजनका लागि ४० प्रतिशत संख्या पु¥याउन पनि नसक्ने अवस्थामा पुगेको छ । जसका कारण पार्टीभित्रै संघर्ष कि अलग बाटो भन्नेमै ठाकुर समूह अलमलमा छ ।

त्यसो त पार्टीको आधिकारिकता पाएसँगै यादव पक्षले निरन्तर रुपमा पार्टीका गतिविधि अगाडि बढाएको मात्रै छैन, अर्को समूहलाई छिन्नभिन्न जस्तै पारिसकेको छ ।

लुम्बिनी प्रदेश सरकारमा सहभागि मन्त्रीहरुलाई कारवाही गरेर अर्को पक्षसँग निर्मम भएर अगाडि बढ्ने संकेत यादवले देखाइ सकेको छ । त्यसैले पनि ठाकुर पक्ष पार्टीभित्रै अन्तरसंघर्ष चलाएर टिक्ने अवस्थामा देखिन्न ।

हुन त मिलन र विछोड राजनीतिका लागि अनौठो होइन । तर अहिले जसपाको शक्ति समीकरण र नेतृत्वको टकराव हेर्दा ठाकुर पक्ष यादव समूहसँगै मिलेर अगाडि बढ्ने सम्भावना ज्यादै न्यून देखिन्छ । तर नयाँ दल दर्ता गर्दा भएका सांसदहरु गुमाउनुपर्ने डरले पनि महन्थ ठाकुर पक्ष अबको रणनीति प्रति अलमल मै छन् ।

कांग्रेस हुँदै मधेश केन्द्रीत राजनीतिमा प्रवेश गरेका ठाकुरका लागि निर्वाचन आयोगको निर्णय सबैभन्दा ठूलो झट्का हो । राजनीतिको उत्तरार्धमा ठाकुरलाई जुन झट्का लाग्यो त्यति नै झट्का राजेन्द्र महतोलाई पनि लागेको छ ।

जसपाको विवाद जुनसुकै रूपमा भए पनि अदालतसम्म पुग्ने चाहिँ देखिन्छ । तर, ठाकुर पक्षका लागि भरलाग्दो कदमका रूपमा भने दरिने छैन । कानुनी प्रतिवादले मात्रै ठाकुर पक्षलाई राहत दिन सक्दैन । निर्वाचन अयाोगले नयाँ दल दर्ता गर्न ठाकुर पक्षलाई आह्वान गरेको छ । अब ठाकुर पक्ष नयाँ दल दर्ताको प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसो नभएको अवस्थामा यसअघि दर्ता भएका दलसँग मर्ज गर्न पनि सकिन्छ ।

असार २८ मा राजपा विघटन भएको एक वर्ष पुगेको छ । एक वर्षसम्म त्यही नामको दल दर्ता गर्न नपाउने कानुनी व्यवस्था छ । त्यसैले राजपा विघटनको एक वर्ष पूरा भएकाले त्यही नाममा दल दर्ता गरेर अगाडि बढ्न सक्ने ठाकुर पक्षका नेताहरूको भनाइ छ ।

जसपाको विभाजन दुवै पक्षले नमागेका कारण विभाजन नहुने तर्क पनि गरिएको छ । जसपा अध्यक्ष यादव समूहले आधिकारिकता प्राप्त गरे पनि ठाकुर पक्षले जसपा छोडिहाल्नु नपर्ने तर्क पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ