मधेशको पहिचान र समान हकको आवाज अहिले पनि पूर्णरुपमा प्राप्त भएको छैन । मधेशको नाममा गठन भएका दलहरु अहिले आफूलाई राष्ट्रिय दलको रुपमा अगाडि बढाउँदै गएको छ । मधेशकेन्द्रित दलहरुले आफ्नो दलको नामबाट मधेश शब्दसमेत हटाइसकेका छन् । मधेशी दलका नेताहरु आफूलाई मधेशवादी नेता भन्न रुचाउँदैनन् । यसले प्रष्ट संकेत गरेको छ कि अब नेपालमा मधेशी दल असान्दर्भिक भइरहेका छन् । कम्युनिष्ट राजनीतिक पृष्ठभूमिबाट वि.सं. २०६४ ताका मधेशी दल राजनीतिमा आएका एक नेताले सार्वजनिक रुपमै भने कि अब मधेशी दलहरु असान्दर्भिक भइसके ।
आगामी दिनमा मधेशी दलहरु समाप्त हुने दाबी गरे । राज्यको आन्तरिक औपनिवेशिक शोषण, दमन र राज्यविहीनताको घेराभित्र गुलाम सरहको भेदभाव र उत्पीडन भोगेको इतिहास छ । सामन्ती युगको बर्बर शासनमा मधेशले भोगेको पीडाभन्दा लोकतान्त्रिक सभ्य शासनमा पाएको पीडा किञ्चित फरक नदेखिएकोले मधेश पुनश्च बर्बर युगतिर धकेलिएको मधेशवादी चिन्तन बोकेका नेता तथा कार्यकर्ताहरु बताउँछन् ।
मधेशको मागप्रति शासकवर्गले प्रतिबद्धता देखाएपनि एक दशकको राजनीतिक षडयन्त्रको घेरामा पारि मधेशलाई सीमान्तीकृत बनाउनु ठूलो दुर्भाग्य हो । राज्यविहीताको अवस्थामा राज्यका विभिन्न अंग र तहमा मधेशीको उपस्थिति चाकडी र चापलुसीको प्रतिफल थियो । राज्यको सुविधा पाउन यही एकमात्र बाटो खुला रहेकोले मधेशले यसको भरपूर उपयोग गरे । फलतः मधेशमा चाकडी र चापलुसीको संस्कार द्रूत गतिले विकास भयो ।
यही कारण मधेशको अधिकार आन्दोलन पछाडि परेको थियो । विस्तारै मधेशी समाजमा आइरहेको राजनीतक चेतनाले उसको अज्ञानताको अन्धकारलाई चिर्दै आफ्नो अधिकार सुनिश्चित गर्न प्रेरित गर्दै गयो र भीषण आन्दोलनको रूप लियो । भावनात्मक रूपमा शक्ति संचय भई आन्दोलनको रूप त ग्रहण ग¥यो तर यसले साँगठनिक बलियो आधार तयार गर्न सकेन । राज्यको षडयन्त्र, मधेशको नेतृत्ववर्गको अकर्मण्यताका कारण मधेशले पाएको असफलताले उसलाई चाकडी, चापलुसीको पुरानै संस्कारतिर फर्कायो । मधेशको अधिकार आन्दोलनको औचित्यलाई नै समाप्त पार्ने दीर्घकालीन रणनीति देखिएको छ ।
मधेशमा गैरमधेशी पार्टीको प्रभाव बढ्दै जानुको अर्थ यिनीहरूले मधेश आन्दोलनको औचित्य समाप्त भइरहेको ठानेका छन् । मधेशका दलहरू पनि राज्यसंग भित्री साँठगाँठ गरि स्वार्थसिद्धिमा लागेपछि मधेश मुद्दाप्रतिको उदासीनताबाट यिनी हौसिएका छन् । मधेशको वकालत गर्ने पार्टीहरूबीच भिडन्तको अवस्था सृजना गरिदिएको छ । मधेशको अधिकारको आवाजलाई औचित्यहीन सावित गर्न अनेक प्रयत्न गरिएको छ ।
मधेशलाई असफल पार्दै पुनश्च चाकडी, चापलुसीको बाटो आत्मसमर्पण गराउने राज्यको अन्तर्निहित धारणालाई पारस्परिक झगडा गर्ने मधेशका दलहरू बुझ्न सकेको छैन वा बुझ पचाएका छन् । यो र त्यो जे कारणले होस् मधेश राजनीतिक अन्योलतातर्फ उन्मुख छ । मधेश विद्रोह पश्चात् मधेश राजनीतिक रूपले संगठित हुने प्रयास त ग¥यो तर सशक्त आधार खडा गर्न सकेन । यसमा मूल दोष पार्टीका अध्यक्षहरूको हो ।
मधेशको अधिकार दिलाउनका लागि संघर्षरत पार्टी नभएर पैसा कमाउने समूहको रूपमा अनेक जातीगत समूहहरू बन्दा मधेशको बन्न लागेको राजनीतिक संगठनलाई ठूलो आघात पुग्यो । फलतः मधेशलाई अधिकार दिलाउन संघर्ष गर्ने पार्टीभन्दा पैसा कमाउनका लागि संघर्ष गर्ने पार्टीको विकास भयो । राज्यले यही पनि चाहेको थियो । राज्यले चाहे अनुसार मधेशका पार्टीहरूले स्वरूप ग्रहण गर्दै बदनाम भए । सही दिशा निर्देशनको अभावमा राजनीतिक अराजकता त्यसै पनि फैलिएको छ । तसर्थ मधेशमा नयाँ राजनीतिक शक्तिको उदय हुन थालेको छ ।
तपाईको प्रतिक्रिया