वैकल्पिक र मधेशको शक्ति भनेर दाबी गरिदै आएको जनता समाजवादी पार्टी (जसपा) कुनै सैद्धान्द्विक आधार बिना टुक्रिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई दुबैले आआफ्ना पक्षको छुट्टाछट्ट बैठक बोलाएर पार्टी विभाजनको बिउ आपचारिक रूपमा रोपेका छन् । यहाँ दुवैबीच कुनै सैद्वान्तिक मतभेद छैन बरू शक्ति संघर्षमा मात्र विमति छ ।
शक्ति टकराव र स्वार्थका कारण नै जसपा फुटको डिलमा पुगेको छ । यादव पक्षले वीरगन्जमा बैठक गरिरहेका छन् भने भट्टराई पक्षको बैठक काठमाडौंमा भएको छ । दुवै पक्षले आ–आफ्ना बैठक मात्रै आधिकारिक भएको दाबी गरेका छन् ।
जसपाभित्र सत्ता र शक्तिको स्वार्थको लडाइँ उत्कर्षमा पुगेपछि पार्टी विभाजन नजिक पुगेको हो । यादव र भट्टराईबीच सैद्धान्तिक र विचारको लडाइँ छैन बरू पार्टीभित्र आधिपत्य, स्वार्थ र वर्चस्वका लागि अनवरत संघर्ष गरिरहेका छन् । यो यस्तो लडाइँ हो, जहाँ पार्टी र नेताको भविष्य मात्र होइन अन्नतः यादव र भट्टराईको राजनीतिक जीवन पनि समाप्त गर्न सक्छ । सत्ता समीकरणका कारण मात्रै विगतमा भट्टराईको नयाँ शक्ति पार्टीले जसपासँग पार्टी एकता गरेका थिए ।
यद्यपी जसपाको गठन मधेश आन्दोलनबाट भएको हो तर नेताहरूबीचको शक्ति संघर्षले पार्टी कमजोर, निष्प्रभावी र असफल हुँदै गइरहेको छ ।
यसको नेतृत्व र नेता सँगसँगै पार्टीमा आए । पार्टीभित्र सबैले बराबर अधिकार र सामाजिक न्याय खोजिरहेका छन् । त्यसैकारण नेतृत्वले असुरक्षित महसुस गरिरहेको छ । त्यसैले नेतृत्वको निर्णय पारदर्शी छैन । पार्टीभित्रै सामूहिक विचार, विमर्श र छलफल नहुँदा जसपा पार्टी नभई प्राइभेट कम्पनीको रूपमा पुगेको छ । नेपाली राजनीतिमा मधेशी दलको विभाजनको इतिहास लामो छ ।
व्यक्तिवादी सोचले नेताहरू ग्रसित छन् । त्यसले ती दलहरू टुक्रा—टुक्रामा विभाजित हुँदै आए पनि नेताहरूको चेत खुलेको छैन ।
गत वर्ष सत्ताको स्वाद चाख्न जसपाभित्रको एक घटक महन्थ ठाकुर पक्ष तत्कालीन केपी ओली सरकारमा सहभागी भएको थियो । यो प्रकरण पनि जसपा विभाजनको पर्याय हो ।
ठाकुर पक्षले जसपाबाट फुटेर २०७८ भदौ ९ गते लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) गठन गरे । ठाकुरले पार्टी फुटाएर नयाँ दल दर्ता गरे पनि जसपामा यादव र भट्टराई एउटै पार्टीमा रही रहे ।
२०७६ वैशाख २३ गते यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई संयोजक गरेको नयाँ शक्ति पार्टीबिच एकीकरण भएको थियो । दुवै दलबीच एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको थियो । संघीय परिषद्को अध्यक्षमा भट्टराई थिए भने पार्टीको नेतृत्वमा यादव ।
भट्टराई पक्ष पनि अलग भएपछि पार्टीमा यादव पक्ष मात्रै रहनेछ । पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएकाले नै जसपा मात्र नभई अन्य मधेशी दलहरू टुटफुटको बाटोबाट गुज्रिरहेको छ । मूलतः अहिले जसपाको विभाजन सिद्धान्त र एजेन्डाविहीन छ । स्वार्थका लागि यादव । भट्टराई एक आपसमा लडिरहेका छन् ।
तपाईको प्रतिक्रिया