बाढी, पहिरो तथा भूकम्प जस्ता विपत्तिलाई प्राकृतिक प्रकोप भनिन्छ । यस्ता प्राकृतिक प्रकोपबाट सृजित जोखिमहरू लाई विपद् भनिन्छ । विश्वमा प्राकृतिक रूपमा हुने प्राकृतिक र मानवीय क्षतीलाई विपद् भनिन्छ । नेपालमा बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर, भूकम्प आदि प्रकोप प्रायः प्रत्येक वर्ष आउछ र यसले ठूलो परिमाणको मानवीय, भौतिक एवं विभिन्न क्षति पु¥याउँछ ।
यस्ता प्रकोपबाट वर्षेनी हजारौंलाई प्रभावित, घरबारविहीन बनाउँदै आएको छ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्वतयारी नगर्नु, विपत्को सामना गर्न तयारी अवस्थामा नबस्नु र उचित स्रोत साधनको ब्यवस्था गर्न नसक्नु जिम्मेवार तह एवं निकायको ठूलो भूल हो । त्यसैले यस्ता प्राकृतिक विपत्ती आकस्मिकता भए पनि दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिँदा वर्षेपिच्छे एउटै समस्याबाट पीडित भइरहेका छौं । वर्षयामसँगै मधेशमा हुने बाढीको समस्या आजको मात्र होइन ।
प्राकृतिक समस्या पूर्व सूचना दिएर आउँदैन तर यसबाट हुने अनपेक्षित परिणाम आउनु नै संकट हो । मधेश बाढीको उच्च जोखिममा छ भन्ने कुरा विदितै छ । मधेश प्रत्येक वर्ष बाढीले जीवन तथा भौतिक क्षति गर्छ भन्ने सर्वविदितै छ । अहिले बर्षाको समय सुरु भएकाले बाढी आउने सम्भावना विगतका वर्ष जस्तै अहिले पनि छ । मधेशमा बाढीको प्रकोप भयावह देखिन्छ ।
धान उत्पादनको यो समयमा सम्पूर्ण मधेश बाढीले आक्रान्त हुँदैछ । बाढीले मधेशी जनताको गाँस त खोस्छ नै त्यसका लागि प्रदेश सरकारको तदारुकता के छ, बाढी आउन नदिन र आइसकेपछि त्यसको व्यवस्थापन सरकारले कसरी गर्दैछ? यो मननीय प्रश्न हो ।
जोखिम, विपत् र संकटमा सूचना प्रविधिको पर्याप्त प्रयोग गर्नु पर्दछ । हामीले जति सक्दो चाँडो सुधार गरेर प्रविधिलाई सार्वजनिक सेवाप्रवाहमा अधिकतम उपयोग गर्दै जनताको दैनिक जीवन सहज बनाउन अति जरुरी छ । यस्ता प्राकृतिक प्रकोपहरु वर्षैपिच्छे आउने गर्छन् । यो विषयमा जिम्मेवार तहले हेक्का नराख्नु, पूर्व तयारी नगर्नु नै संकटपछिको विपतलाई प्रभावकारी व्यवस्थापन नगर्नु नै ठूलो समस्या हो । वनजंगल विनाश, चुरेको दोहन, जलवायूमा परिवर्तन बाढीको मुख्य कारण हो । चुरेको दोहन रोक्नु अहिलेको प्रमुख आवश्यकता हो ।
नदी नियन्त्रण, वृक्षरोपण, जग्गा प्लटिङमा कडाई, बसाई सराईंमा नियन्त्रण, ढलको उचित व्यवस्थापन आदि गरेर बाढीजन्य प्रकोपबाट केही हदसम्म जोगिन सकिन्छ ।
सवै प्रकारको प्रकोपबाट जोगिन जोखिम न्यूनिकरणको उचित व्यवस्थापन हुन जरूरी छ । प्रदेश सरकार, नागरिक समाज, राजनीतिक दल, कर्मचारी एवं सुरक्षाकर्मी सवै विपद न्यूनीकरणमा एकजुट भइ सकारात्मक योगदान पुराउनु आजको आवश्यकता हो ।
मधेश प्रदेशका आठवटै जिल्लामा हुने कटान, बाढी र डुबानले केही सन्देश दिएका छन् । यी प्रकृति प्रकोपविरुद्ध राहत र पुनःस्थापना नै पर्याप्त पहल होइनन् । मधेशका बस्ती, भौगोलिक बनावट, अवैज्ञानिक सडक, तटबन्ध, बाँध जस्ता संरचना आदि र प्रकृति प्रकोपको सम्बन्धबारे प्राविधिक सामाजिक विश्लेषण जरुरी छ ।
प्रकोपमा कहीँ कतै मानवीय क्रियाक्रलाप नै मुख्य जिम्मेवार त छैनन् भनेर विगतको समीक्षा र आगामी योजना बनाउनु नितान्त आवश्यक छ । हरेक वर्ष प्रकोप, राहत तथा उद्धारको नियमित आकस्मिकता रोक्न अबका दिनमा भिन्न कोणबाट परिचालित हुनुपर्छ । मधेश क्षेत्र डुबानमा पर्नुका अन्य कारण पनि छन् । नदी नियन्त्रणका सन्दर्भमा प्रभावकारी काम नहुनु, बजेटको अभाव रहनु, भएका काममा समेत गुणस्तरीयता नहुनुजस्ता अवाञ्छनीय पक्षले गर्दा मधेशवासी सदैव रुन बाध्य छन् ।
बाढीको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि पूर्वसचेतना कार्यक्रम, विपद्का बखत तत्कालका उद्धारका प्रवन्ध, अल्पकालीन र दीर्घकालीन राहतका काम पनि गहन समीक्षाका विषय बनेका छन् । बाढीको बढी जोखिम भएका ठाउँमा जनधनलाई अधिक महत्व दिनैपर्छ । त्यस्ता जोखिमपूर्ण ठाउँमा भएका बस्ती वा परिवारलाई स्थानीय क्षेत्रमै सुरक्षित बसोवास, खानपान र औषधोपचारको व्यवस्था गर्नुपर्छ ।
बाढीपहिरो आदि विपत्तिमा परेकालाई मनोवैज्ञानिक रूपमै उत्साही तुल्याउन नसके अपेक्षित सफलता प्राप्त हुन सक्दैन, तसर्थ यस्ता काममा विशाल छाती प्रदर्शन गर्न चुक्नुहुँदैन ।
तपाईको प्रतिक्रिया