तराई–मधेशमा वर्षेनी शीतलहर तथा चिसोका कारण कैयौं गरिब तथा विपन्न वर्गको ज्यान जाने गरेको छ । चिसोका कारण आमनागरिकको ज्यान जानु राज्यका लागि लज्जास्पद हुनुपर्ने हो । शीतलहरकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाबाट मधेशका विपन्नवर्ग गुज्रिरहेका छन् । यसको शीतलहर मात्र नभई गरिबी पनि हो ।
हरेक वर्ष पुस महिना लागेदेखि नै कठ्याङ्ग्रिदो चिसो बढ्न थाल्छ । जसबाट बढी प्रभावित मधेशका विपन्नवर्ग हुने गरेका छन् । अहिले तीन तहको सरकार रहेपनि वर्षेनी आइपर्ने यस्ता प्राकृतिक प्रकोपबाट बचाउन ठोस पहल देखिँदैन ।
जाडोयाममा शीतलहर, हुस्सु वा चिसोलाई रोक्न सकिँदैन तर त्यसबाट हुने मानव क्षतिलाई अवश्य पनि रोक्न सकिन्छ । यसतर्फ कुनै पनि सरकारले पूर्वतयारी वा विपद व्यवस्थापनमा ध्यान दिँदैन । मधेशमा चिसोकै कारण धेरै धनजनको क्षति हुने गरेको विगतका तथ्यांकहरूले देखाउँछ । मधेशमा कयौको ज्यान चिसोका कारण गएको तितो यथार्थ हामीसँग छ ।
चिसोकै कारण मृत्युवरण गर्ने तथ्यांक राज्यले संकलन गर्छ तर पूर्वतयारीमा चासो देखाउँदैन । यसको तयारीका लागि ठूलो बजेट वा धेरै समय लाग्ने पनि होइन । यसका लागि सामान्य उपायहरू अपनाइए भने चिसोकै कारण कसैले पनि ज्यान गुमाउन पर्दैन ।
चिसोबाट जोगिन सामान्य पूर्वतयारी जस्तै, विपन्न तथा गरिबलाई पहिचान गरी कमसेकम न्यानो कपडा, आगो ताप्ने दाउरालगायतको व्यवस्थापन गरियो भने यसबाट मृत्युवरण हुँदैन । चिसो बढेसंगै सुरक्षाका उपायहरू अवलम्बन गर्न आवश्यक देखिन्छ ।
नागरिकहरू पनि विशेष सचेत हुनुपर्ने अवस्था छ, किनभने यो हरेक वर्ष प्राकृतिक विपदका रूपमा देखापरिरहेको छ, तर यसबाट बच्न सकिन्छ र बच्ने उपाय अवलम्बन गर्न आमजनसमुदाय पनि अग्रसर हुनुपर्छ । जाडोबाट जोगिन कोठालाई न्यानो बनाउनुका साथै बाक्लो कपडाहरू लगाउने र तातो खानेकुरा खानुपर्छ । चिसोका कारण श्वासप्रश्वास सम्बन्धी समस्या आउने गर्छन । त्यसबाट निमोनिया जस्ता घातक समस्या देखिन सकिन्छ ।
मधेशमा वर्षेनि शितलहरका कारण कतिपय निम्न आय भएका मानिसहरूले ज्यान गुमाउने गरेका छन् । त्यस्तो अवस्था आउन नदिन मानिसहरूले घरभित्रै बस्नुपर्ने, आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडाहरू लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने हुन्छ ।
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरूको हाथमुख जोड्ने समस्या हुन थालेको छ ।
चिसोका कारण रूघाखोकी, निमोनिया, झडापाखाला, दमजस्ता बिरामी बढ्ने गरेको छ । यस्तो बेलामा रूघाखोकी, निमोनिया, दम तथा झाडापखालाका बिरामीको चाप बढ्ने गरेको छ । चिसोबाट जोगिन जिल्लाको ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाउनुको साथै र शीतलहरबाट पीडितलाई न्यानो लुगा वितरण गर्न आवश्यक छ ।
अहिले कोरोना महामारी पनि रहेकोले यसबाट बच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । विपद व्यवस्थाका लागि सरकारले विभिन्न संघसंस्थाहरूसमेत खडा गरेको छ । तर त्यसको प्रभावकारिता देखिँदैन । तसर्थ, तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरी तत्काल शीतलहर र चिसोबाट बचाउन सम्बन्धित सबैको ध्यानाकर्षण होस् । नागरिकको ज्यान जोगाऔं ।
तपाईको प्रतिक्रिया