प्रदेश र प्रतिनिधिसभाको चुनाव मिति घोषणा भएलगत्तै चुनावी माहोल तातिएको छ । पाँच वर्षमा हुने आमनिर्वाचनलाई एक प्रकारको महापर्वको रुपमा लिइदै आएको छ । सबै राजनीतिक दलहरु चुनावी तयारीमा होमिसकेका छन् भने गठबन्धन तथा सहकार्यका लागि प्रयासरत् छन् । ठूला दलहरु आआफ्नै दाउमा लागेका छन् भने मधेशकेन्द्रित दलहरु अहिले पनि प्रष्ट देखिएका छन् ।
अहिले देश तालमेल र गठबन्धनको राजनीतिक चक्करमा रुमलिएको छ । मधेशका राजनीतिक नेतृत्वको भूमिका र दृष्टिकोणले मधेशको दिशा निर्देशित गर्दछ । हरेक राजनीतिक दलले चुनावताका नागरिक सामु मिठो कुरा गर्ने र निर्वाचित भइसकेपछि आफूले गरेका सबै वाचा एवम् प्रतिबद्धता बिर्सने प्रवृत्ति छ । यो अवस्था मधेशी दल र नेतामा पनि छ ।
घोषणा–पत्रमा विकास, समृद्धि, सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, नागरिकप्रतिको जिम्मेवारी आदि जस्ता विषय प्राथमिकताका साथ उठेका थिए । तर जब राजनीतिक नेतृत्व सत्ता र शक्तिको सामीप्यमा पुग्दछन्, त्यसपछि उनीहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक वा व्यक्तिगत स्वार्थले प्रश्रय पाउँछ र ती प्राथमिकता व्यवहारमा देखिँदैनन् । तीतो यथार्थलाई राजनीतिक नेतृत्वले स्वीकार गर्नै पर्दछ ।
राजनीतिक नेतृत्वमा देखापर्ने यस्ता स्वार्थले आम जनतासम्म पुग्ने गन्तव्यको यात्रामा अवरोध ल्याउँछ । यही क्रम बारम्बार दोहोरिरहँदा आम मानिसमा नेतृत्व वर्गप्रतिको विश्वासमा संकट उत्पन्न भई वितृष्णा एवं नैराश्यको अवस्था सिर्जना हुन्छ । यो प्रवृति मधेशी दल र तिनका नेतामा पनि पाइन्छ । अरू दलले जे जस्तो गरे पनि मधेशमा मधेशी दलप्रति मधेशी जनताको फरक धारणा छ तर पनि उनीहरू जनताको सामिप्यभन्दा सत्ता र शक्तिको सामिप्यता रूचाएका छन् ।
मधेशका राजनीतिक नेतृत्वले बेलैमा सजग, सचेत र गम्भीर भइ मधेशी जनताको चाहनालाई पूरा गर्नुपर्छ । संविधान संशोधनको नाम जपेर केन्द्रीय सत्तामा पटक–पटक पुगेका मधेशी दलहरु अहिलेसम्म संशोधनको लागि सिन्को भाँचेको छैन । यसले केन्द्रीय सरकारलाई कुनै प्रकारको दबाब पनि दिएको छैन । यसले के देखाउँछ भने मधेशी दल सत्ताका लागि आफ्नो एजेन्डा, मुद्दा र राजनीतिक आदर्श परित्याग गर्न सक्छन् ।
मधेशका राजनीतिक नेतृत्वको यहीं संकीर्ण सोचले मधेशको विकास एवं समृद्धिको आशा र विश्वासलाई निराशामा परिणत गरेको छ । यहाँका कथित राष्ट्रिय पार्टी भनाउँदा नेपाली काँग्रेस, एमाले, माओवादीहरूले मधेशको समस्या मधेशीहरूकै समस्या हो, हाम्रो होइन भनेर उनीहरू पनि क्षेत्रीय संकीर्णतामा फँसे । जसले गर्दा मधेश आन्दोलनले क्षति धेरै व्यहो¥यो र त्यसको तुलनामा उपलब्धि हासिल गर्न सकेन । अहिले मधेशी नेतृत्वप्रति एक प्रकारको नैराश्यताको बादल मडारिरहेको छ । चुनावी माहोल तातिरहँदा दलहरुको अवस्था चिन्ताजनक देखिएको छ ।
मधेशका शक्तिहरु एकढिक्का हुन नसक्नु, विगतमा गरेका प्रतिबद्धताहरु, युवा नेतृत्वलाई उचित स्थान लगायतका कुराहरु प्रमुख हो । विगत पाँच वर्षदेखि मधेशका मुख्य दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कुनै न कुनै रुपमा सत्ताको स्वाद चाखेकै हुन् । तसर्थ पनि मधेश ती दलहरुले गरेको कार्यबाट मधेशमा उत्साहजनक अवस्था छैन । आठ वटा जिल्लाको मधेश प्रदेश सरकारले केही सराहनीय कार्य गरेपनि विभिन्न अनियमितता र भ्रष्टाचारजन्य कार्यले मधेशमा मधेशी दल कमजोर देखिएका छन् । तसर्थ, विगतका कमी कमजोरी सच्याउने प्रतिबद्धतासहित आगामी चुनावको तयारीमा जुट्नुपर्ने अहिलेको आवश्यक हो ।
तपाईको प्रतिक्रिया